चार कान्तिपुरकर्मीसहित १९ जना पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — चार कान्तिपुरकर्मीसहित १० पत्रकार, प्रशिक्षक, खेलाडी पुरस्कृत भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार एक समारोह आयोजना गरेर राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गरेको हो । पुरस्कृत पत्रकार, खेलाडीलगायतलाई  युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रमाणपत्र र नगद प्रदान गरे । 

रेडियो कान्तिपुरका मकवानपुर संवाददाता सुवास विडारी वाग्मती प्रदेशतर्फ 'पत्रकारिता प्रोत्साहन पुरस्कार'बाट पुरस्कृत भएका छन् । पत्रकारिता प्रोत्साहन पुरस्कार समावेशीतर्फ कान्तिपुर दैनिकका कास्की संवाददाता दिपक परियार, दैलेख संवाददाता ज्योति कटुवाल पुरस्कृत भए । यस्तै कान्तिपुर टेलिभिजनका मोरङ संवाददाता अर्जुनकुमार सुवेदी कोशी प्रदेशतर्फ पुरस्कृत भएका छन् ।

प्रदेशगत पत्रकारिता प्रोत्साहन पुरस्कार पाउनेमा मधेस प्रदेशबाट संजीवकुमार शाह (महोत्तरी), गण्डकी प्रदेशतर्फ धनबहादुर गुरुङ (स्याङ्जा), लुम्बिनी प्रदेशतर्फ विजय नेपाल (पाल्पा), कर्णाली प्रदेशतर्फ ललितबहादुर बुढा (सुर्खेत), सुदूरपश्चिम प्रदेशतर्फ पूर्णबहादुर खड्का (अछाम) छन् । सिन्धुपाल्चोकका पत्रकार सिताराम कोइरालाले खेलकुद पत्रकारिता पुरस्कार पाएका छन् ।

यस्तै पुरस्कृत हुने खेलाडीहरुमा उसुतर्फ विश्व बुढामगर (रुकुम पुर्व) र मिना ग्लान (नुवाकोट) छन् । तेक्वान्दोतर्फ गिता विष्ट (कैलाली), निरज देउवा (डडेलधुरा), प्रेमकुमार दर्नाल (सर्लाही) तथा बास्केटबलतर्फ रामबहादुर तामाङ (सिन्धुपाल्चोक) छन् ।

खेलकुद मन्त्रालयले करातेका तारा श्रेष्ठ गुरुङ (धनकुटा), दिपेन्द्र ढकाल (काभ्रेपलान्चोक) र खेल चिकित्सक प्रा. डा. नवीसमानसिंह प्रधान (ललितपुर) लाई पनि पुरस्कार दिएको छ ।

पुरस्कार तथा सम्मान हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, मन्त्रालयका सहसचिव इमनारायण श्रेष्ठ, कुमारप्रसाद दाहाल, छनोट समितिका पदाधिकारी, खेलकुद प्रतिभा तथा खेल पत्रकारहरु र मन्त्रालयका कर्मचारीलगायत सहभागी थिए ।

प्रकाशित : जेष्ठ १२, २०८० १७:०७
प्रतिक्रिया
पठाउनुहोस्

महिला भलिबलमा भारत फाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले उज्वेकिस्तानलाई पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा भारतले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा पुगेको हो । भारतले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२०, तेस्रो तथा अन्तिम सेट २५–१५ मा आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गर्‍यो । अब भारतले फाइनल खेलमा नेपाल र काजकिस्तानबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल यही जेठ १४ गते हुनेछ ।

नेपाल र काजकिस्तानबीचको दोस्रो सेमिफाइलन खेल भइरहेको छ । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा विभिन्न आठ राष्ट्रले सहभागिता जनाएका छन् ।


प्रकाशित : जेष्ठ १२, २०८० १७:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×