सत्ता पक्षले प्रश्न गर्नै नपाउने भन्ने कहीं लेखिएको छैन : राणा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले सत्ता पक्षले भ्रष्टाचारका सवालमा प्रश्न उठाउनै नपाउने भनेर नियमावलीमा कहीं पनि नलेखिएको बताएका छन् । उनले एउटा सांसदले सदनमा उठाएको सार्वजनिक महत्वको विषय कुनै छानबिन नगरी रेकर्डबाट हटाउन नमिल्ने बताए ।

प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपति मन्दिरमा जलहरी लगाउने बेला तत्कालीन सरकारले भ्रष्टाचार गरेको भन्ने वक्तव्य दिएको विषयमा नेकपा एमालेले संसद् अवरोध गरेपछि बैठक स्थगित छ । एमालेले त्यसबारे सरकारले जवाफ दिनुपर्ने र दाहालले बोलेको सो अडियो रेकर्डबाट हटाउनुपर्ने माग गर्दै संसद् अवरुद्ध पारेको छ ।

सत्तारुढ दल कांग्रेसका सांसद राणाले भने एउटा सांसदले सदनसम्म विषय प्रवेश गराएपछि त्यसबारे संसदीय छानबिन समिति बनाएर छानबिन गरेर विषयलाई टुंगोमा पुर्‍याउनुपर्ने बताए । ‘सत्तापक्षले प्रश्न गर्नै नपाउने भन्ने संसद्को नियमावलीमा कतै पनि छैन । प्रतिपक्षले सरकारमा भएको दललाई गाली गर्ने, सरकारमा भएको दलले चाहिँ चुप लागेर बसिरहनुपर्ने भन्ने हुँदैन,’ उनले भने, ‘म केपी शर्मा ओली, एमालेको अध्यक्षले भनेपछि कालो पनि सेतो बन्छ भन्ने खालको उहाँहरूको सोच छ । एउटा सांसदले सदनमा उठाएको विषयलाई त्यति हलुका रुपमा लिन मिल्दैन । त्यसबारे छानबिन हुनुपर्छ ।’

उनले संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने र जलहरी लगाउने योजनाका विषयमा दूधको दूध, पानीको पानी छर्लंग हुने बताए ।

प्रकाशित : जेष्ठ १२, २०८० १६:२३
प्रतिक्रिया
पठाउनुहोस्

साताको सेयर समीक्षा : होटलमा उच्च वृद्धि, कुन उपसमूह कति बढे ?

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर बजारको परिसूचक नेप्से गत साता बन्द हुँदा १८७७ अंकमा थियो । यो साता करिब ८२ अंक बढेर १९५९ अंकमा बन्द भएको छ । कारोबार भएका चारै दिन नेप्से परिसूचक हरियो रहृयो । पहिलो दिन आइतबार ५.८, सोमबार ८.१, मंगलबार ५१.३ र बुधबार १६.४ अंक बढ्यो । कारोबार रकम पनि यो साता बढ्यो ।

मंगलबार एकै दिन २ अर्ब २० करोड रुपैयाँसम्मको कारोबार भयो । शिवम् सिमेन्ट, नेपाल टेलिकम, एनआईसी एसिया बैंक, हिमालयन डिस्टिलरी, राष्ट्रिय बिमा कम्पनी यो साता कारोबारका आधारमा शीर्ष स्थानमा रहे । सेयर बजारको परिसूचक नेप्से साताभर ४.३६ प्रतिशत मात्रै बढ्दा धेरैजसो उपसमूह त्योभन्दा धेरै बढे ।

होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै १२.७ प्रतिशत बढ्यो । यस उपसमूहमा पर्ने सबै कम्पनीको मूल्यमा उच्च वृद्धि हुँदा यो उपसमूह सातामा सर्वाधिक बढ्यो । होटलपछि धेरै बढ्ने उपसमूहमा उत्पादन तथा प्रशोधन रहृयो । यो उपसमूह १०.९८ प्रतिशत बढ्यो । बैंकिङ उपसमूहको वृद्धिदर भने सबैभन्दा सुस्त देखिएको छ । सो उपसमूह साताभर जम्मा १.९ प्रतिशत मात्रै बढ्यो । बजारको पुँजीकरण २८ खर्ब ५८ अर्बमा कायम भएको छ ।

जेठ १ गते (गत साताको सोमबार) नेप्से १८१८ अंकमा बन्द भएको थियो । त्यसयता कारोबार भएका सबै दिन बजार बढ्दै गएको छ । हाललाई १८१८ अंकमा टेवा पाएर बजार उक्लिएको छ । यसअघि पटक पटक यहीं आसपासमा टेवा पाउँदै आएको बजारको आगामी लय भने कसैले एकीन गर्न सक्दैन । तर सोमबार सार्वजनिक हुने बजेट भाषणले सेयर बजारका लागि लिने अनुकूल वा प्रतिकूल नीतिले आगामी साताको बजार धेरै हदसम्म प्रभावित हुन सक्नेछ ।

हाललाई ब्याजदर घट्न थालेको प्रभाव सेयर बजारमा देखिएको केहीको विश्लेषण छ । जेठ महिनामा मात्रै ०.२२ प्रतिशत विन्दुले औसत कर्जाको ब्याजदर घटेको नेपाल बैंकर्स संघको तथ्यांक छ । आगामी दिनमा पनि ब्याजदर घट्दै जाने देखिन्छ । हरेक महिना कर्जाको ब्याजदर पछिल्लो तीन महिनाको औसत आधार दरका आधारमा परिवर्तन गर्दै जानुपर्ने राष्ट्र बैंकको निर्देशनपछि असारमा पनि ब्याजदर केही घट्न जानेछ । ४.२ प्रतिशतबाट स्प्रेड दर असार मसान्तसम्म ४ प्रतिशतमुनि झार्नुपर्ने व्यवस्थाले साउनमा ब्याजदर झन् बढी घट्ने अनुमान गरिएको छ । यसले गर्दा बजारलाई केही हदसम्म सकारात्मक वातावरण बनेको छ ।

यो साता कुन उपसमूह कति बढे ?

उपसमूह

गत साताको अंक

यो साताको अंक

वृद्धिदर प्रतिशत

बैंकिङ

१२२२

१२४६

१.९६

विकास बैंक

३५०७

३५९३

२.४५

जलविद्युत्

२३६३

२४२८

२.७५

निर्जीवन बीमा

८७६२

९५५८

९.०८

जीवन बीमा

९४९१

१०१०२

६.४३

माइक्रोफाइनान्स

३३६१

३६१२

७.४६

व्यापार

२०८६

२२३०

६.९०

होटल, पर्यटन

३५५७

४००९

१२.७०

अन्य

१३४३

१४०१

४.३१

उत्पादन

४४३४

४९२१

१०.९८



प्रकाशित : जेष्ठ १२, २०८० १६:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×