जनप्रतिनिधिलाई एमाले अध्यक्ष ओलीको निर्देशन- ‘समय खेर नफाल्नुहोला’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहका जनप्रतिनिधिहरूलाई स्थानीय सरकारमा रहँदा आफ्नो जिम्मेवारीको समय खेर नफाल्न निर्देशन दिएका छन् । उनले हरेक समय आफूले आफूलाई प्रश्न गर्न र आफ्नो सबै समयको उपयोगिता र महत्वलाई बुझ्न आग्रह गरे ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा शुक्रबार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षित गर्न आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘तपाईंहरू जिम्मेवारीमा हुनुहुन्छ । तपाईंहरू जवाफदेही र उत्तरदायी हुनुपर्छ । त्यसैले तपाईंहरूले समय खेर नफाल्नुहोला । आफूले आफूलाई हरेक समय सोधिरहनुहोला कि तपाईं यो बेला जहाँ हुनुहुन्छ, त्यहाँभन्दा अन्तै हुनु पो महत्वपूर्ण थियो कि ?’

अध्यक्ष ओलीले जनप्रतिनिधिको एक वर्ष बितिसकेको भन्दै अब साढे तीन वर्ष बित्न पनि धेरै समय नलाग्ने बताए । ‘हामीसँग धेरै समय छैन । परिस्थिति फेरिएको छ । त्यसैले बेलैदेखि हामीले उपलब्धिहरू, कामहरू देखिने गरी जनताको अघिल्तिर प्रस्तुत भएर जानुपर्छ,’ उनले भने ।

उनले उद्देश्यमा स्पष्ट योजना बनाएर बजेट निर्माण र योजनाअनुरुप काम गर्न जनप्रतिनिधिहरूलाई निर्देशन दिए । अध्यक्ष ओलीले जनप्रतिनिधिले नागरिकप्रति उत्तरदायी र जवाफदेही भएर प्रस्तुत हुनुपर्ने बताए ।

‘जनप्रतिनिधिले कार्यसम्पादन कसरी गर्ने, हाम्रो बोली चाली व्यवहार कस्तो हुनुपर्छ भन्ने कुराले हामीप्रति जनताले हेर्ने दृष्टिकोण बन्छ,’ ओलीले अघि भने, ‘हामीले नागरिकसँग, हामीसँग जोडिन आएका नयाँ मान्छेहरूसँग अनैतिक तरिकाले प्रस्तुत हुन मिल्दैन । त्यही बेलाको बोली र व्यवहारबाट हामीलाई नागरिकले हेर्ने दृष्टिकोण तय हुन्छ । तपाईंहरूले ख्याल गर्नुहोला ।’

प्रकाशित : जेष्ठ १२, २०८० १५:५४
प्रतिक्रिया
पठाउनुहोस्

भत्ता नपाउँदा मुगुका ज्येष्ठ नागरिक चिन्तित

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकामा ज्येष्ठ नागरिकहरुको भत्ता निकासा नहुँदा प्रभावित ज्येष्ठ नागरिकहरू चिन्तित भएका छन् । जेठ महिनासम्म तेश्रो र चौथो चौमासिक भत्ता निकासा नहुँदा वडा नं १ देखि ११ सम्मका ६ सय १३ जना ज्येष्ठ नागरिकहरू प्रभावित भएका हुन् ।

पालिकाभरका एकल महिला १३ जनाले पनि तेश्रो र चौथो चौमासिक भत्ता पाएका छैनन् । पालिकाले चौमासिक भत्ता नदिँदा औषधि उपचार, पोसिलो खाने कुरा र कपाडा किन्न मुस्किल भएको स्थानीयहरू बताउँछन् ।

एकल महिलाको भत्ता लिँदै आएकी अजा शाहीले भत्ता नपाउँदा नियमित किनमेलमा पनि कठिन भएको बताइन् । त्यसैगरी पालिकाभित्रका क वर्गका ५६ जना, ख वर्गका १ सय ५४ जनासहित २ हजार ४७ जना बालबालिकाहरुले पनि तेश्रो र चौथो भत्ता नपाउँदा अभिभावक चिन्तित छन् ।

सरकारले सहुलियत वापत उपलब्ध गराएको ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता र ५ वर्ष मुनिका बालबालिका भत्ता समयमै नपाउँदा औषधि उपचार पोसिलो खाने कुरा र कपाडा किनमेल गर्न कठिनाइ भएको छ ।

पछिल्लो समय भत्ताको बारेमा सोधपुछ गर्न गाउँपालिकाको कार्यालयमा आउने क्रम बढेको छ । तर रित्तै फर्कनु परेको प्रभावित ज्येष्ठ नागरिकहरू बताउँछन् ।

प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्र मल्लले भने एक साताभित्रै ज्येष्ठ नागरिकसहित एकल महिला, बालबालिकाको तेश्रो र चौमासिक भत्ता निकासा हुने बताएका छन् ।

तेश्रो चौमासिक भत्ता निकासा भएपछि जेठ अन्तिममा चौथो भत्ता निकासा गरिने उनको भनाइ छ । एक वर्षमा चार पटक चौमासिक रुपमा ज्येष्ठ नागरिकहरुको भत्ता निकासा गर्नुपर्ने नियम भए पनि जनप्रतिनिधि र कर्मचारीको लापर्बाहीले गर्दा ढिलासुस्ती हुने गरेको छ ।

प्रकाशित : जेष्ठ १२, २०८० १५:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×