कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

पशुपतिमा जलहरी बनाउने विषयमा महालेखाले उठाएको थियो प्रश्‍न

काठमाडौँ — सत्ता पक्षले एमाले अध्यक्ष केपी ओलीलाई निराधार भ्रष्टाचारको आरोप लगाएको भन्दै शुक्रबार एमालेले संसद् अवरुद्ध पार्‍यो । एमालेको अवरोधपछि २० मिनेटका लागि स्थगित बैठक डेढ घन्टासम्म पनि पुन: संचालन हुन सकेको छैन । एमालेले संसद् अवरोध गर्नेसम्मको विषय बनाएको पशुपतिमा जलहरी लगाउँदा भ्रष्टाचार भएको विषय यसअघि महालेखा परीक्षकको कार्यालयले समेत प्रश्न उठाएको योजना हो ।

पशुपतिमा जलहरी बनाउने विषयमा महालेखाले उठाएको थियो प्रश्‍न

पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने योजनामा महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनले नै प्रश्न उठाएको थियो । महालेखाले पशुपतिनाथमा जलहरी लगाउने बेला सुनको यकिन विवरण नआएको प्रष्टसँग लेखेको थियो ।

प्रतिवेदनअनुसार ओली प्रधानमन्त्री भएकै बेला सरकारले पशुपति मन्दिरको शिवलिङ्गको गर्भगृहलाई पूर्ण रुपले ढाक्ने गरेर १०३ किलो ७७३ ग्राम सुन खरिद गर्न ८० करोड ११ हजार खर्च गरेको थियो ।

'विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिङ्क १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ । निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ्ग बनाई जलहरीमा लगाएको उल्लेख छ । रिङ्ग बनाउन प्रयोग भएको सुनको मूल्य रू. ७ करोड ८६ लाख ४६ हजार रहेको छ,' महालेखाले प्रतिवेदनमा लेखेको छ, 'जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन ।'

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बुधबारको प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री ओली सरकारमा बस्दा धेरै वटा भ्रष्टाचारका काण्डहरु आएको र पशुपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउने बेला पित्तल लगाएको भन्दै आरोप लगाएका थिए । त्यसदिन भने एमालेले कुनै प्रतिक्रिया दिएको थिएन ।

शुक्रबार एमालेले त्यही विषयलाई उठाएर संसद् अवरुद्ध पारेको छ ।

प्रकाशित : जेष्ठ १२, २०८० १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?