सत्तापक्षले पशुपतिनाथको जलहरीमा पित्तल लगाइयो भनेर बिनाआधार आरोप लगायो : एमाले

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक पदम गिरीले आफूहरूलाई लगाइएको आरोपबारे सरकारबाट जवाफ नआएसम्म प्रतिनिधिसभा बैठक सञ्चालन गर्न नदिने बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकको सुरूवातमै प्रमुख सचेतक गिरीले सत्ता पक्षका सांसदले बिनाप्रमाण संसद्बाटै प्रमुख प्रतिपक्षी दलको नेतालाई इङ्गित गरेर भ्रष्टाचारको आरोप लगाएको भन्दै त्यसबारे सरकारले जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने बताएका थिए ।
‘भ्रष्टाचारी जुनसुकै रूप र रंगका हुन्, जुनसुकै क्षेत्रका हुन्, सबै खालका भ्रष्टाचारीको मनोबल गिराउनुपर्ने अवस्था आएको छ । देशलाई भ्रष्टाचारमुक्त बनाएर अगाडि बढ्न नसक्ने हो भने हाम्रो समृद्धिको सपना पूरा हुनेवाला छैन । हामी विगतका भ्रष्टाचारका अनेक फाइलहरू खोजौँ, एक-एक भ्रष्टाचारमा संलग्नलाई कारबाहीको दायरामा ल्याऔँ भनिरहेका छौँ,’ सांसद गिरीले भने, ‘तर पछिल्लो पटक त्यस्तो भइरहेको छैन । यहाँ त बिनाआधार, बिनाप्रमाण प्रमुख प्रतिपक्षी दलका नेतालाई इङ्गित गरेर भ्रष्टाचारको आरोप लगाइन्छ । सत्ता पक्षका सांसदले पशुपतिमा जलहरी लगाउने विषयमा सुनको बदला पित्तलको प्रयोग भयो भनेर बिनाआधार गम्भीर भ्रष्टाचारको आरोप लगाउनुभएको छ । हामी सरकारले यसको जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न दिदैनौँ ।’
उनले पशुपतिमा लगाइएको जलहरीमा सुनको सट्टा पित्तलको प्रयोग भएको वा नभएको भन्ने विषयमा सरकारले पहिले प्रस्ट पार्नुपर्ने माग गरे । ‘यसको सत्यतथ्य कुरा के हो ? यो के आधारमा आएको छ ? के तथ्यमा आएको छ ? सत्ता पक्षले प्रतिपक्षलाई यसरी सदनबाट भ्रष्टाचारको आरोप लगाउन मिल्दैन, त्यसको वास्तविकता पत्ता लगाएर सदनलाई जवाफ दिनुपर्छ । प्रतिपक्षीमाथि एकपछि अर्को गर्दै नियोजित ढंगले जान खोजिएको छ, यो स्वीकार्य छैन,’ उनले भने ।
माओवादी सांसद लेखनाथ दाहालले जेठ १० गते प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा रहँदा यती, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीमा अनियमितता भएको र पशुपतिमा जलहरी लगाउने क्रममा सुनको साटो पित्तल प्रयोग भएको दाबी गरेका थिए ।
प्रकाशित : जेष्ठ १२, २०८० १३:००