नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुख घिमिरेको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपालीभाषी नागरिकहरुलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने काममा लाग्न आग्रह गरेका छन् । 

इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारहरुलाई बिहीबार सम्बोधन गर्दै सभामुख घिमिरेले उक्त आह्वान गरेका हुन् । विश्वका प्रतिभाहरुलाई जम्मा गरेर गायन र नृत्य प्रतियोगिता आयोजना गरेकामा उनले फाउन्डेशनको प्रशंसा पनि गरे ।

विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये अन्तिमतर्फको छनोटमा परेका गायनका ५० र नृत्यका ५० प्रतियोगीले आफ्नो प्रस्तुतिमार्फत आगामी यात्रा तय गरिरहेका छन् । नेपालीमूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीहरुबीच सांस्कृतिक एकता कायम गर्न गायन र नृत्यका यी दुई प्रतियोगिता आयोजना गरेको हो ।

‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ कार्यक्रम नेपाल टेलिभिजनबाट पनि प्रसारण भइरहेको छ । नेपाल टेलिभिजनमा बुधबार र बिहीबार ‘मेरो भ्वाइस युनिभर्स’ बेलुकी ८:५० बजेदेखि र ‘मेरो डान्स युनिभर्स’ एनटिभी प्लसमा शुक्रबार र शनिबार बेलुकी ८ बजे प्रसारण भइरहेको छ ।

गायन र नृत्य गरी दुवैतर्फ प्रतियोगितामा छानिएका प्रथम हुनेले जनही एक करोड, दोस्रो हुनेले ३० लाख र तृतीय हुनेले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, समूह नृत्यतर्फ पनि प्रथम हुनेलाई २० लाख रुपैयाँ पुरस्कार रहेको छ ।

संसारभरबाट आएका नेपालीभाषी प्रतिभाहरुबीच दुई महिनादेखि काठमाडौँमा भएका विभिन्न साइट्लेस अडिसनबाट यी प्रतिभा छानिएका हुन् ।

प्रकाशित : जेष्ठ ११, २०८० २२:२७
प्रतिक्रिया
पठाउनुहोस्

हावाहुरीले घर ढल्दा सर्लाहीमा एक महिलाको मृत्यु

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको ब्रह्मपुरीमा बिहीबार हावाहुरीले घर ढाल्दा एक महिलाको ज्यान गएको छ । ब्रह्म्पुरी गाउँपालिका-२  का ६५ वर्षीया सवितादेवी साहको घर ढल्दा चेपिएर ज्यान गएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ आएको हावाहुरीले उनको कच्ची घर ढलेको थियो । हावाहुरीमा ओत लागेर बसेकी साह घर ढल्दा चेपिएर सख्त घाइते भएकी थिइन् ।

साहलाई उपचारका लागि प्रादेशिक अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरका अन्य सदस्य भने सकुशल छन् ।

प्रकाशित : जेष्ठ ११, २०८० २२:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×