कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोसी नामकरणको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्न कांग्रेसको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले प्रदेशको नाम 'कोसी' राखिएको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्न माग गरेको छ । कांग्रेसका कोसी प्रदेश सभापति एवम् प्रदेश संसदीय दलका नेता उद्धव थापाले विज्ञप्ति जारी गर्दै कोसी प्रदेश नामकरणसँगै आन्दोलनमा रहेको पक्षलाई वार्तामा बोलाउन सरकारसँग आग्रह गरेका हुन् ।

प्रदेश सभाले पहिचानविहीन नाम पारित गरेको भन्दै लामो समयदेखि पहिचानवादी राजनीतिक दल तथा संगठन आन्दोलनमा छन् । तर उनीहरुको आन्दोलनबारे प्रदेश सरकारले कुनै चासो दिएको छैन । कांग्रेसले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएर समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।

सभापति थापाले विज्ञप्तिमार्फत आन्दोलनकारीलाई समेत धरपकड, कर्फ्यू, लाठीचार्ज, अश्रुग्यास र गोली चलाउनेलगायत कार्य बन्द गर्न र आन्दोलन शान्तिपूर्ण गर्न समेत आह्वान गरेका छन् ।

No description available.

प्रकाशित : जेष्ठ ११, २०८० १८:१६
प्रतिक्रिया
पठाउनुहोस्

मनाइयो रातो मत्स्येन्द्रनाथको भोटो जात्रा

तस्बिर : इलिट जोशी

काठमाडौँ — वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो बिहीबार देखाइएको छ । मत्स्येन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् । अवसरमा राष्ट्रपति पौडेलले रातो मत्स्येन्द्रनाको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । उनले जीवित देवी कुमारीको दर्शन पनि गरे ।

भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल , सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरु सहभागी थिए ।भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मत्स्येन्द्रनाको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।

भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मत्स्येन्द्रनाको यात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरु भएको हो । किम्वदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोकअर्थात् टौदह लगे ।

डराएका किसानले मत्स्येन्द्रनाको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।

मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मत्स्येन्द्रनाको जिम्मा लगाइयो ।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मत्स्येन्द्रनाको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ ।


प्रकाशित : जेष्ठ ११, २०८० १८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×