१७ वर्षदेखि उही वाचा : आगामी वर्ष हुम्ला सदरमुकाममा सडक

सरकारले हुम्लावासीलाई खुसी पार्न बर्सेनि बजेट र नीति तथा कार्यक्रममा सदरमुकाम सिमकोटसम्म राष्ट्रिय सडक पुर्‍याउने प्रतिबद्धता जनाउँछ, काम फिटिक्क गर्दैन 
विमल खतिवडा

काठमाडौँ — करिब दुई दशक भयो, सरकारले आफ्नो नीति तथा कार्यक्रम होस् या बजेट, बर्सेनि हुम्ला सदरमुकामलाई सडक सञ्जालबाट जोड्ने भनेर उल्लेख गर्दै आएको छ । तर नीति तथा कार्यक्रम र बजेटमा सजिलै उल्लेख गरिए जसरी यहाँ सडक सञ्जाल पुग्न सहज बनेको छैन । सुरुमा आर्थिक वर्ष ०६३/६४ को बजेटमा सरकारले हुम्लालगायत जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने भनेर उल्लेख गरेको थियो । 

१७ वर्षदेखि उही वाचा : आगामी वर्ष हुम्ला सदरमुकाममा सडक

तर अरू सबै जिल्ला सदरमुकाम सडक सञ्जालसँग जोडिए पनि हुम्लाको सिमकोट जोडिन सकेको छैन । चीनको सीमाक्षेत्र हिल्साबाट सिमकोटसम्म ९५ किमि सडकको ट्र्याक खोलिए पनि राष्ट्रिय सडक भने पुग्न नसकेको हो । हुम्लासँगै सडक पुर्‍याउने भन्दै बजेटमा नाम राखिएका मुगु र डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिइसके । अब हुम्ला कहिले राष्ट्रिय सडक सञ्जालमा जोडिएला ? सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी भन्छन्, ‘०६३/६४ सालदेखि सरकारले बजेट र नीति तथा कार्यक्रममा हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ भन्दै आएको छ । तर हुम्लावासीका लागि त्यो समय कहिल्यै आएन ।’

चालु आर्थिक वर्ष ०७९/८० मा पनि हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने भन्दै कर्णाली करिडोरअन्तर्गत बजेट विनियोजन गरिएको थियो । तर यस आर्थिक वर्षमा पनि हुम्ला सडक सञ्जालमा नजोडिने भएको छ । सडक विभागले काम गर्न नसकेपछि अप्ठ्यारो भीर निर्माणको जिम्मा सेनाले पाएको छ । ०७९/८० को नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षमै सिमकोटमा सडक पुर्‍याउने उल्लेख गरिएको थियो ।

०८०/८१ को नीति तथा कार्यक्रममा पनि आगामी आर्थिक वर्षमा हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने दाबी गरिएको छ । पहिला स्थानीय ठेकेदारले काम गर्दा ढिलाइ भयो । अहिले भने अप्ठ्यारो भागको जिम्मा नेपाली सेनाले लिएका कारण काम चाँडै सकिन्छ भन्ने आस रहेको उनले सुनाए । ‘अर्को वर्ष त हुम्ला सडक सञ्जालमा जोडिन्छ भन्ने नै छ,’ उनले भने, ‘अब फेरि सरकारले ढाँट्ने काम नगरोस् ।’ सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा नजोडिँदाको पीडा हुम्लावासीले दैनिक उपभोग्य वस्तुमा खेप्नुपरेको छ, जहाँ महँगीले आकाश छोएको छ । अहिलेसम्म हुम्लाका दुई गाउँपालिका ताँजाकोट र अदानचुलीलाई राष्ट्रिय सडकले छोएको छ । सर्केगाड गाउँपालिकाका भने केही वडा मात्र सडक पुगेको छ ।

‘अहिलेसम्म सर्केगाड गाउँपालिका–१ को सरिसल्लासम्म सडक पुगेको छ,’ अध्यक्ष भण्डारीले भने, ‘खार्पुनाथ र सर्केगाड गाउँपालिकाको बीचमा ठूला चट्टान भएकाले त्यहाँ नेपाली सेनाले काम गरिरहेको छ ।’ सेनाले एक वर्षभित्र ट्र्याक खोल्नेमा आश्वस्त पारेकाले सडक आउने आस मरिनसकेको उनले सुनाए । सिमकोटबाट ठूला सहर र राजधानी काठमाडौं जानुपरे जहाज चढ्नुको विकल्प छैन । त्यसका लागि नेपालगन्ज र सुर्खेतबाट सिमकोटसम्म जहाज पुग्छन् ।

‘नेपालगन्जबाट १३ हजार र सुर्खेतबाट साढे ११ हजार रुपैयाँ तिरेर सिमकोट पुगिन्छ,’ उनले भने, ‘चामलबाहेकका खाद्यान्न र लत्ताकपडा ल्याउनुपरे किलोकै दुई सय रुपैयाँभन्दा बढी तिर्नुपर्छ ।’

जहाज नियमित नहुँदा सदरमुकामसम्म राष्ट्रिय सडक नपुगेकाले खच्चडलाई बोकाएर खाद्यान्न लैजाने गरिन्छ । ‘दैनिक उपभोग्य वस्तु, लत्ताकपडालगायत सामग्री पनि गाडीमा सलिसल्लासम्म ल्याउने र त्यहाँबाट दुई दिन लगाएर खच्चडले बोकेर सदरमुकाम पुर्‍याउने गरिएको छ,’ भण्डारीले भने, ‘काठमाडौंबाट केरुङ, तातोपानी हुँदै हिल्साबाट पनि खाद्यान्न आउँथ्यो । कोभिडपछि भने त्यो नाका बन्द भयो ।’ उनका अनुसार गत वैशाख १८ बाट हिल्सा नाका खुले पनि पहिला जस्तो सहज भइसकेको छैन । उताबाट खाद्यान्न, मैदा, निर्माण सामग्रीलगायत ल्याउने गरिएको छ । यहाँ ठूला जहाज चल्दैनन्, साना ट्वीनअटर मात्र सञ्चालनमा छन् ।

सोलुखुम्बुको लुक्लातिर पर्यटकीय सिजन सुरु हुँदा यता पैसा भए पनि जहाज चढ्न नपाइने भण्डारीले गुनासो गरे । सीता, तारा र समिट एयरलाइन्सका सहाज पर्यटक बोक्न उतै जाने हुँदा त्यसको मार हुम्लावासीले खेप्नुपरेको उनले बताए ।

‘नेपाल एयरलाइन्सको जहाज आइतबार र सोमबार आउँछ । तर ठूलो हावा चल्दा उडान हुँदैन,’ उनले भने । सिमकोट–सलिसल्ला सडक खण्डमा आगामी आर्थिक वर्षभित्र ट्र्याक खोलिसक्ने लक्ष्य रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं प्रवक्ता भीमार्जुन अधिकारीको दाबी छ । आगामी आर्थिक वर्षसम्म राष्ट्रिय सडक सञ्जालबाट सिमकोट जोडिने गरी काम भइरहेको भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले पनि बताए ।

प्रकाशित : जेष्ठ १०, २०८० ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?