कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शुक्लाफाँटामा ‘भेटियो नयाँ प्रजातिको चरा’

भवानी भट्ट

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नेपालकै लागि नयाँ प्रजातिको चरा भेटिएको छ । युरोप र अमेरिकातिर पाइने ‘लेसर ग्रे स्राइक’ नामको चरा शुक्लाफाँटामा अभिलेख गरिएको हो । 

शुक्लाफाँटामा ‘भेटियो नयाँ प्रजातिको चरा’

वैशाख अन्तिम साता चरा अनुगमनका क्रममा निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने कालापानीआसपासको नदीतटीय क्षेत्रमा उक्त चरा भेटिएको निकुञ्ज कार्यालयले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका शुक्लाफाँटा संरक्षण कार्यक्रमका वन्यजन्तु प्राविधिक देवराज जोशीले उक्त चरा अभिलेख गरेका हुन् । चरा भेटिएको क्षेत्र समुद्र सतहबाट २१८ मिटर उचाइमा रहेको छ ।

यो चरा लिनिडी पक्षी परिवारअन्तर्गत पर्छ । नेपालीमा यस परिवारअन्तर्गतका चरालाई भद्राई नामले पनि चिनिने जोशीले बताए । नेपालमा यसअघि ६ प्रजातिका भद्राई अभिलेख गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । यसको शरीरको आकार अन्य भद्राई चराभन्दा भिन्न, निधार र तालुमा विशेष खालको कालो चिन्ह तथा कालो पखेटामा एक मात्र सेतो चिन्हका आधारमा यसको पहिचान गर्न सकिने वन्यजन्तु प्राविधिक जोशीले बताए ।

‘उक्त चरा भेटिएपछि हामीले पहिचानका लागि फोटोसहित फिल्डबाट लिइएको विवरण नेपाल पक्षीविद् संघअन्तर्गतका रेयर बर्ड रेकर्ड कमिटिमा पठायौँ,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले भने, ‘राष्ट्रिय/अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पक्षीविदहरूको रायसहित नयाँ प्रजाति भएको यकिन भइसकेको छ ।’

लेसर ग्रे स्राइक लामो दूरीसम्म विचरण गर्ने फिरन्ते चरा हो । यो साइबेरियादेखि मध्य एसिया हॅुदै अफ्रिका महादेशसम्म विचरण गर्दछ । यसअघि २०२० मा भारतको पञ्जाब प्रान्तको लुधियाना क्षेत्रमा पनि यो चरा अभिलेख गरिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज चरा अवलोकनका लागि निकै महत्त्वपूर्ण मानिन्छ । निकुञ्जभित्र रहेका नदीनालादेखि तालतलैया चराका प्रमुख बासस्थान हुन् । हिउँदमा चिसो छल्न ठूलो संख्यामा साइबेरियन चरा यहाँ आउने गरेका छन् । निकुञ्जमा पछिल्लो गणनाअनुसार ४६० प्रजातिका चरा छन् । नयाँ चरा भेटिएसँगै नेपालमा अभिलेख भएका चराका प्रजातिको संख्या ८९३ पुगेको छ ।

प्रकाशित : जेष्ठ ९, २०८० १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?