कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'नीति, नियत र क्षमतामा टेकेर यथार्थपरक, विश्वसनीय र आशा जगाउने बजेट आओस्'

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममा ल्याएका विषयमा आधारित भएर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न सुझाव दिएका छन् । मुलुकको क्षमता, नीति र कार्यान्वयन लगायतको नियतलाई राम्रोसँग बुझेर बजेट निर्माण हुनुपर्ने वाग्लेको भनाइ थियो । 

'नीति, नियत र क्षमतामा टेकेर यथार्थपरक, विश्वसनीय र आशा जगाउने बजेट आओस्'

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा वाग्लेले बजेट हेरेपछि अर्थतन्त्र कसरी अगाडि बढ्छ भन्ने प्रस्ट हुने वाग्लेले बताए । 'नीति तथा कार्यक्रममा तोकिएका लक्ष्यहरू प्राप्तिका लागि बजेट कहाँ, कसरी छुट्याइन्छ, सरकारको मनसाय त्यतिबेला प्रस्ट रूपमा देख्नेछौं,' उनले भने ।

नीति तथा कार्यक्रममाथि संसद्‌मा भएको छलफलका आधारमा पनि बजेट निर्माण गर्नुपर्ने वाग्लेको भनाइ थियो । उनले संसद्को छलफल निरर्थक होइन भन्ने सुनिश्चित गर्न बजेट हेर्नुपर्ने बताए । बजेटमा भ्रष्टाचार अन्त्य गर्नका लागि योजना ल्याउनुपर्ने पनि उनको सुझाव छ । 'दोहनकारी राज्य नीति, विकृत निर्माण व्यवसायी र राजनीतिको खराब गठजोड तोड्नका लागि सिर्जनशील भएर अगाडि जानुपर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण पूर्वाधार प्राधिकरण इत्यादिको बहस गरेर नयाँ शिराबाट जाउँ,' उनले भने, 'नीति तथा कार्यक्रम र बजेटबीच सम्बन्ध गहिरो बनाएर जाउँ ताकि हामी सबै सांसदले संसद्को छलफल कर्मकाण्ड भयो भनेको औपचारिकता नहोस् ।'

नीति तथा कार्यक्रमा ल्याइएका योजना बजेटसँग जोड्नुपर्ने वाग्लेको भनाइ थियो । पछिल्लो समय बजेटको आकार अस्वाभाविक रूपमा बढिरहेको भन्दै सांसद वाग्लेले थपे, '१० वर्षअगाडि ६१८ अर्बको बजेट ल्याएर आयौं । गत वर्ष १७९४ अर्बको बजेट बनायौं, यो अस्वाभाविक वृद्धि छ । कूल गार्हस्थ्य उत्पादनको अनुपातमा साढे २२ प्रतिशतबाट ह्वात्तै साढे ३४ प्रतिशत पुर्‍याएका छौं ।'

जेठमा अविश्वसनीय बजेट ल्याइने र माघमा चुपचाप कटौती गर्नुभन्दा यथार्थपकर बजेट ल्याउनुपर्ने सांसद वाग्लेको भनाइ थियो । 'अहिले अलिकति यथार्थपरक बजेट ल्याउन म सरकारलाई आग्रह पनि गर्छु र हामी नियमन पनि गर्छौं,' उनले भने । चालु खर्च, पुँजीगत खर्च, अनुदान लगायतका विषयमा के भइरहेका छन् भन्ने तथ्यांक व्यापक रहेको बताउँदै उनले सरकारलाई विगत हेरेर भविष्यका योजना बनाउन आग्रह गरेका थिए । निजी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा लगाउने पुँजीलाई सरकारले सोसेर अनुत्पादक प्रयोजनमा खर्च गरिराखेको पनि वाग्लेको भनाइ थियो ।

त्यस्तै, सांसद वाग्लेले नेपालको पूर्वाधारको मोडल परिवर्तन गर्नुपर्ने बताए । उनले भने, 'अब पूर्वाधारको मोडलमा हामीले पुनर्विचार गर्नुपर्ने देखियो । सन् २००८ पछि र सन् २०१५ पछि पनि अब चाहिँ हामीले ठूल्ठूला पूर्वाधार परियोजनामा जानुपर्छ भन्यौं । पूर्वतयारी, लागत, सञ्चालनको मोडालिटीमा हामीले अब नयाँ शिराबाट बहस गर्नुपर्ने हुन्छ ।'

प्रकाशित : जेष्ठ ९, २०८० १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?