काठमाडौँ — सत्तापक्षका सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई दिएको 'हेडमास्टर' संज्ञा नपुगेको एमालेका सांसद गोकुल बाँस्कोटाले बताएका छन् । बाँस्कोटाले एमाले अध्यक्ष ओली विशिष्ट प्रतिभाको धनी भएको र उनीबाट शिक्षा लिन सत्तापक्षका सांसदहरूलाई सुझाव दिएका छन् ।
प्रतिनिधिसभामा एमालेका अध्यक्ष ओलीबाट शिक्षित हुनु भएकामा सत्तापक्षका सांसदहरूलाई बाँस्कोटाले बधाईसमेत दिएका थिए । 'हेडमास्टर भन्नुभयो, हामी आक्रोशित छैनौं । नेकपा (एमाले) लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक न्यायसहितको परिवर्तन, पुनर्जागरण र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो । त्यसैले तपाईंहरूले दिएको उपाधिले पुग्दैन, केपी ओली यो विश्वविद्यालयको भीसी हो, प्रोफेसर, डाक्टर हो‚ इन्जिनियर हो, आर्किटेक्ट हो सबै हो,' उनले भने, 'तपाईंहरूले कम्तीमा सिक्न पाउनुभयो, बधाई छ ।'
बाँस्कोटाले एमाले र अध्यक्ष ओलीबाट सामाजिक विकासको मान्यता ग्रहण गरेर सुल्टो बाटो हिँड्न सुझाव दिएका थिए ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि राम्रोसँग छलफल हुन नसकेको बाँस्कोटाको भनाइ थियो । उनले नीति तथा कार्यक्रममाथि वादविवाद, बहस, संवाद हुन नसकेको र सुधारको गुन्जायस नरहेको बताए । सत्तापक्षका कारण त्यस्तो हुन नसकेको उनको भनाइ थियो ।
'सत्तापक्षले सुन्ने धीरता राख्ला भन्ने बुझाइ थियो । तर, हिजो अस्तिका कुराहरू सुनिरहँदा सत्तापक्ष आफ्नो कमजोरी लुकाउनका लागि प्रतिपक्षको तेजोवध गर्ने र तीव्र प्रतिवादमा उत्रिने उल्टो बाटोमा हिँडेको देखियो ।'
सत्तापक्षका सांसदहरूमा तथ्यको खडेरी परेको पनि सांसद बाँस्कोटाको भनाइ थियो । उनले नीति तथा कार्यक्रम सरकारको नेतृत्व गरिरहेको माओवादी र सत्ताको प्रमुख घटक कांग्रेसका नीतिको विरोधाभाषमा रुमल्लिएको बताए ।
प्रकाशित : जेष्ठ ९, २०८० १२:४१