१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सगरमाथाको २७औं आरोहणसँगै कामीरिताकै बराबरीमा पादावा

२८ औं पटकको आरोहणका लागि कामीरिता मंगलबार पुन: सगरमाथा चढ्दै
सुरज कुँवर

काठमाडौँ — सोलुखुम्बुको पाङ्बोचेका ४६ वर्षीय पासाङ दावा शेर्पाले सर्वाधिक सगरमाथा आरोहण गर्ने नेपाली आरोही कामीरिता शेर्पाकै २७औं पटकको विश्वकीर्तिमान बराबरी गरेका छन् । 

सगरमाथाको २७औं आरोहणसँगै कामीरिताकै बराबरीमा पादावा

इम्याजिन नेपाल ट्रेक एन्ड एक्सीपिडिसन प्रालिका कार्यकारी निर्देशक दावा ग्यालजेन शेर्पाका अनुसार पासाङ दावा शेर्पाले सोमबार बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन् । यो आरोहणसँगै उनी कामीरिता शेर्पाकै हाराहारीमा सबैभन्दा बढी पटक विश्वकै अग्लो चुचुरोमा आरोहण गर्ने विश्वकै दोस्रो व्यक्ति बनेका छन् ।

‘पासाङ दावा चिनियाँ आरोही लिएर सोमबार बिहान ८:२५ बजे २७औं पटक चुचुरोमा पुगेका थिए,’ कार्यकारी निर्देशक शेर्पाले भने, ‘उहाँ अहिले चौथो शिविरमा फर्किसक्नु भएको छ । पर्सी आधारशिविर ओर्लिने कार्यक्रम रहेको छ ।’

विश्वभर आरोहीमाझ पादावा उपनामले चिनिने पासाङ दावाले यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण सिजनमै दुई पटक सगरमाथा आरोहण गरेका हुन् । यसअघि पादावा वैशाख ३१ गते चुचुरोमा पुगेका थिए । त्यो उनको २६औं आरोहण थियो ।

यसैबीच आफ्नै जिल्लावासी पासाङ दावा शेर्पाको रेकर्ड बराबरीमा पुगेपछि गएको बधुबार २७औं पटक सगरमाथा आरोहण गरिसकेका कीर्तिमानी आरोही कामीरिता २८औं पटकको रेकर्ड बनाउन यसै सिजनमा दोस्रो पटक सगरमाथा आरोहण गर्दैछन् । उनी आबद्ध कम्पनी सेभन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, कामीरिता मंगलबार सगरमाथा चुचुरो पुग्दैछन् । ‘आज (सोमबार) राति कामीरिता २८ औं पटकको आरोहणका लागि सगरमाथाको चुचुरोमा उक्लिँदै छन्,’ सेभेन समिटका अध्यक्ष मिग्माले भने ।

कामीरिताले पहिलोपटक २०५१ मा सगरमाथा आरोहण गरेका थिए भने पासाङ दावाले २०५५ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । आरोहीहरूमाझ ‘लुकेको रत्न’ पनि भनिने पासाङ दावालाई सर्वाधिक मन पर्ने खुम्बु क्षेत्रको अमादब्बलम हिमाल हो । उनको घरदेखि डेढ घण्टा पैदल दूरीमा रहेको ६८ सय मिटर १२ मिटर उचाइको उक्त हिमाल उनले ७० पटकभन्दा बढी आरोहण गरिसकेका छन् ।

प्रकाशित : जेष्ठ ८, २०८० २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?