नीति तथा कार्यक्रम पुनर्लेखन जरुरी छ : राप्रपा अध्यक्ष लिङ्देन

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएका छन् । अहिलेको आर्थिक संकट र समस्यालाई सम्बोधन गर्न नसक्ने भएकाले नीति तथा कार्यक्रम पुनर्लेखनको आवश्यकता रहेको लिङ्देनको भनाइ थियो ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुने क्रममा लिङ्देनले पुनर्लेखन हुनुपर्ने बताएका हुन् । सरकारले ल्याएको नीति तथा कार्यक्रमले समस्याको पहिचान गर्न नसकेको र प्राथमिकता पनि निर्धारण गर्न नसकेको उनको भनाइ थियो ।

‘अहिले देशको अवस्था सामान्य होइन । अहिले देशले र दुनियाँले जुन आर्थिक संकट बेहोरिरहेको छ त्यसलाई हाम्रो परम्परागत कार्यशैलीले, परम्परागत सोच र संरचनाले त्यो आर्थिक संकटलाई सामना गर्न सक्दैन । त्यसकारणले यो नीति तथा कार्यक्रममा आगामी संकटलाई कसरी सामना गरेर अगाडि बढछौं भन्ने कुरा आउनु पर्दथ्यो,' उनले भने, 'नमिलेका विषयहरू फेरि लेखेर ल्याउनु पर्छ भन्दाखेरी अप्ठ्यारो मान्नु हुँदैन । यसलाई पुनर्लेखन गर्न जरुरी छ । अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न सक्दैन ।'

सरकारले ल्याएको नीति तथा कार्यक्रम सामान्य अवस्थाको जस्तो रहेको लिङ्देनको भनाइ थियो । नीति तथा कार्यक्रमका धेरै कुराहरु प्रस्ट नभएको पनि उनले बताए । 'यसले समस्या पहिचान गर्न सकेको छैन । प्राथमिकता छुट्टयाउन खोजेकै छैन । अथवा, हाम्रा प्राथमिकता के हुन ? त्यसलाई प्रस्ट पार्न सकेको छैन । छलफल गर्नुपर्ने प्रशस्त विषय छन,' उनले भने, 'हामीले ल्यायौं, हामीसँग बहुमत छ । पास गर्छौं । ताली ठटाएर पास गर्छौ । त्यो भन्न पाउनु हुन्छ, पास गर्न पाउनु हुन्छ ।' लिङदेनले नीति तथा कार्यक्रममा जनयुद्ध शब्द लेखियो भन्ने आत्मरतिमा नरमाउन आग्रह गरेका थिए ।

यसअघि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पनि नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न आग्रह गरेका थिए । उनले नीति तथा कार्यक्रम काम नलाग्ने भन्दै पुनर्लेखन गर्नुपर्ने भन्दै त्यसो नगरिए संसद्ले फेल गर्नुपर्ने पनि धारणा राखेका थिए ।

प्रकाशित : जेष्ठ ८, २०८० १४:३२
प्रतिक्रिया
पठाउनुहोस्

बलात्कार आरोपमा देउखुरी क्याम्पसका पूर्वप्रमुख गौतम पक्राउ

दुर्गालाल केसी

दाङ — देउखुरी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम बलात्कारको आरोपमा लमहीबाट पक्राउ परेका छन् ।

आइतबार दिउँसो घरमा कोही नभएको मौका छोपी २६ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाइ बलात्कार गरेको आरोपमा लमही नगरपालिका ५ रातोडाँडास्थित घरबाटै गौतमलाई राति प्रहरीले पक्राउ गरेको हो ।

आइतबार दिउँसो गौतमले ती युवतीलाई जागिर लगाइदिने भन्दै आफ्नै घरमा बोलाएर बलात्कार गरेको जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।

गौतम नेपाली कांग्रेसका जिल्ला सदस्य, देउखुरी बहुमुखी क्याम्पसका हालका प्रध्यापक र संचालक समितिका कोषाध्यक्ष हुन् ।

प्रकाशित : जेष्ठ ८, २०८० १४:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×