नीति तथा कार्यक्रम साझा दस्तावेज हुन सकेन : ओली

काठमाडौँ — एमाले अध्यक्ष तथा विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम साझा दस्तावेज हुन नसकेको बताएका छन् । प्रतिनिधिसभामा आइतबार नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै अध्यक्ष ओलीले देशले सामाना गरिरहेको समस्या प्रस्तुत गर्न नसकेका कारण नीति तथा कार्यक्रम साझा दस्तावेज हुन नसक्ने बताए ।

नीति तथा कार्यक्रम साझा दस्तावेज हुन सकेन : ओली

'नीति तथा कार्यक्रमले देशमा उपलब्ध अवसरको बारेमा चर्चा गरेको छैन । अथाहा स्रोत साधानको प्रोफाइल तयार गरी स्रोत साधनको पूर्ण कार्यान्वयन गर्ने उद्देश्य छैन,' ओलीले भने, 'समयमै कार्यान्वयन हुने र नयाँ पुस्ताको आवाजलाई आत्मसाथ गर्न सकेको छैन ।'

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भन्ने गरेको क्रमभंगता नीति तथा कार्यक्रमले पूरा नगर्ने बताए ।

'क्रमभंगता अब बोलीमा सीमित रह्यो । यो नीति तथा कार्यक्रम पश्चगामी छ । र त्यसले पश्चगमनमा लैजाने निश्चित छ,' ओलीले भने, 'सरकार सबै मोर्चामा असफल भएको छ । पराजित भएको छ । सबै बाचा, प्रतिबद्धताहरु असफल भएका छन् । झुठा सावित भएका छन् ।'

यस्तै ओलीले आर्थिक वृद्धिदर ८ प्रतिशत लक्ष्य राखे पनि २ प्रतिशत पनि नपुग्ने अवस्था भएको टिप्पणी गरेका थिए । यस क्रममा नेता ओलीले अहिले काम भइरहेको तरिकाबाट यसले आर्थिक वृद्धि नहुने पनि ठोकुवा गरे ।

आफ्नो कार्यक्रममा पूर्वका जिल्लामा गर्न खोजिएको अवसरलाई उदाहरणको रुपमा प्रस्तुत गर्दै ओलीले भने, 'सरकारले सुरक्षा दिन सकेन । यसलाई शान्ति सुरक्षा बहाली भएको कसरी मान्ने ?'

संसद्‍मा ओलीले प्रधानमन्त्री दाहालले गरेको गठबन्धन परिवर्तनको पनि आलोचना गरेका थिए ।

'चुनाव हुँदा एउटा प्रतिबद्धता गर्ने, मत परिणामपछि सरकारको नेतृत्व लिन अर्कै संकल्प लिने, २ महिना पनि नपुग्दै कोर्स परिवर्तन गर्ने पटकपटक पोजिसन र गठबन्धन फेर्नुलाई गतिशीलता ठान्ने प्रधानमन्त्रीको 'गतिशील' नीतिले देशलाई चरम अस्थिरतामा पुर्‍याउँदै छ,' ओलीले भने, 'मन्त्री र प्रधानमन्त्रीले दिने गरेको अभिव्यक्ति र अर्थमन्त्रीले सदनमा प्रस्तुत गरेको विषय र राष्ट्रपतिले बचन गर्नु भएको नीति तथा कार्यक्रम फरक फरक भएपछि राष्ट्र र जनताले के भन्ने ?'

प्रकाशित : जेष्ठ ७, २०८० १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?