१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

तामझामबिनै राष्ट्रपतिको सवारी

राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न शीतल निवासबाट संसद् भवन जाँदा यसअघिजस्तो सडक अवरुद्ध भएन । बिरामी, स्कुले बालबालिका, वृद्धवृद्धा वा कार्यालयको काम सकेर घर फर्कँदै गरेका पेसाकर्मी घण्टौं सडकमा रोकिएर सास्ती खेप्नु परेन । तर, प्रश्न छ– तामझामबिनाको राष्ट्रपतिको शुक्रबारको जस्तो सवारीले के निरन्तरता पाउला ?
तुफान न्यौपाने

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार सरकारको नीति तथा कार्यक्रम पेस गर्न नयाँ बानेश्वरस्थित संघीय संसद् जाँदा राष्ट्रपतिको यसअघिको सवारीका क्रममा हुने सास्ती सर्वसाधारणले बेहोर्नु परेन । कारण– उनी राष्ट्रपति भवन शीतलनिवासबाट नयाँ बानेश्वर चोकसम्म राष्ट्रपतिको निजी सवारीका क्रममा हुने सामान्य सुरक्षा घेरामा थिए ।

तामझामबिनै राष्ट्रपतिको सवारी

उनी विशिष्ट व्यक्तिको सुरक्षा निगरानी अगुवा र पछुवा कारको बीचमा मात्र थिए । त्यसक्रममा विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ ले निर्धारण गरेको राजकीय सवारी चलाइएको थिएन ।

यसअघि गणतन्त्र नेपालका दुई जना राष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारी यस्ता कार्यक्रममा जाँदा सडकमा राष्ट्रपतिको 'राजकीय सवारी' चलाइन्थ्यो। कार्यविधिअनुसार उक्त राजकीय सवारीमा सुरुमा प्रहरी वार्निङ मोटरसाइकल, त्यसपछि १८ जनाको आउट राइडर्स, भीभीआईपीको अगुवा कार, ६ घोडे भीभीआईपी बग्गी, दुई क्याभिलरी स्कर्ट अधिकृत, त्यसपछि भीभीआईपी पछुवा कार, १२ जनाको आउट राइडर्स, जगेडा कार, प्रहरी महानिरीक्षकको कार, एम्बुलेन्स, प्रहरी पछुवा जीप र प्रहरी पछुवा मोटरसाइकल हुन्थ्यो । काठमाडौंको व्यस्त र साना सडकमा भीभीआईपीको यस्तो सवारी चलाउँदा घण्टौंसम्म अन्य सवारीलाई रोकेर सडक खाली गराइन्थ्यो।

राजतन्त्रकालका एउटा राजाको ठाउँ गणतन्त्रकालका श्रीपेचबिनाका धेरै राजाले लिएको र त्यसले गणतन्त्रकै हुर्मत लिएको भनी सर्वसाधारणको रोष प्रकट भएको सुनिन्थ्यो। तर, गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पौडेल निर्वाचित हुनुअघि नै 'सडकमा सर्वसाधारणलाई सास्ती हुने गरी सवारी नचलाउने' भनी गरेको वाचामा कम्तीमा आफ्नो पहिलो नीति तथा कार्यक्रम पेस गर्ने दिनसम्ममा टिके ।

राष्ट्रपति पौडेलले संसद्‍मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न शीतल निवासबाट संसद् भवन जाँदा यसअघिजस्तो सडक अवरुद्ध भएन । बिरामी, स्कुले बालबालिका, वृद्धवृद्धा वा कार्यालयको काम सकेर घर फर्कँदै गरेका पेसाकर्मी घण्टौं सडकमा रोकिएर सास्ती खेप्नु परेन । जसकाकारण उनले तारिफ त पाएका छन्, तर, प्रश्न छ– तामझामबिनाको राष्ट्रपतिको शुक्रबारको जस्तो सवारीले के निरन्तरता पाउला ? पूर्व गृहसचिव खेमराज रेग्मी राष्ट्रपति पौडेलको यस्तो 'सवारी' उचित भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताउँछन् ।

ट्राफिक प्रहरी प्रमुख डीआईजी पोषराज पोखरेल शुक्रबार राष्ट्रपतिको शीतलनिवास–नयाँ बानेश्वर–शीतलनिवास यात्राका क्रममा सर्वसाधारण र सार्वजनिक यातायातलाई ट्राफिक लाइटमा प्रतीक्षा गरे भन्दा बढी समय सडकमा नरोकिएको बताउँछन् । ’सम्माननीयज्यूको (राष्ट्रपति पौडेलको) चाहना बमोजिम सबै सुरक्षानिकायको समन्वयमा हामीले सर्वसाधारणलाई मर्का नपर्ने गरी यातायातको प्रबन्ध गरेका हौं,’ उनले भने ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिका लागि संसद् जाँदै राष्ट्रपति रामचन्द्र पौडेलको सवारी शुक्रबार बबरमहल–नयाँ बानेश्वर सडकमा । तस्बिर : इलिट जोशी/कान्तिपुर

पोखरेलका अनुसार नयाँ बानेश्वर चोक पार गरेपछि संसद् भवन छिर्ने बेलासम्मका लागि मात्रै राष्ट्रपतिका लागि 'राजकीय सवारी' चलाइएको थियो। 'शीतल निवासबाट नयाँ बानेश्वर चोकसम्म सम्माननीयज्यूको निजी सवारीका बेलामा हुने प्रक्रिया अपनाइयो भने बानेश्वर चोक पार गरेपछि मात्रै औपचारिक सवारी चलाइएको थियो,' डीआईजी पोखरेलले भने । पूर्वगृहसचिव रेग्मीका विचारमा शुक्रबारको यस्तो प्रबन्धले राष्ट्रप्रमुखको सवारीका क्रममा परम्परा कायम पनि रह्यो भने सर्वसाधारण नागरिकले सास्ती पनि खेप्नु परेन ।

'यसअघिका राष्ट्रपतिले बिरामी मरे पनि मरुन्, सर्वसाधारणले जति दुख पाए पनि पाउन् तर मेरो मर्यादा राख्नका लागि सडक खाली गराएर राजाको जस्तो सवारी चलाइराख्नुपर्छ भन्ने मान्यता राखेको देखिन्थ्यो,’ उनले भने, 'त्यसले संसदलाई सम्बोधन गर्न जाँदा राजाहरूले गर्ने तामझामलाई गणतन्त्रकालमा पनि सम्झाइराखेको थियो। गणतन्त्र आएर के भयो ? आखिर नेताहरू श्रीपेच बिनाका राजा भए भन्ने भावना नागरिकमा बढेर गणतन्त्रप्रति नै वितृष्णा जागेको थियो। तर, नवनिर्वाचित राष्ट्रपतिले त्यसलाई निरन्तरता दिन चाहनु भएन। यो ठीक छ तर यसको निरन्तरता हुनुपर्छ ।'

२०७६ वैशाख २० मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

पौडेलकी पूर्ववर्ती भण्डारीको पालामा 'सवारी चलाउँदा' सडकमा निस्केका चिकित्सक पिटिएका थिए। त्यसले सर्वसाधरणमा राष्ट्रपतिलगायत प्रहरी प्रशासनप्रति नै एकप्रकारको आक्रोश निम्त्याएको थियो। त्यसक्रमको जनआक्रोश बुझेका पौडेलले राष्ट्रपतिको उम्मेदवार बन्दै गर्दा आफूले यसअघिका राष्ट्रपतिले जस्तो तामझाम गरेर सडक बन्द गराई जनतालाई दु:ख नदिने वाचा गरेका थिए। यसअघि केही सार्वजनिक कार्यक्रममा जाँदा र पहिलोपटक संसद्‍मा नीति तथा कार्यक्रम पेस गर्दासम्म पौडेल त्यसमा टेकेका छन् । तर, विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ को संशोधनबिना राष्ट्रपति पौडेलको निजी इच्छामा निर्भर रहेको यस्तो सवारी प्रबन्धले कति निरन्तरता पाउने हो भन्नेमा शंका छ ।

नेपाल प्रहरीका सेवा निवृत्त डीआईजी हेमन्त मल्ल यसको निरन्तरताको लागि राष्ट्रपतिको सवारीका क्रममा चलाइने कारकेडको फर्मेसनमै पुनरावलोकन गर्नुपर्ने आवश्यकतामा जोड दिन्छन् । 'कारकेड फर्मेसन साह्रै ठूलो छ । त्यसलाई काठमाडौंको सडकले धान्दैन । त्यसैले घोडा, मेटरसाइकल र गाडीको भीडलाई रिभ्यु गर्नुपर्छ,' उनले भने, 'सानो फर्मेसन गर्दा गति पनि तीव्र गर्न सकिन्छ। त्यसले सडकमा धेरैबेर 'डिर्टर्ब' पनि हुँदैन । अत्यावश्यक अवस्थामा पनि पूरै सडक बन्द गर्नुको साटो वान वेसम्म चलाउने गर्नुपर्छ।'

मल्ल अहिले राष्ट्रपति पौडेलको व्यक्तिगत इच्छामा उनको सवारीका क्रममा सडक बन्द नगरिएको अवस्था देखिएकाले यो अस्थायी समाधान मात्र भएको बताउँछन् । 'उहाँले तामझाम चाहनुभएन । अर्को व्यक्ति आउँदा मलाई चाहिन्छ भन्न सक्छ, त्यसैले यो स्थायी समाधान होइन। त्यसका लागि कारकेड फर्मेसनमै रिभ्यू गर्नुपर्छ,' उनले भने ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादव र त्यसपछिकी प्रथम महिला राष्ट्रपति भण्डारीले सडकमा 'राजाको जस्तो' तामझाम गरेपछि सार्वजनिक रूपमा साह्रै आलोचित बनेका थिए ।

उनीहरूका निर्णय वा अनिर्णयले भन्दा ज्यादा आलोचना सवारीका क्रममा सर्वसाधारणले पाएको सास्तीका कारण खेप्नुपरेको थियो। कार्यकालको उत्तरार्धमा आएका बखत पूर्वराष्ट्रपति भण्डारीलाई एक टीभी कार्यक्रममा उनको सवारीका कारण नागरिकले पाएको सास्तीबारे सोधिएको प्रश्नमा उनले 'जनताले राष्ट्रप्रमुखको मर्यादा राख्नुपर्ने' भनी दिएको अभिव्यक्ति झन् बढी आलोचित भएको थियो। त्यस्तो आलोचना देखेर सुरुबाटै त्यसप्रति सचेत देखिएका पौडेलले यसलाई साँच्चिकै सुधार्ने हो भने प्रधानमन्त्रीलाई भनेर कार्यविधि नै परिवर्तन गर्न लगाउनुपर्ने बताउँछन् वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल ।

'हाम्रो देशमा धेरै कुरा व्यक्तिको मुड र ह्विममा चल्ने गरेको छ । विदेशी राष्ट्रप्रमुख भ्रमणमा आउँदाको अवस्थाबाहेकका हाम्रा आन्तरिक कार्यक्रममा राष्ट्रपति पौडेलले शुक्रबार गरेजत्तिको विधि पुर्‍याए पुग्छ,' उनले भने, 'यसलाई निरन्तरता दिनुपर्छ। त्यसका लागि राष्ट्रपतिले प्रधानमन्त्रीलाई भनेर कार्यविधि बदल्न र त्यसको सार्वजनिक घोणणा गर्न लगाउनुपर्छ ।'

प्रकाशित : जेष्ठ ६, २०८० ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?