सक्कली शरणार्थी नेता, नक्कली शरणार्थी ‘निर्माता’

भुटानी राजाको सल्लाहकार परिषद्का सदस्यसमेत रहेका टेकनाथ रिजालले दरबारको सल्लाहकार होइन, शरणार्थी शिविरको आवाज बन्ने बाटो रोजेका थिए
१० वर्ष भुटानमा जेल र २० वर्षयता नेपाल निर्वासन रहेका रिजालमाथि आफ्नै समुदाय र आफूलाई शरण दिएको देशमाथि घात गरेको दाग लागेको छ
रिजालले भुटानका विभिन्न गाउँको ठेगाना राखेर नक्कली शरणार्थीको सूची तयार पार्ने जिम्मा लिएका थिए भने रकम असुलेर नक्कली शरणार्थी बन्न तयार हुने युवाको खोजीमा दुलाल र भण्डारीको समूह सक्रिय थियो

काठमाडौँ — भुटानी प्रजातान्त्रिक आन्दोलनका अगुवा । शरणार्थी आन्दोलनका प्रमुख आवाज । मानवअधिकार अभियन्ता । नेपालका प्रतिष्ठित पाहुना । टेकनाथ रिजालको यो विशाल परिचय रातारात धुमिल भएको छ, शरणार्थीका नाममा मानव ओसारपसार र नेपाल राज्यविरुद्धको गम्भीर आरोपमा नेपाल प्रहरीले उनलाई पक्राउ गरेको छ ।

सक्कली शरणार्थी नेता, नक्कली शरणार्थी ‘निर्माता’

भुटानी सत्ताबाट लखेटिएर नेपाल आएका शरणार्थीका लागि विश्वासको टेको थिए रिजाल । भुटानबाट लखेटिएपछि नेपाल आइपुगेका रिजाललाई शरणार्थी समस्या समाधान नभएसम्मका लागि नेपाल सरकारले मासिक जीवन निर्वाह भत्ता, सवारीसाधन, चालक र अंगरक्षकसहितको प्रबन्ध गरेको छ । त्यसबाहेक मन्त्रिपरिषद्ले बेलाबेला पटके निर्णय गरेर आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

सन् १९७३ मा भुटानको लामीडाँडा क्षेत्रबाट राज्यसभा सदस्य बनेका रिजाल सन् १९८४ मा भुटानी राजाको सल्लाहकार परिषद्मा नियुक्त भएका थिए । जोङ्खा भाषा अनिवार्य बोल्नुपर्ने, बख्खु लगाउनैपर्नेजस्ता सरकारी नियमको विरोधमा उत्रिएर बहुभाषिक–बहुसांस्कृतिक राज्यका पक्षमा वकालत गर्दा रिजाल सन् १९८८ मा सल्लाहकार परिषद्बाट निकालिएका थिए । सात दिन हिरासत परेका उनी भारत हुँदै नेपाल आएका थिए ।

भुटान सरकारको आग्रहमा नेपालको तत्कालीन पञ्चायत सरकारले रिजाललाई सन् १९८९ डिसेम्बर १६ मा झापाको बिर्तामोडबाट पक्राउ गरी भुटानलाई हस्तान्तरण गरेको थियो । त्यसपछि १० वर्ष चेम्गाङ जेलमा बन्दी बनेका उनी सन् २००३ मा नेपाल आएर श्रीमतीका साथमा बस्दै आएका थिए । दुवै छोरा क्यानडा पुनर्वासमा गएका छन् ।

रिजालले दरबारको सल्लाहकार हुनुभन्दा शरणार्थीको प्रवक्ता हुने बाटो रोजे । तर ७६ वर्षको उमेरमा उनीमाथि आफ्नै समुदाय र आफूलाई शरण दिएको देशमाथि घात गरेको दाग लागेको छ ।

करिब १ लाख १३ हजार शरणार्थीले तेस्रो देश पुनःस्थापनाको विकल्प रोज्दा रिजाल भने स्वदेश फिर्ताकै अडानसहित नेपालमै बसेका थिए । पुनःस्थापनामा नगएका ६ हजार ३ सय ६५ शरणार्थी मोरङको पथरी र झापाको बेलडाँगी शिविरमा छन्, उनीहरूलाई नेपालमै कार्य सहमति दिने, पुनःस्थापनाका लागि पहल गर्ने वा तेस्रो देश पठाउने विषयमा रिजाल नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर संवादमा थिए ।

शरणार्थीको हकका लागि बोल्दै आएका उनै रिजाल नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको साझेदार बनेको प्रहरी दाबी छ । यससँगै उनले कम्तीमा तीन दशकभन्दा बढी लगाएर बनाएको छविको अवसान भएको छ । अझ, शिविरमै रहेका शरणार्थीको व्यवस्थापन, स्वदेश फिर्ता र तेस्रो देश पुनःस्थापनाको एजेन्डामा झन् ठूलो क्षति पुगेको छ ।

प्रहरी हिरासतमा रहेका केशव दुलाल र सानु भण्डारीले धन्दामा रिजाल साझेदार बनेको बयान दिएका छन्, त्यसपछि अनुसन्धान गर्दा तथ्य भेटिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । झापाको भद्रपुरबाट बिहीबार अपराह्न काठमाडौं आएका रिजाललाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको हो । जिल्ला अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

नक्कली शरणार्थी बनाउने गिरोहमाथि प्रहरीले एक वर्षयता निगरानी गरिरहेको थियो । गत वर्ष जेठ अन्तिम साता गिरोहका केही सदस्य प्रहरी निसानामा पनि परे । त्यसबेला औपचारिक अनुसन्धान नगरी प्रहरीले निगरानी र प्रमाण संकलनमा मात्रै आफूलाई सीमित गरेको थियो । पछिल्लो पटक गत चैत १२ मा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ पक्राउ परेपछि थप अनुसन्धानका क्रममा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

त्यस्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित उच्च पदस्थ अधिकारीहरू नै पक्राउ परे । गिरोहका नाइके र सहयोगी पनि प्रहरीको पकडमा परे । उनीहरूकै बयान र प्राप्त प्रमाणका आधारमा रिजालको पनि संलग्नता खुलेको हो ।

प्रहरी स्रोतका अनुसार नक्कली शरणार्थी प्रकरणमा रिजाल २०७६ वैशाखबाटै गिरोहको साझेदार बनेर सक्रिय रहेको देखिन्छ । गिरोहले छुट शरणार्थी दर्ताको चलखेल गरेपछि रिजाल त्यसमै मिसिएको तथ्य भेटिएको प्रहरी भनाइ छ । यो योजनालाई अघि बढाउन गृह मन्त्रालय र सत्तारूढ दलका नेताहरूलाई भेटेरै उनी ‘लबिइङ’मा लागेका थिए । २०७६ जेठ ३० मा गृह मन्त्रालयले कार्यदल गठन गर्नुअघि नै गिरोह र रिजालबीच साँठगाँठ भएको प्रहरी अधिकारीहरू बताउँछन् । ‘रिजालले भुटानका विभिन्न गाउँको ठेगाना राखेर नक्कली शरणार्थीको सूची तयार पार्ने जिम्मा लिएका थिए भने रकम असुलेर नक्कली शरणार्थी बन्न तयार हुने युवाको खोजीमा दुलाल र भण्डारीको समूह सक्रिय थियो,’ प्रहरी अधिकारी भन्छन् ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णय गरेर गठन गरेको कार्यदलको पृष्ठभूमि बनाउन पनि रिजाल खटिएको हुन सक्ने प्रहरी बताउँछ । रिजाल स्वयंले शरणार्थी समस्याको दिगो समाधानका लागि तत्कालीन गृहमन्त्री थापालाई पत्र लेखेका थिए । रिजालले आफ्नो निवेदनमा भुटानका नागरिकले ससम्मान

आफ्नो देश फर्कन पाउनुपर्ने, विभिन्न कारणले शरणार्थी शिविरबाहिर रहेका दर्ता छुट शरणार्थीको समस्या समाधान गर्न समिति गठन गरी दर्ता गर्नुपर्ने र तेस्रो देशमा पुनर्वासले निम्त्याएको पारिवारिक वियोग हटाउन परिवार एक हुने वातावरण सिर्जना हुनुपर्नेसहितका १२ सूत्रीय माग पेस गरेका थिए । भुटानी शरणार्थीका नेताको आग्रह सम्बोधन गर्ने भन्दै गृह मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

२०७६ कात्तिकमा पन्थी कार्यदलले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदन साटेर नक्कली शरणार्थी नामको बेग्लै अनुसूची तयार गरिएको पुष्टि भइसकेको छ । दर्ता छुट भनेर ८७५ जना र अन्य गरेर १ हजारभन्दा बढीबाट प्रतिव्यक्ति ५० लाख रुपैयाँसम्म गिरोहले उठाएको थियो ।

रिजालले आफूसम्बद्ध संस्था पिपुल्स फोरम फर ह्युमन राइट्स अफ भुटान तथा भुटान ह्युमन राइट्स अर्गनाइजेसनको परिचयपत्र दुरुपयोग गरेको प्रमाणसमेत प्रहरीले प्राप्त गरेको छ । तर, पछिल्लो एक वर्षयता गिरोह प्रहरी निगरानीमा परेपछि भने विवाद सतहमा आउने डरले रिजाल हच्किएका थिए । त्यसपछि भने युवाबाट रकम असुलेर बनाइएका कतिपय नक्कली शरणार्थी परिचयपत्र रिजालले जलाएको पनि प्रहरी स्रोतको भनाइ छ । ‘रिजालले आर्थिक लाभ लिएको तथ्य पनि भेटिएको छ । उनले भुटानका विभिन्न बस्तीको ठेगाना राखेर नक्कली शरणार्थी परिचयपत्र बनाउन सहयोग गरेका थिए,’ प्रहरीको भनाइ छ ।

गिरोहका साझेदार मोरङ पथरी निवासी सागर थुलुङ राई र काठमाडौंका रामशरण केसीले पनि रिजालविरुद्ध बयान दिएका थिए । कास्कीका प्रेमराज पन्थीले पनि रिजालसहित कास्कीका अर्का साझेदार भेषराज लम्सालविरुद्ध प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । नेता रिजालविरुद्ध उजुरी र बयान आउन थालेपछि गत साता मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठले रिजाललाई गृह मन्त्रालयमा बोलाएर आवश्यक सोधखोज गरेका थिए । तर, प्रहरीले प्रमाण उत्खनन गर्दा उनको संलग्नता खुलेको हो ।

भुटानी अधिकारवादी नेता एवं प्राध्यापक डीएनएस ढकालले प्रजातन्त्र एवं मानवअधिकारका पक्षमा लड्दै आएका ‘योद्धा’ रिजाल आर्थिक चलखेलको अभियोगमा पक्राउ पर्नुलाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् । ‘यो गम्भीर मामलामा हामी सबै भुटानी शरणार्थी र अधिकारका पक्षधरले सत्यतथ्य अनुसन्धानको प्रतीक्षा गरेका छौं,’ झापाको चारआलीमा रहेका नेता ढकालले फोनमा कान्तिपुरसँग भने ।

भुटानी शरणार्थीको मानवअधिकार र भुटानभित्र रहेका राजबन्दीको रिहाइका पक्षमा आवाज उठाउँदै आएका अधिकारकर्मी राम कार्कीले नेदरल्यान्ड्सको हेगबाट फोनमा भने, ‘भुटानमा वर्षौंवर्षदेखि थुनिएका राजबन्दीको पीडा बाहिर ल्याउनेदेखि प्रजातन्त्र र मानवअधिकारका पक्षमा वकालत गर्ने नेता रिजालमाथि लागेको यस्तो आरोप अविश्वसनीय छ, यो गम्भीर सरोकारमा उत्तिकै गम्भीरतापूर्वक अनुसन्धान हुनेछ भन्नेमा आश्वस्त छौं ।’

प्रकाशित : जेष्ठ ५, २०८० ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?