सक्कली शरणार्थी नेता, नक्कली शरणार्थी ‘निर्माता’

भुटानी राजाको सल्लाहकार परिषद्का सदस्यसमेत रहेका टेकनाथ रिजालले दरबारको सल्लाहकार होइन, शरणार्थी शिविरको आवाज बन्ने बाटो रोजेका थिए

जेष्ठ ५, २०८०

देवेन्द्र भट्टराई, मातृका दाहाल

काठमाडौँ — भुटानी प्रजातान्त्रिक आन्दोलनका अगुवा । शरणार्थी आन्दोलनका प्रमुख आवाज । मानवअधिकार अभियन्ता । नेपालका प्रतिष्ठित पाहुना । टेकनाथ रिजालको यो विशाल परिचय रातारात धुमिल भएको छ, शरणार्थीका नाममा मानव ओसारपसार र नेपाल राज्यविरुद्धको गम्भीर आरोपमा नेपाल प्रहरीले उनलाई पक्राउ गरेको छ ।

भुटानी सत्ताबाट लखेटिएर नेपाल आएका शरणार्थीका लागि विश्वासको टेको थिए रिजाल । भुटानबाट लखेटिएपछि नेपाल आइपुगेका रिजाललाई शरणार्थी समस्या समाधान नभएसम्मका लागि नेपाल सरकारले मासिक जीवन निर्वाह भत्ता, सवारीसाधन, चालक र अंगरक्षकसहितको प्रबन्ध गरेको छ । त्यसबाहेक मन्त्रिपरिषद्ले बेलाबेला पटके निर्णय गरेर आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

सन् १९७३ मा भुटानको लामीडाँडा क्षेत्रबाट राज्यसभा सदस्य बनेका रिजाल सन् १९८४ मा भुटानी राजाको सल्लाहकार परिषद्मा नियुक्त भएका थिए । जोङ्खा भाषा अनिवार्य बोल्नुपर्ने, बख्खु लगाउनैपर्नेजस्ता सरकारी नियमको विरोधमा उत्रिएर बहुभाषिक–बहुसांस्कृतिक राज्यका पक्षमा वकालत गर्दा रिजाल सन् १९८८ मा सल्लाहकार परिषद्बाट निकालिएका थिए । सात दिन हिरासत परेका उनी भारत हुँदै नेपाल आएका थिए ।

भुटान सरकारको आग्रहमा नेपालको तत्कालीन पञ्चायत सरकारले रिजाललाई सन् १९८९ डिसेम्बर १६ मा झापाको बिर्तामोडबाट पक्राउ गरी भुटानलाई हस्तान्तरण गरेको थियो । त्यसपछि १० वर्ष चेम्गाङ जेलमा बन्दी बनेका उनी सन् २००३ मा नेपाल आएर श्रीमतीका साथमा बस्दै आएका थिए । दुवै छोरा क्यानडा पुनर्वासमा गएका छन् । 

रिजालले दरबारको सल्लाहकार हुनुभन्दा शरणार्थीको प्रवक्ता हुने बाटो रोजे । तर ७६ वर्षको उमेरमा उनीमाथि आफ्नै समुदाय र आफूलाई शरण दिएको देशमाथि घात गरेको दाग लागेको छ । 

करिब १ लाख १३ हजार शरणार्थीले तेस्रो देश पुनःस्थापनाको विकल्प रोज्दा रिजाल भने स्वदेश फिर्ताकै अडानसहित नेपालमै बसेका थिए । पुनःस्थापनामा नगएका ६ हजार ३ सय ६५ शरणार्थी मोरङको पथरी र झापाको बेलडाँगी शिविरमा छन्, उनीहरूलाई नेपालमै कार्य सहमति दिने, पुनःस्थापनाका लागि पहल गर्ने वा तेस्रो देश पठाउने विषयमा रिजाल नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर संवादमा थिए । 

शरणार्थीको हकका लागि बोल्दै आएका उनै रिजाल नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको साझेदार बनेको प्रहरी दाबी छ । यससँगै उनले कम्तीमा तीन दशकभन्दा बढी लगाएर बनाएको छविको अवसान भएको छ । अझ, शिविरमै रहेका शरणार्थीको व्यवस्थापन, स्वदेश फिर्ता र तेस्रो देश पुनःस्थापनाको एजेन्डामा झन् ठूलो क्षति पुगेको छ ।

प्रहरी हिरासतमा रहेका केशव दुलाल र सानु भण्डारीले धन्दामा रिजाल साझेदार बनेको बयान दिएका छन्, त्यसपछि अनुसन्धान गर्दा तथ्य भेटिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । झापाको भद्रपुरबाट बिहीबार अपराह्न काठमाडौं आएका रिजाललाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको हो । जिल्ला अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

नक्कली शरणार्थी बनाउने गिरोहमाथि प्रहरीले एक वर्षयता निगरानी गरिरहेको थियो । गत वर्ष जेठ अन्तिम साता गिरोहका केही सदस्य प्रहरी निसानामा पनि परे । त्यसबेला औपचारिक अनुसन्धान नगरी प्रहरीले निगरानी र प्रमाण संकलनमा मात्रै आफूलाई सीमित गरेको थियो । पछिल्लो पटक गत चैत १२ मा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ पक्राउ परेपछि थप अनुसन्धानका क्रममा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । 

त्यस्तै  तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित उच्च पदस्थ अधिकारीहरू नै पक्राउ परे । गिरोहका नाइके र सहयोगी पनि प्रहरीको पकडमा परे । उनीहरूकै बयान र प्राप्त प्रमाणका आधारमा रिजालको पनि संलग्नता खुलेको हो ।

प्रहरी स्रोतका अनुसार नक्कली शरणार्थी प्रकरणमा रिजाल २०७६ वैशाखबाटै गिरोहको साझेदार बनेर सक्रिय रहेको देखिन्छ । गिरोहले छुट शरणार्थी दर्ताको चलखेल गरेपछि रिजाल त्यसमै मिसिएको तथ्य भेटिएको प्रहरी भनाइ छ । यो योजनालाई अघि बढाउन गृह मन्त्रालय र सत्तारूढ दलका नेताहरूलाई भेटेरै उनी ‘लबिइङ’मा लागेका थिए । २०७६ जेठ ३० मा गृह मन्त्रालयले कार्यदल गठन गर्नुअघि नै गिरोह र रिजालबीच साँठगाँठ भएको प्रहरी अधिकारीहरू बताउँछन् । ‘रिजालले भुटानका विभिन्न गाउँको ठेगाना राखेर नक्कली शरणार्थीको सूची तयार पार्ने जिम्मा लिएका थिए भने रकम असुलेर नक्कली शरणार्थी बन्न तयार हुने युवाको खोजीमा दुलाल र भण्डारीको समूह सक्रिय थियो,’ प्रहरी अधिकारी भन्छन् । 

तत्कालीन गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णय गरेर गठन गरेको कार्यदलको पृष्ठभूमि बनाउन पनि रिजाल खटिएको हुन सक्ने प्रहरी बताउँछ । रिजाल स्वयंले शरणार्थी समस्याको दिगो समाधानका लागि तत्कालीन गृहमन्त्री थापालाई पत्र लेखेका थिए । रिजालले आफ्नो निवेदनमा भुटानका नागरिकले ससम्मान 

आफ्नो देश फर्कन पाउनुपर्ने, विभिन्न कारणले शरणार्थी शिविरबाहिर रहेका दर्ता छुट शरणार्थीको समस्या समाधान गर्न समिति गठन गरी दर्ता गर्नुपर्ने र तेस्रो देशमा पुनर्वासले निम्त्याएको पारिवारिक वियोग हटाउन परिवार एक हुने वातावरण सिर्जना हुनुपर्नेसहितका १२ सूत्रीय माग पेस गरेका थिए । भुटानी शरणार्थीका नेताको आग्रह सम्बोधन गर्ने भन्दै गृह मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

२०७६ कात्तिकमा पन्थी कार्यदलले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदन साटेर नक्कली शरणार्थी नामको बेग्लै अनुसूची तयार गरिएको पुष्टि भइसकेको छ । दर्ता छुट भनेर ८७५ जना र अन्य गरेर १ हजारभन्दा बढीबाट प्रतिव्यक्ति ५० लाख रुपैयाँसम्म गिरोहले उठाएको थियो । 

रिजालले आफूसम्बद्ध संस्था पिपुल्स फोरम फर ह्युमन राइट्स अफ भुटान तथा भुटान ह्युमन राइट्स अर्गनाइजेसनको परिचयपत्र दुरुपयोग गरेको प्रमाणसमेत प्रहरीले प्राप्त गरेको छ । तर, पछिल्लो एक वर्षयता गिरोह प्रहरी निगरानीमा परेपछि भने विवाद सतहमा आउने डरले रिजाल हच्किएका थिए । त्यसपछि भने युवाबाट रकम असुलेर बनाइएका कतिपय नक्कली शरणार्थी परिचयपत्र रिजालले जलाएको पनि प्रहरी स्रोतको भनाइ छ । ‘रिजालले आर्थिक लाभ लिएको तथ्य पनि भेटिएको छ । उनले भुटानका विभिन्न बस्तीको ठेगाना राखेर नक्कली शरणार्थी परिचयपत्र बनाउन सहयोग गरेका थिए,’ प्रहरीको भनाइ छ ।

गिरोहका साझेदार मोरङ पथरी निवासी सागर थुलुङ राई र काठमाडौंका रामशरण केसीले पनि रिजालविरुद्ध बयान दिएका थिए । कास्कीका प्रेमराज पन्थीले पनि रिजालसहित कास्कीका अर्का साझेदार भेषराज लम्सालविरुद्ध प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । नेता रिजालविरुद्ध उजुरी र बयान आउन थालेपछि गत साता मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठले रिजाललाई गृह मन्त्रालयमा बोलाएर आवश्यक सोधखोज गरेका थिए । तर, प्रहरीले प्रमाण उत्खनन गर्दा उनको संलग्नता खुलेको हो ।

भुटानी अधिकारवादी नेता एवं प्राध्यापक डीएनएस ढकालले प्रजातन्त्र एवं मानवअधिकारका पक्षमा लड्दै आएका ‘योद्धा’ रिजाल आर्थिक चलखेलको अभियोगमा पक्राउ पर्नुलाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् । ‘यो गम्भीर मामलामा हामी सबै भुटानी शरणार्थी र अधिकारका पक्षधरले सत्यतथ्य अनुसन्धानको प्रतीक्षा गरेका छौं,’ झापाको चारआलीमा रहेका नेता ढकालले फोनमा कान्तिपुरसँग भने । 

भुटानी शरणार्थीको मानवअधिकार र भुटानभित्र रहेका राजबन्दीको रिहाइका पक्षमा आवाज उठाउँदै आएका अधिकारकर्मी राम कार्कीले नेदरल्यान्ड्सको हेगबाट फोनमा भने, ‘भुटानमा वर्षौंवर्षदेखि थुनिएका राजबन्दीको पीडा बाहिर ल्याउनेदेखि प्रजातन्त्र र मानवअधिकारका पक्षमा वकालत गर्ने नेता रिजालमाथि लागेको यस्तो आरोप अविश्वसनीय छ, यो गम्भीर सरोकारमा उत्तिकै गम्भीरतापूर्वक अनुसन्धान हुनेछ भन्नेमा आश्वस्त छौं ।’

देवेन्द्र भट्टराई विगत २५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् । उनी कान्तिपुर पब्लिकेसन्समा सहायक सम्पादकको रुपमा कार्यरत छन् । उनी परराष्ट्र, शिक्षा, श्रम, कला, साहित्य,फिचर लगायतका विषयमा कलम चलाउँदै आइरहेका छन् । साथै उनी रेगिस्तान डायरी, स्रष्टा र समय पुस्तकका लेखक हुन् ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully