२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९
नक्कली शरणार्थी प्रकरण

भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल पक्राउ

काठमाडौँ — भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।

भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल पक्राउ

बिहीबार अपरान्ह ५ बजे उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको हो । केशव दुलाल, सानु भण्डारी लगायतले दिएको बयानका आधारमा उनीमाथि प्रहरीले निगरानी बढाएको थियो । गिरोहसँग उनको पनि आर्थिक साँठगाँठ रहेको तथ्यहरु भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

तेस्रो देश पुनर्स्थापनामा छुटेका करिब ६ हजार ५ सय शरणार्थीको व्यवस्थापनका लागि उनले नै सुरुमा नेपाली नेताहरुसँग पहल गरेका थिए । त्यसक्रममा उनले तत्कालिन गृहमन्त्री रामबहादुर थापालाई गृह मन्त्रालयमै भेटेर ज्ञापन पत्र समेत बुझाएका थिए । शरणार्थी समस्या समाधानका लागि त्यतिबेलै हालका प्रधानमन्त्री पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पनि भेटेर आग्रह गरेका थिए ।

उनले समेत गरेको व्यस्थापनको लबिङ पछि तत्कालिन गृहमन्त्री थापाले मन्त्रिस्तरीय निर्णयबाट कार्यदल गठन गरेका थिए । त्यही कार्यदललाई टेकेर गिरोहले दर्ता छुट भएका शरणार्थीलाई परिचयपत्र दिने आवरणमा नक्कली शरणार्थी बनाउने धन्दा चलाएको थियो । त्यसको पोल खुलेपछि अनुसन्धान सुरु गरेको प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १५ जना पक्राउ गरिसकेको छ ।

नेता रिजालले बीचमा गिरोहले रकम उठाइरहेको सुँइको पाएपछि नेताहरुलाई भेटेर यसबारे ध्यानकर्षण गराएका थिए । तर उनी आफैं नै गिरोहसँगको आर्थिक लेनदेन संलग्न रहेको तथ्य भेटेपछि प्रहरीले पक्राउ गरेको हो ।

उनी भुटानबाट विस्थापित भइ नेपालमा शरण लिइरहेका शरणार्थीहरु मध्येका उच्च तहका व्यक्ति हुन् । उनले शरणार्थी अधिकारका क्षेत्रमा काम गर्दै आएका थिए ।

उनलाई नेपाल सरकारले मासिक १ लाख रुपैया तलब, ड्राइभरसहित गाडी सुविधा दिएको थियो । झापाको बिर्तामोडमा बस्दै आएका उनी बेलाबखत काठमाडौं आउने जाने गर्थे । काठमाडौंमा चावहिलमा उनको डेरा छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार नै हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परिसकेका छन् ।

प्रकाशित : जेष्ठ ४, २०८० १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?