'अहिले राजश्व नउठेर हालत चौपट भएको छ । त्यसको जिम्मेवारी अहिलेको गठबन्धनले लिनुपर्दैन ? गल्ती गर्ने सत्ता गठबन्धनले, प्रचण्ड देउवाको मिलेमतोमा मुलुकलाई आर्थिक संकटमा पुर्याउने, त्यसको भारी बोकाउँदा पुराना पार्टी सबै असफल भए भनिदिने ?'
काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण निष्पक्ष रुपमा छानबिन हुनुपर्ने भन्दै निर्दोष कसैलाई फसाउने र दोषीलाई उम्किन दिन नहुने बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्याक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालीलाई नक्कली शरणार्थी बनाइ विदेश पठाउन खोज्नु राज्यका विरुद्धको घात भएको उल्लेख गर्दै यस्ता घटनाप्रति राज्य सशक्त भएर काम गर्न आवश्यक रहेको बताए । उनले निर्दोष कसैलाई फसाउने र दोषी उम्किन नदिनेगरी छानबिन हुन जरुरी रहेको उल्लेख गरे । उनले लडाकु शिविर घोटाला, बालुवाटार जग्गा प्रकरण, सिसिटिभी फुटेज प्रकरणका बारेमा पनि छानबिन गर्न सरकार समक्ष माग गरेका थिए ।
यस क्रममा उनले समाजमा नेता र पार्टीहरु नै खराब हुन् भन्ने भाष्य खडा नगर्न पनि चेतावनी दिएका थिए ।महासचिव पोखरेलले भने, ‘नेपालीलाई नक्कली शरणार्थी बनाइ विदेश पठाउन खोज्नु राज्यका विरुद्धको घात हो, गम्भीर अपराध हो । त्यस अर्थमा यस्ता घटनाप्रति राज्य अत्यन्त सशक्त हुनुपर्छ भन्ने पार्टीको मान्यता छ, त्यही आधारमा हामीले सरकारलाई भनेका पनि छौँ । राजनीतिक आग्रह, पूर्वाग्रहका आधारमा होइन, निष्पक्ष छानबिनका माध्यमबाट दोषी कोही नउम्किउन्, निर्दोष कसैलाई फसाउने काम नहोस्, यो मान्यताका आधारमा नक्कली भुटानी शरणार्थीको प्रकरणलाई टुंगो लगाउनुपर्छ । नक्कली आरोप लगाउन छोडौँ, कुनै पनि विषयमा आशंका र अविश्वास छ भने छानबिन गरौँ, सबै छानबिनका लागि तयार हुनुपर्छ । शिविर घोटालाका सन्दर्भमा भएको त्यति ठूलो भ्रष्टाचार लुकाउन मिल्दैन, छानबिन गरौँ, बालुवाटार लगायत अनेकौँ प्रकारका घटनाहरुको छानबिन गरौं । राजश्वका दरहरु हेरफेर गरिकन निश्चित व्यापारिक घरानालाई पोस्ने र राज्यलाई डुबाउने सिसिटिभी फुटेज प्रकरण पनि छानबिन गरौँ, तर समाजलाई नेता र पार्टीहरु नै खराब हुन् भन्ने भाष्य खडा नगरौँ ।’
महासचिव पोखरेलले देशको आर्थिक अवस्था अहिलेको स्थितिमा पुग्नुको कारण प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको पनि आरोप लगाए । उनले अहिलेको आर्थिक अवस्थाको जिम्मेवारी सत्ता गठबन्धनले लिनुपर्ने बताए । उनले आफ्नो पार्टी सरकारमा रहँदा राजश्व नियमति उठ्ने गरेको तर अहिले राजश्व नै उठ्न नसक्नुको कारण माग गरेका थिए । उनले वैधानिक अर्थतन्त्र कमजोर पार्न अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीति अवलम्वन गरेकै कारणले आज नेपाल आर्थिक संकटमा फसेको दाबी गरे ।
‘आर्थिक संकट के कारणले उत्पन्न भयो, नेपाली समाजको सामार्थ्य कमजोर भएर आर्थिक संकट कमजोर भएको हो ? होइन । नेपाली समाजमा सामार्थ्य छ, तर त्यो सामार्थ्यलाई राज्य सञ्चालकहरुको गलत ढंगले प्रयोग गरेका कारणले आज मुलुक संकटमा छ, एक प्रकारले भन्नुहुन्छ भने जति बेला नेकपा एमाले सरकारमा आउँछ, हरेक पटक राजश्व वृद्धि हुन्छ । अहिले राजश्व नउठेर हालत चौपट भएको छ । त्यसको जिम्मेवारी अहिलेको गठबन्धनले लिनु पर्दैन ? गल्ती गर्ने सत्ता गठबन्धनले, प्रचण्ड देउवाको मिलेमतोमा मुलुकलाई आर्थिक संकटमा पुर्याउने, त्यसको भारी कसलाई बोकाइदिने भन्दा पुराना पार्टी सबै असफल भए भन्ने, असफल हुन एमालेका पालामा एमालेले नगरेको हुनपर्यो नि ?' उनले भने ।
