दरबार हत्याकाण्ड र मदन-आश्रित घटनाको नयाँ शिराबाट छानबिन गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको इतिहासमा भएका ठूल्ठूला हत्याकाण्डको नयाँ शिराबाट छानबिन गर्नुपर्ने पक्षमा आफू रहेको बताएका छन् । उनले विगतमा भएका घटना बिर्साउने प्रयास भइरहेको पनि बताएका छन् । 

दरबार हत्याकाण्ड र मदन-आश्रित घटनाको नयाँ शिराबाट छानबिन गर्नुपर्छ : प्रधानमन्त्री

प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा आम जनता पार्टीका सांसद प्रभु साहले गरेको प्रश्नको जवाफमा विगतमा भएका बीभत्स हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका हुन् ।

सांसद साहले गौर हत्याकाण्डको छानबिनका लागि प्रश्न सोधेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले गौर हत्याकाण्डसहित दरबार हत्याकाण्ड र मदन-आश्रित घटनाको छानबिन गर्नुपर्ने पक्षमा आफू रहेको बताए । 'गौर हत्याकाण्डको कुरा उठाउनुभयो । म चाहिँ के पक्षमा छु भने विगतका ती सबै बीभत्स र भयानक हत्याकाण्डहरूको नयाँ शिराबाट छानबिन हुनुपर्दद्धछ । चाहे त्यो गौरको केस होस्, चाहे त्यो भयानक दरबार हत्याकाण्ड नेपालको इतिहासकै सबैभन्दा बिभत्स हत्याकाण्डको पनि नयाँ शिराबाट छानबिन हुनुपर्दछ,' उनले भने, 'अहिले जे जसरी ती कुरालाई बिर्साउने कोसिस भइराखेको छ त्यसलाई हामीलाई गम्भीर रूपमा लिनुपर्छ भन्ने म ठान्दछु । मदान-आश्रितको बारेमा पनि नयाँ शिराबाट छानबिन हुनुपर्दछ भन्ने ठान्छु ।'

यी विषयमा सबैले परामर्श गर्नुपर्ने पनि दाहालको भनाइ थियो । ती विषयमा सबैले विचार विमर्श गरेर उपयुक्त बाटो पहिल्याउनुपर्ने प्रधानमन्त्रीले बताए । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा निधन भएको थियो ।

दरबार हत्यकाण्ड २०५८ जेठ १९ मा भएको थियो । दरबार हत्यकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह, युवराज दीपेन्द्र शाहलगायतको हत्या भएको थियो । राजा वीरेन्द्रको पूरै परिवारको हत्या भएपछि उनका भाइ ज्ञानेन्द्र शाह राजा भएका थिए ।

रौतहटको गौरमा २०६३ चैत ७ मा घटना भएको थियो । तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीनिकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले एकैदिन रौतहटको गौर नगरपालिका-५ स्थित राइस मिल्सको चौरमा आमसभा आयोजना गरेका थिए । सोही क्रममा २७ जनाको हत्या भएको थियो ।

प्रकाशित : जेष्ठ ४, २०८० १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?