१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

तक गाउँका एक्ला कटुवाल

आफूलाई गाउँको ‘पिउन’ बताउने भार्सेलाई स्थानीयले जिस्क्याएरै ‘नेताजी’ भन्छन्, उनी पनि मुसुक्क हाँसेरै नमस्ते फर्काउँछन्

पूर्वी रुकुम — भार्से कामीलाई ३१९ घरधुरी भएको तक गाउँमा कसको घरमा बिहे हुँदै छ, कसको घरमा पूजा चल्दै छ, कसको बारीमा जौ, मकै र आलु लगाइयो सप्पै थाहा हुन्छ । त्यति मात्रै होइन, कसैको बस्तुभाउ अर्काको बालीमा पसेर नाश गरे त्यसको जुर्मना भराउने काममा पनि उनी नभई हुन्न । नहोस् पनि किन, उनी पुथा उत्तरगंगा गाउँपालिका–१० तक्सेराको तक गाउँका एक्ला कटुवाल हुन् । 

तक गाउँका एक्ला कटुवाल

१५ वर्षअघि साउदी अरब गए पनि १० महिना मात्र रहे भने अर्को पटक कतार पुगे पनि ३ महिनामै कम्पनी बन्द भएकाले फर्किए । ती अवधि बाहेक १४ वर्षयता लगातार गाउँको खैखबरी सुनाउने कटुवाल भएका छन् उनी ।

स्थानीय तहको निर्वाचनपछि उनको भूमिका वडासँग पनि जोडिन थालेको छ । ५ वर्षमुनिका बालबालिकालाई स्थानीय स्वास्थ्य चौकीमा कहिले खोप लगाइन्छ, कहिले भिटामिन खुवाइन्छ, कहिले स्वास्थ्य शिविर चल्दै छ भन्ने सूचना पनि उनी टोलको चार कुनामा उभिएर चर्कोसँग कराएरै गाउँलेका कान–कानमा पुर्‍याउँछन् ।

आफूलाई गाउँको ‘पिउन’ बताउने भार्सेलाई स्थानीयले जिस्क्याएरै ‘नेताजी’ भनेर बोलाउँछन् । उनी पनि मुसुक्क हाँसेरै नमस्ते फर्काउँछन् । भार्सेका चार छोरामध्ये जेठो कतारमा छन्, माइलो दुबईमा । साइँलो र कान्छो छोरा खाडी जाने प्रक्रिया चाल्न घर छाडेर हिँडेको केही साता भयो । छोराहरू कमाउन लाखापाखा लागे पनि भार्से भने नामङै पहाडको फेदीमा ढुंगैढुंगाका परम्परागत शैलीका घरले भरिएको तकमा सूचना ओसारपसारमा रमाइरहेका छन् ।

भार्सेका अनुसार कटुवाल काम गरेबापत उनलाई प्रत्येक घरले ६ महिनामा प्रतिघर १ सय ६० रुपैयाँ उठाएर बुझाउँछन् । बूढाबूढी वा अपांगता भएका र आर्थिक आम्दानी केही नभएका परिवारले भने यस्तो शुल्क तिर्नु पर्दैन । प्रत्येक वर्षको वैशाख र कात्तिकमा घरधुरीका हिसाबले उनले पाउने पैसाले घर खर्च मात्र चलेको छैन, सानोतिनो व्यवहार पनि चलाउन सजिलो भएको छ । यसरी पैसा उठाउने तरिका पनि यहाँ मौलिक छ । घर–घरमै गएर पैसा उठाउनु पर्दैन, बरु त्यहाँका हरेक खलकका मुलीले आफ्नो खलकभित्रका घरधुरीको उठाएर बुझाउँछन् ।

वडा कार्यालय र स्थानीयको सहमतिमा तक गाउँमा केही नियम बनाइएका छन् । तीमध्ये केही नियमको पालना गराउने काम पनि भार्सेकै काँधमा छ । जस्तो कि कसैको गाई अर्काको बालीमा पस्यो भने उसले सय रुपैयाँ जरिवाना तिर्नुपर्छ । भेडा र बाख्राको हकमा भने यस्तो जुर्माना ५० रुपैयाँ मात्र तोकिएको छ ।

परम्परागत नियममा चलेको मगर खामभाषी बाहुल्य तकमा अर्को नियम छ, कसैको घर बनाउनु परे गाउँका सबै घरधुरीका एक सदस्य अनिवार्य श्रम गर्न जानैपर्ने । यस्तो कामलाई स्थानीयले झारा लगाउने भन्छन् । कसैले घर बनाउने योजना बनायो र सबैको श्रम चाहिने भयो भने यस्तो सूचना सारा घरधुरीमा पुर्‍याउने काम भार्सेले नै गर्नुपर्छ । यतिमै पनि उनको काम सकिँदैन । सूचना सुनाएपछि कुनै घरधुरीका मान्छे श्रम गर्न अथवा झारा लगाउन आएनन् भने तिनको नाम नामेसी टिपेर जरिवाना तिराउने काम पनि उनैले गर्नुपर्छ । भार्सेले सुनाए, ‘यस्तो जरिवाना भने प्रतिघरधुरी ६० रुप्याँ तोकिएको छ ।’


भार्सेको जिम्मेवारीको सूची लामो छ । नजिकैको नरसिंह खोलाबाट बालुवा ल्याउनुपरे स्थानीयले वडाबाट अनुमति लिनुपर्छ । कसैले यस्तो अनुमति नलिई बालुवा ओसारेको छ अथवा वडाले यस्तो अनुमति कुन बेला दिन्छ भन्ने सूचना पनि उनले गाउँलेकहाँ पुर्‍याउँछन् ।

तक गाउँका मगरका आफ्नै सांस्कृतिक परम्परा छन् । उनीहरू कात्तिक र चैतमा नजिकैको देवी थानमा कालो बोका चढाउँछन् । त्यसको प्रसाद सबैले खान्छन् । तर देवी थानमा पूजा हुने कुरा गाउँलेले थाहा पाउनका लागि भार्से कराउनै पर्छ । भन्छन्, ‘सुन हो, गाउँले हो, देवी थानमा पूजा छ । जान्ने, मान्ने, बुद्धिजीवी पूजाका लागि सबै जम्मा हुनुहोला ।’ नजिकैको सिद्धथानमा हरेक मंसिरमा भेडाको पाठो काटेर पूजा गर्ने चलन छ । जेठ अन्तिमतिर वा असारको पहिलो साता भूमे पूजा गरिन्छ । यस्तो पूजाको साइतबारे गाउँलेले भार्से कराएपछि नै थाहा पाउँछन् ।

कसैले मकै छरेपछि वा आलुको बीउ छरेपछि पनि भार्सेलाई नै खबर हुन्छ । अनि त उनले फलानोको बारीमा यस्तो–यस्तो छरिएको छ । त्यहाँ बस्तुभाउ जालान्, जरिमानामा परिएला है गाउँले हो भनेर कराइहाल्छन् । चाडपर्वको साइत, ग्रहण लागेका बेला मात्रै होइन, कसैको मृत्यु भइहाले विधिपूर्वक घाट लैजाने तयारीअघि उनले नै यस्तो सूचना गाउँभरि फैलाउँछन् ।


त्यतिबेला उनी घोक हालेर कराउँछन्– ‘फलानोको मृत्यु भएकाले झालीपुली गर्ने हो भने इच्छाले, दया धर्मले दाउरा लिएर जम्मा हुनु ।’ गाउँलेले नै भार्सेलाई कटुवाल नियुक्त गरेपछि सानो श्यामश्वेत मोबाइल किनेर दिएका छन् । उनको मोबाइलमा बज्ने धेरैजसो घण्टी कि त वडा कार्यालयको कि स्वास्थ्य चौकीको, कि त स्थानीयले केही सार्वजनिक सूचना सुनाउनुपरे नै बज्ने हो । भार्सेले सुनाए, ‘कहिलेकाहीँ विदेशतिर भएका छोराहरूले कल गर्छन्, नत्र त गाउँलेकै कामको फोन बज्ने हो ।’

वडाध्यक्ष भरत बुढाले कटुवाल परम्पराले गर्दा स्थानीयस्तरका सूचना सहजै घर–घरमा पुर्‍याउन सकिएको बताए । तक गाउँको परम्परागत घर शैलीका कारण पनि यो बस्ती एकै ठाउँमा गुजमुज्ज छ । त्यसैले त भार्सेलाई टोलको चार कुनामा गएर कराएपछि पुगिहाल्छ ।

प्रकाशित : जेष्ठ २, २०८० ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?