वातावरण प्रदूषण कम गर्न विद्युतीय सवारी प्रयोग गर्नैपर्छ : अध्यक्ष रायमाझी

'सरकारले १ लाख विद्युतीय गाडी शून्य भन्सार दरमा भित्र्याए पनि नेपाललाई फाइदा पुग्छ'

काठमाडौँ — दिगो क्लिन इनर्जीका अध्यक्ष राजन रायमाझीले वातावरणीय प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाडी प्रयोग बढाउनुपर्ने बताएका छन् । डिजेलबाट चल्ने गाडीभन्दा विद्युतीय गाडी निकै सस्तो हुने र वातावरण सुधारका लागि पनि निकै सहयोगी हुने भएकाले यसको प्रयोगमा जोड दिनुपर्ने रायमाझीले बताए । 

वातावरण प्रदूषण कम गर्न विद्युतीय सवारी प्रयोग गर्नैपर्छ : अध्यक्ष रायमाझी

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर ईभी डायलग २०२३’ अन्तर्गतको पहिलो सत्र ‘विज्ञले सुझाउने , उपभोक्तालाई बुझाउने’ मा बोल्दै रायमाझीले नेपालमा बिजुली गाडी चढ्ने कुरा निकै सहज र सस्तो भएको बताए ।

‘पछिल्लो समय बिजुली गाडी निकै सस्तो भएको छ । डिजेल पेट्रोलको तुलानमा बिजुली गाडी निकै सस्तो भएको छ । सिन्धुली रुटमा चल्ने बिजुली गाडीका लागि ३ सय रुपैयाँको बिजुली भए पुग्छ तर डिजेल गाडीको लागि ४ हजार रुपैयाँ लाग्ने गरेको छ, ’ उनले भने,‘कतिपय डिजेल गाडी प्रयोग प्रयोगकर्ताहरूका लागि बैंकको किस्ता तिर्न नै निकै समस्या परेको देखिन्छ । पछिल्लो समय पेट्रोलियम पर्दाथको मूल्य दिनानुदिन बढ्दै गएको छ यसले गर्दा पनि मानिसहरू ईभीतर्फ आकर्षित भइरहेका छन् ।’

बिजुली गाडी चलाउनेहरूले सबै खर्च कटाएर मासिक २ लाख ५० हजार कमाइरहेको पनि उनको दाबी छ । ‘नेपालमा विद्युतीय गाडीले सकारात्मक प्रभाव पारेको छ जस्तो लाग्छ । वातावरणीय पक्षको कुरा गर्दा काठमाडौंमा वार्षिक ५ हजार मान्छे प्रदूषणकै कारण मृत्यु भएको तथ्यांक पाएका छौं,’ उनले भने,‘ यो विश्व बैंकको रिपोर्टको तथ्यांक हो । पछिल्लो समय सरकारलाई राजश्व कम भएका कारण विद्युतीय गाडीमा ट्याक्स बढाउनपर्छ भन्ने पनि सुनिन्छन् । यसमा विश्व बैंककै रिपोर्टलाई आधार मानेर भन्ने हो भने नेपालको प्रदूषण शुल्क वार्षिक ३.१ बिलियन रहेको छ । जुन हाम्रो जीडीपीको लगभग १३ प्रतिशत हुन आउँछ ।’

सरकारले १ लाख विद्युतीय गाडी शून्य भन्सार दरमा भित्र्याए पनि नेपाललाई फाइदा पुग्ने उनको भनाइ छ । सिन्धुली रुटमा विद्युतीय गाडी चल्न थालेपछि यात्रुहरू पनि यसमा निकै आकर्षित भएको उनको भनाइ छ । ‘विद्युतीय गाडीको भाडा सस्तो पनि छैन । तर पनि मानिसहरू यसमा आकर्षित भएका पाएँ । कारण खोज्दै जादा यसको मोसन सिक्नेस कम हुने भएका कारण पनि रहेछ भन्ने मलाई लाग्यो,’ उनले भने, 'विद्युतीय गाडीको प्रभाव उच्च छ भन्नेमा कुनै शंकै छैन ।'

सिन्धुली रुटमा चल्ने २ सय वटा मिनी भ्यानको १० वर्ष आयु राखे पनि यसले डिजेलमा ३ अर्बभन्दा बढी बचत गर्ने उनको दाबी छ । सिपिङ लागत, बैंकिङ लागतका कारण पनि नेपालमा विद्युतीय सवारीको लागत बढी हुने गरेको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ १, २०८० १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?