कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

विद्युतीय सवारीमा सरकारी सहुलियत भएन : उत्तमबाबु श्रेष्ठ 

काठमाडौँ — वातावरण विज्ञ उत्तमबाबु श्रेष्ठले पछिल्लो समय विश्वमा विद्युतीय सवारीको प्रयोग उच्च दरमा बढिरहँदा नेपालमा त्यो सुस्त भएको बताएका छन् । छिमेकी देशमा एउटै ब्रान्डको विद्युतीय गाडी पेट्रोलियमभन्दा सस्तो हुँदा हामीकहाँ सरकारी सहुलियत नभएकाले उल्टो अवस्था रहेको बताए । 

विद्युतीय सवारीमा सरकारी सहुलियत भएन : उत्तमबाबु श्रेष्ठ 

कान्तिपुर ईभी डायलग २०२३ को पहिलो सत्र 'विज्ञले सुझाउने, उपभोक्तालाई बुझाउने' विषयक कार्यक्रममा वातावरण विज्ञ श्रेष्ठले विद्युतीय गाडीको संख्या नेपालमा बढ्दै गए पनि सरकारी नीतिमा सुधार आवश्यक रहेको औंल्याए । ‘नेपालमा अटोमोबाइलको ग्रोथ रेट वार्षिक १५ प्रतिशतले बढिरहेको छ,’ उनले भने, ‘हाल विद्युतीय गाडी भने कुल सञ्चालन संख्यामा एक प्रतिशतभन्दा कम छ । विद्युतीय रिक्साहरूलाई पनि गणना गर्दा कुल विद्युतीय सवारी जम्मा ५० हजारजति छन् ।’

श्रेष्ठले पछिल्लो समय वातावरण, आर्थिक पक्ष र ऊर्जाका विषयमा बढ्दो सचेतनाका कारण विद्युतीय सवारीको प्रयोग बढिरहेको बताए । बिजुलीबाट चल्ने सवारीको बिक्री वार्षिक १५ प्रतिशतले बढिरहेको तथ्यांक पेश गर्दै उनले भने, ‘सन् २०१२ मा बजारमा जम्मा १ लाख २० हजार कार विद्युतीय थिए भने आज सातामै त्योभन्दा बढी विद्युतीय कार बिक्री भइरहेका छन् । सन् २०३० सम्ममा विश्वभर २० करोड र सन् २०५० मा १ अर्ब विद्युतीय कार बिक्री हुने अनुमान छ ।

वातावरण विज्ञ श्रेष्ठले आजभन्दा १२३ वर्षअघि नै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा पेट्रोलियम कारभन्दा स्टिम इन्जिन र विद्युतीय कार बढी चल्ने गरेको रोचक तथ्य सुनाएका थिए । उनले २० औं शताब्दीमा फोर्ड ब्रान्डले द मोडल टी कार बजारमा ल्याएपछि पेट्रोलियम कारले विद्युतीय कारलाई विस्थापित गरेको बताए । ‘सन् २००० मा जलवायु परिपर्वतन, ग्रिनहाउन ग्यास इमिसनलगायतका कुरा उठेपछि पुनः विद्युतीय कारतिर हामी फर्किएका हौं,’ उनले भने, ‘सन् २०१२ पछि निसान लिफ, टेस्लाहरू आए । त्यसपछि विद्युतीय कारको पुनरागमन भएको हो ।’

प्रकाशित : जेष्ठ १, २०८० १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?