२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

आरआर क्याम्पसको परीक्षा छानबिन गर्न सांसद सापकोटाको माग

'नक्कली भुटानी शरणार्थी प्रकरणको विषयलाई कमजोर पार्न अरु विषय उठाउनु भनेको अन्ततः भ्रष्टाचारलाई नै मद्दत पुर्‍याउने हो'

काठमाडौँ — काठमाडौं प्रदर्शनीमार्गस्थित त्रिभुवन विश्वविद्यालयको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा विद्यार्थीको नतिजामा भएको त्रुटीको छानबिन गर्नुपर्ने माग संसद्‌मा उठेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्यार्थीको परीक्षामा त्रुटि गर्ने जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्न पनि माग गरेका छन् । 

आरआर क्याम्पसको परीक्षा छानबिन गर्न सांसद सापकोटाको माग

सांसद सापकोटाले सरकारको ध्यानार्कषण गराउँदै छानबिन गरी दोषी उपर कारबाही हुनुपर्ने बताए । ‘त्रिभुवन विश्वविद्यालय र आरआर क्याम्पसको लापरबाहीले ५ सय भन्दा बढी विद्यार्थीको भविष्यमा प्रश्न चिह्न खडा भएको छ, उनीहरूको जीवनमाथि नै खेलबाड भएको छ,’ उनले भने, ‘ढिला परीक्षा लिने, ढिला नतिजा निकाल्ने अनि ५ सय विद्यार्थीको नतिजामा अनुपस्थिति उल्लेख गरिएको छ ।’

आन्तरिक परीक्षामा विषय शिक्षकले दिएको अंकसमेत फेरबदल गरिएको विषयमा छानबिन गर्न त्रिभुवन विश्वविद्यालयको समेत ध्यानाकर्षण गराए । ‘परीक्षा नियन्त्रण कार्यालयले क्याम्पसलाई, क्याम्पसले परीक्षा नियन्त्रण कार्यालयलाई दोष दिएर उम्कन मिल्दैन,’ सांसद सापकोटाले भने ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह बीए प्रथम वर्ष ब्याच २०७७ का विद्यार्थीको नतिजा १४ महिना लगाएर सार्वजनिक गरेको थियो । वैशाख १० गते प्रकाशित नतिजामा ५ सय भन्दा विद्यार्थीको नतिजामा अनुपस्थिति जनाइएको छ भने विषय शिक्षकले दिएको अंकमा समेत थपघट गरिएको पाइएको छ । पीडित विद्यार्थी आन्दोलित बनेका छन् । परीक्षा शाखाले गरेको लापरबाहीको क्याम्पस प्रशासनले संरक्षण गर्दै आएको छ । विद्यार्थी क्याम्पसको लापरबाहीले फेल भएपछि समस्यामा परेका छन् ।

त्यस्तै, सांसद सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कमजोर पार्नका लागि विषयान्तर हुन लागेको भन्दै ध्यानाकर्षण गराएका छन् । अन्य भ्रष्टाचारका मुद्दा पनि खोल्नुपर्ने भन्ने तर्कले अहिले छानबिन भइरहेको मुद्दाको टुंगो सही ढंगले नलाग्ने उनको भनाइ छ । 'भ्रष्टाचारका बारेमा सिंगो देश र अन्तर्राष्ट्रिय जगत बहसमा छ । अहिले मानव तस्करसहित जोडिएको विषय अगाडि आएको छ । सम्पूर्ण रूपमा देश केन्द्रित भएर यसलाई निष्कर्षमा पुर्‍याइनुपर्छ,' उनले भने, 'त्यसपछि क्रमशः अरु विषयमा जानुपर्छ । नकि विषयलाई विषयान्तर गर्ने र यो विषयलाई कमजोर पार्नका लागि अरु विषय उठाउनु भनेको अन्ततः भ्रष्टाचारलाई नै मद्दत पुर्‍याउने हो । अहिले मानव तस्करसहितको चलिरहेको विषयलाई निष्कर्षमा पुर्‍याएर थप फायर खोल्नतर्फ सरकार जाओस् ।'

प्रकाशित : जेष्ठ १, २०८० १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?