२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

१४ महिनामा नतिजा, ५ सय मार्कसिटमा त्रुटि

आरआर क्याम्पसका विद्यार्थीको नतिजामा ‘अनुपस्थित’ र अंक थपघट
विषय शिक्षकले पठाएको अंकको सूची सार्वजनिक गर्न विद्यार्थीको माग
परीक्षा नियन्त्रक भन्छन्, ‘विद्यार्थी मर्कामा पर्नु हुँदैन, त्यस्तो रहेछ भने सुधार हुन्छ’
सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले १४ महिना लगाएर सार्वजनिक गरेको स्नातक तह पहिलो वर्षको नतिजामा त्रुटि आएपछि रत्नराज्यलक्ष्मी क्याम्पसका ५ सयभन्दा बढी विद्यार्थी आन्दोलित छन् । २०७८ फागुनमा अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका आरआरका अधिकांश विद्यार्थीको मार्कसिटमा ‘अनुपस्थित’ जनाइएको छ ।

१४ महिनामा नतिजा, ५ सय मार्कसिटमा त्रुटि

१०० पूर्णांकको अंग्रेजी विषयमा ७० अङ्कको बाह्य र ३० अङ्कको आन्तरिक परीक्षा सञ्चालन भएको थियो । बाह्यतर्फको परीक्षा त्रिविले सञ्चालन गर्छ भने आन्तरिकतर्फ कक्षा उपस्थिति, कक्षा कार्यलगायत शीर्षकमा विषय शिक्षकले अंक दिने व्यवस्था छ । ‘म हरेक दिन क्याम्पस जान्छु, कक्षा लिन्छु, बाह्य परीक्षामा राम्रो अंक आएको छ तर आन्तरिकमा अनुपस्थित देखाइएकाले फेल भएँ,’ एक छात्राले भनिन्, ‘क्याम्पसको लापरबाहीले यस्तो भयो ।’

मार्कसिटमा त्रुटि भएपछि विभिन्न छात्रवृत्तिमा आवेदन दिन पाउने अवसरबाट विद्यार्थी वञ्चित हुने भएका छन् । ‘पहिले समयमा रिजल्ट भएन, १४ महिना कुरेपछि रिजल्ट आउँदा अनुपस्थित जनाएर आयो,’ ती छात्राले कान्तिपुरसँग भनिन्, ‘त्रिवि र आरआर क्याम्पसको सिस्टमले गर्दा हाम्रो भविष्यमाथि खेलबाड भयो । दुई दिनमा नतिजा सच्याउँछौं भनेका थिए, २०/२१ दिन भइसक्यो केही भएको छैन ।’ कार्यालयले वैशाख दोस्रो साता नतिजा सार्वजनिक गरेको थियो ।

आन्तरिक परीक्षामा ५० प्रतिशतभन्दा बढी विद्यार्थीको अंक गडबड भएर नतिजा सार्वजनिक भएको विषय शिक्षकहरूले पनि बताएका छन् । करिब १८ सय जनामा ९० प्रतिशतको नतिजा त्रुटि भएको दाबी विद्यार्थीले गरेका छन् । अंग्रेजी विषयका अध्यापक लोकनाथ कोइरालाले करिब ५० प्रतिशत विद्यार्थीको नतिजा बिग्रिएको हुन सक्ने अनुमान गरे । अन्य विषयको नतिजामा पनि चित्त नबुझेर २०७७ को उक्त ब्याचका धेरै विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएका छन् ।

धेरैको नतिजामा त्रुटि भेटिएपछि परीक्षार्थी संगम राईको संयोजकत्वमा संघर्ष समिति बनाएर आन्दोलनको घोषणा गरिएको छ । विद्यार्थीले नतिजा बिगारिदिएकामा व्यंग्य गर्दै क्याम्पस प्रमुख जीवनधर ज्ञवालीलाई फूलमाला लगाइदिएको राईले बताए । ‘विषय शिक्षकले मलाई आन्तरिक परीक्षामा २५ नम्बर दिएको छु भन्नुभएको छ, १३ नम्बरभन्दा थोरै कसैलाई दिएको छैन भनिएको छ तर मार्कसिटमा १२ मात्र आएको छ,’ उनले भने, ‘धेरै साथीको मार्कसिटमा अनुपस्थित छ ।’

क्याम्पस प्रशासनले परीक्षा नियन्त्रण कार्यालयमा गलत अंक पठाएका कारण त्रुटि भएको उनले जनाए । ‘बाह्य परीक्षामा ७० पूर्णाङ्कमा ५८ ल्याउने विद्यार्थीको आन्तरिकमा १४ मात्र आएको छ,’ एक अध्यापकले भने, ‘कहिल्यै कक्षामा नआउने तर बाह्य परीक्षामा २० नम्बर ल्याएका विद्यार्थीको आन्तरिकमा २५ अंक पनि आएको छ ।’ क्याम्पसको परीक्षा शाखाका कर्मचारीले लापरबाही गरेका कारण अस्वाभाविक अंक दिने र अनुपस्थित गराउने काम भएको उनले जनाए ।

५० प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा आफूले दिएको नम्बरभन्दा फरक आएको शिक्षकहरूको भनाइ छ ।

कोइरालाले भने, ‘हामीले परीक्षा सञ्चालन गरेर परीक्षामा शाखामा नम्बर बुझाएका थियौं । इन्ट्रीमा प्रशासनिक त्रुटि भयो होला ।’

परीक्षा शाखामा विषय शिक्षकले बुझाएको नम्बर लिस्टसमेत नभेटिएको क्याम्पस स्रोतले जनाएको छ । विद्यार्थीको नतिजा बिग्रेपछि क्याम्पसले परीक्षा नियन्त्रण कार्यालयमा प्रतिनिधिसमेत पठाएको थियो । ‘परीक्षा नियन्त्रण कार्यालयले नम्बर घटीबढी भएको सच्याउन मिल्दैन, अनुपस्थिति भएका विद्यार्थीलाई चाँहि अर्को पटक नम्बर दिन मिल्छ भनेको छ,’ कोइरालाले भने ।

क्याम्पस प्रमुख ज्ञवालीले भने त्रुटिको ढाकछोप गरे । ‘१८ सय/२ हजार विद्यार्थीमा २/४ जनाको त्रुटि हुनु सामान्य हो । परीक्षा नियन्त्रण कार्यालयसँग कुरा भएको छ, मर्कामा परेका विद्यार्थीको सुधार हुन्छ,’ उनले भने । धेरै विद्यार्थी कक्षामा उपस्थित नहुने कारण पनि समस्या भएको उनको दाबी छ । विद्यार्थीले भने सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग राखेका छन् । त्यसका लागि शिक्षकले बुझाएको अंक सार्वजनिक गर्न आग्रह गरिएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले क्याम्पसले पठाएकै तथ्यांकमा त्रुटि रहेकाले समस्या भएको दाबी गरेका छन् । ‘हामीले अंक थपघट गर्न मिल्दैन, विद्यार्थी मर्कामा पर्नु हुँदैन, त्यस्तो रहेछ भने सुधार हुन्छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ १, २०८० ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?