२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

दाहाल, देउवा र ओलीबीच संसद् सञ्चालनबारे छलफल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्को गरी भीआईपीहरू पक्राउ पर्न थालेपछि प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच निरन्तर भेटघाट भइरहेको छ ।

दाहाल, देउवा र ओलीबीच संसद् सञ्चालनबारे छलफल

दाहाल, देउवा र ओलीबीचको भेटलाई सर्वसाधारणले भ्रष्टाचारीलाई बचाउमा केन्द्रित भएको हुनसक्ने आशंका गरिरहेका बेला नेताहरूले संसद् सञ्चालनका विषयमा मात्रै छलफल भएको दाबी गरेका छन् । बुधबार सिंहदरबारमा भएको भेटमा तीन नेताहरूबीच संसद् सञ्चालनका विविध विषयहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए । ‘बजेटको तयारी छ, नीति तथा कार्यक्रम संसद्‍मा प्रस्तुत गर्नुपर्नेछ । संसदीय समितिका सभापतिहरू चयन गर्नुपर्नेछ,’ उनले भने, ‘आजको छलफल अचानक होइन, पूर्वनिर्धारित हो । भेटमा संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने विषयहरुमै छलफल भयो ।’

उनले भेटमा भुटानी शरणार्थी प्रकरणबारे भने कुनै पनि छलफल नभएको दाबी गरे । मंगलबार पनि सिंहदरबारमै भेटवार्ता गरेका दाहाल, देउवा र ओलीबीच बुधबार पनि घण्टौँसम्म छलफल भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहानमात्रै कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

प्रकाशित : वैशाख २७, २०८० १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?