कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालीलाई शरणार्थी बनाएर बेच्‍नेहरू 'हेर प्रचण्डको हालत' भन्थे : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्ताहरूलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् । नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा विघटनपछि जनताको बलमा 'प्रतिगमन' परास्त गरिएको बताए ।

नेपालीलाई शरणार्थी बनाएर बेच्‍नेहरू 'हेर प्रचण्डको हालत' भन्थे : प्रधानमन्त्री दाहाल

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका बारेमा पनि प्रधानमन्त्री दाहालले अभिव्यक्ति दिएका छन् । प्रतिनिधिसभा विघटनका क्रममा सत्तामा रहेकाहरूले नेपालीलाई भुटानी शरणार्थी बनाएर बेचेको दाहालको भनाइ छ ।

'दुई पटक प्रतिनिधिसभा विघटनमात्रै होइन, संविधान विघटन थियो । प्रतिगमनको तयारी थियो । संविधान च्यातिन्छ कि भन्ने लागेको थियो । हामीले त्यसका विरुद्ध मोर्चा खोल्यौं । त्यतिबेला मोर्चा खोल्दा मानिसहरूलाई केही अनौठो लागेको थियो । हामी केही नेता माइतीघरको पिचमा पलेटी कसेका थियौं,' उनले भने, 'त्यतिबेला एक सय, डेढ सय पनि जुटाउन गाह्रो परेका थियो । त्यतिबेला सरकारमा हुनेहरूले र अहिले भुटानी शरणार्थी बनाएर बेच्ने मध्येकाहरूले 'हेर त चिसो बाटोमा बिहान-बिहान पुसमा बस्या, प्रचण्डको हालत त यस्तो पुग्यो' भन्थे तिनले । सम्झिनुभएको छ ?'

नेपालीलाई भुटानी शरणार्थी बनाएर रकम असुल गर्ने प्रकरणमा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ मा दुई पटक प्रतिनिधिसभा विघटन गर्दा रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा, गैरीशंकर चौधरीलगायत नेताहरू एकतापूर्वको पार्टी माओवादीमा नफर्किएर एमालेमा गएका थिए । नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणका विषयमा पछिल्लो तीन दिनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाललाई दुई पटक भेटेर चासो राखेका छन् ।

कार्यकर्ताहरूलाई सम्बोधन गर्दै दाहालले थपे, 'तर, त्यसको केही समयपछि लाखौं जनता एकपटक होइन, तीन पटक सडकमा उत्रिए । उनीहरूको सम्पूर्ण प्रतिगमन र विघटनका षड्यन्त्र परास्त भए । नेपाली जनता विजयी भए ।'

वर्तमान अवस्थामा माओवादी एकजुट हुनुपर्ने आवश्यकता रहेको पनि दाहालको भनाइ थियो । माओवादी कमजोर हुनुमा एकताबद्ध नहुनु रहेको उनको भनाइ थियो । 'माओवादी कमजोर भएको छ, ३२ सिट छ । हाम्रो नाम ३२ सिटे भएको छ । हामी एकताबद्ध भयौं भने बहुमत हुनेछ, नेपाल कब्जा हुनेछ,' उनले भने ।

प्रकाशित : वैशाख २३, २०८० १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?