कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
कर्णाली विमर्श

कसले बनायो कर्णालीलाई परनिर्भर ?

‘हिउँदमा किन्याको सेतो चामलले परान धानियो, हामीकन त सधैं पेट पाल्नकै टन्टा छ’
४० को दशकसम्म कोदो, फापर, चामल, सातु र उवालगायत रैथाने खाद्यान्न तिब्बत निर्यात हुन्थ्यो, मरुभूमिजस्तो तिब्बती पठार अहिले हरियाली छ, हाम्रो कर्णाली मरुभूमि बन्दै छ
सरकार कृषि प्रविधि सिकाउन, सिँचाइ पूर्वाधार बनाउन र मल व्यवस्था गर्नभन्दा चामलका बोरा पठाएर लोकप्रियता कमाउन अग्रसर छ, ठेक्कापट्टामा हरेक वर्ष कमिसनको खेल हुन्छ
तुलाराम पाण्डे

कालीकोट — पलाता गाउँपालिका–१, धौलागोहका जन्मदेव न्यौपानेको ७ रोपनी खेतमा गत वर्ष मुस्किलले एक बोरा (५० किलो) धान फल्यो । पहिले यही खेतमा उनी वार्षिक १० बोरा धान फलाउँथे । ‘यसपालि बीउ गतिलो नहुँदा धानको गेडा लागेन, सबै पलाटो मात्र भयो,’ उनले भने, ‘हिउँदमा किन्याको सेतो चामलले परान धानियो, हामीकन त सधैं पेट पाल्नकै टन्टा हुन्छ ।’

कसले बनायो कर्णालीलाई परनिर्भर ?

लेक र घरनजिक उनको पाखोबारीमा ३ बोरा मकै, २ बोरा कोदो, ३ बोरा आलु, ५० बोरा फापर र ४० किलो सिमी पनि उत्पादन भएको छ तर उनी तिनलाई खाद्यान्नका रूपमा लिँदैनन् । भन्छन्, ‘खाना भनेको त भातै हो, त्यसैले अरू अन्न बेचेर पनि चामलै किन्छौं ।’

चामल ढुवानी गर्ने खच्चडलाई दानाका रूपमा मकै बेचेका न्यौपानेले रोटी खान परिवारका सदस्यले मन नगर्ने भएकाले भातको जोहो गर्नुपर्ने सुनाए । ‘पशुबस्तु पाल्न छाडियो, गोरस (दूध, दही, मही) बिना रोटी गलामा छिर्दैन,’ उनले भने, ‘भात पकाउन र खान पनि सजिलो भएकाले सबैको रोजाइ चामल हुने गरेको छ ।’

आफ्नो खेतबारीमा फलेको रैथाने अनाज बेचेर बजारको सेतो चामल खाने जन्मदेव एक्ला होइनन् । कर्णालीवासी आयातीत चामलमा निर्भर छन् । स्थानीय उत्पादनलाई खाद्यान्नका रूपमा नलिइने र बजारको सेतो चामल खरिद गर्ने प्रवृत्तिले कर्णाली भोकमरीको पर्याय बन्ने गरेको छ । गाउँ–गाउँमा सडक पुगेपछि त चामल खरिद गर्न सहज भएको छ । ‘पहिले त चामल किन्न मान्म (सदरमुकाम) पुग्नुपर्थ्यो, अचेल गाउँमै पाइन्छ,’ लार्फगाउँका धनञ्जय विश्वकर्माले भने, ‘थिर्पु बजारमा सेतो चामल फालाफाल छ, केही व्यापारीले त खच्चडबाट गाउँमै पुर्‍याउँछन् ।’

सिमीसँग चामल साट्न कालीकोटको नाग्म पुगेका जुम्ला, हिमाका परिमल नेपालीलाई पनि चामलबाहेक अरू खाना खाएजस्तो लाग्दैन । उनी घरमा उब्जेको सिमी, फापर, मकै बेचेर चामल किन्छन् । मजदुरी गरेको पैसा पनि चामल किन्नमै खर्च हुन्छ । ‘चामल नपाइने बेला रोटा (रोटी) खान्थ्यौं, अचेल भात खाने बानीले रोटा त नास्तामात्र हुन्छ,’ उनले भने ।

परम्परागत कृषि प्रणाली, मल र सिँचाइको अभावमा कणालीमा खाद्यान्न उत्पादन नै कम हुन्छ । त्यसमा पनि भोकमरी न्यूनीकरणका लागि सरकारले ५० को दशकदेखि ढुवानी अनुदानमा चामल पठाउने क्रम बढेपछि कर्णालीवासी खाद्यान्नमा परनिर्भर हुन थालेका हुन् । सरकार पनि कृषि प्रविधि सिकाउन, सिँचाइ पूर्वाधार बनाउन र मलको व्यवस्था गर्नभन्दा सिधै चामलका बोरा पठाएर लोकप्रियता कमाउन अग्रसर छ, यसमा ठेक्कापट्टाबाट हरेक वर्ष कमिसनको खेल पनि हुन्छ । तर, यसले मिहिनेती कर्णालीवासीलाई परनिर्भर बनाएको छ ।

हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष न्याम्ग्याल लामाका अनुसार २०४० सालसम्म कर्णालीको विकट हिमाली जिल्ला हुम्लाबाट चीनको स्वशासित क्षेत्र तिब्बतमा कोदो, फापरको पिठो, चामल, सातु र उवालगायत खाद्यान्न जान्थ्यो । सीमा क्षेत्रका बासिन्दा आफूसँग भएको खाद्यान्न सञ्चित गरी चीन पुर्‍याउने र उताबाट नुन, ऊन तथा भेडा–च्यांग्रा ल्याएर जीविकोपार्जन गर्थे । ‘चार दशकमै ठूलो परिवर्तन आयो, अहिले त हुम्लावासी नै चिनियाँ खाद्यान्नको भर पर्नुपरेको छ,’ उनी भन्छन्, ‘मरुभूमिजस्तो तिब्बती पठारमा अहिले जताततै हरियाली छ, हाम्रोतिर चाहिँ खेती हुन छाडेपछि जमिन मरुभूमिजस्तै बनेका छन् ।’

तर राज्यले रैथाने बालीको प्रवर्द्धन छाडेर कर्णालीवासीलाई चामलको भरमा राख्न थालेपछि खाद्यान्नको आयात बढिरहेको छ । सरकारी तथ्यांकअनुसार कर्णालीका ६ जिल्ला कालीकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पा र जाजरकोट खाद्यान्नमा परनिर्भर छन् । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कालीकोटमा वार्षिक ११ हजार ७ सय ७५ मेट्रिक टन, जाजरकोटमा २ हजार ९७ मेट्रिक टन, डोल्पामा २ हजार ७ सय ८७ मेट्रिक टन, जुम्लामा ७ हजार ३० मेट्रिक टन खाद्यान्न अपुग हुन्छ । त्यस्तै हुम्लामा ८ हजार २ सय ७३ मेट्रिक टन र मुगुमा ५ हजार ४ सय ४४ मेट्रिक टन खाद्यान्न बर्सेनि अपुग हुन्छ । सुर्खेत र दैलेखले आवश्यकता पूरा हुने गरी खाद्यान्न उत्पादन गर्छन् भने सल्यानले १३ हजार ९ सय टन र रुकुमपश्चिमले ४ हजार १ सय टन खाद्यान्न सञ्चित गर्छन् ।

मन्त्रालयका कृषिविज्ञ धनबहादुर कठायत माथिल्लो कर्णालीमा तुलनात्मक रूपमा खाद्यान्न उत्पादन कम हुने गरे पनि स्थानीयवासी चामलको भर पर्दा खाद्यान्न संकट गहिरिएको बताउँछन् । राष्ट्रिय जनगणना (२०७८) अनुसार कर्णालीको जनसंख्या १६ लाख ८९ हजार ४ सय १२ छ । मन्त्रालयको तथ्यांकमा कर्णालीमा बर्सेनि १९ हजार मेट्रिक टनभन्दा बढी खाद्यान्न अपुग हुने गरेको छ । समग्रमा कर्णाली प्रदेशमा बर्सेनि ३ लाख ५२ हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्नेमा ३ लाख ३२ हजार मेट्रिक टनभन्दा बढी उत्पादन हुने गरेको छ ।

‘कर्णालीमा सेतो चामललाई मात्र खाद्यान्न मान्ने चलन छ, यसले गर्दा बर्सेनि अन्न उत्पादन पनि घटिरहेको छ,’ खाद्य अधिकारका लागि नागरिक मञ्च कर्णाली संयोजक मायालाल महतारा भन्छन्, ‘स्थानीयस्तरमा उत्पादन हुने कोदो, मकै, फापर, चिनो र कागुनोलाई खाद्यान्नका रूपमा प्रयोग गर्दा परनिर्भरता घट्न सक्छ ।’

विगतमा कर्णाली खाद्यान्नमा मात्र होइन, लत्ताकपडामा पनि आत्मनिर्भर थियो । पर्याप्त पशुपालन हुने भएकाले मलको समस्या थिएन । भेडाको ऊनबाट राडीपाखी, स्विटर, कोट, टोपी बन्थे । कपासबाट ठिटुवाका कपडा तयार हुन्थे । ‘अहिले त यी सबै एकादेशका कथाजस्तै भए, सबै कुरामा बाहिरको भर पर्नुपर्ने अवस्था आयो,’ मान्म बजारका पुजारी जयचन्द्र अधिकारीले भने ।

साढे ८ हजार फिट उचाइमा अवस्थित जुम्लाको छुमचौरमा मार्सी धान फल्छ तर अचेल त्यहाँका किसानले धानमा ब्लास्ट रोग लागेको भन्दै खेती घटाएका छन् । मार्सीको साटो अन्य विकासे धान रोप्न थालेको कृषिविज्ञ वेदप्रसाद चौलागाईंले बताए । कालीकोटको रास्कोटसहित आठबीस दरा र जुम्लाको सिंजा धान उत्पादनमा राम्रो क्षेत्र हो । पहिले यहींबाटै कर्णालीका अन्य जिल्लामा खाद्यान्न आपूर्ति हुन्थ्यो । अहिले त्यहाँका स्थानीयसमेत बजारबाट सेतो चामल किनेर खानुपर्ने बाध्यतामा छन् । पचालझरना–८ का देवीदास सन्ज्याल सरकारी अनुदानको चामल पाइन थालेपछि उत्पादनमा ह्रास आएको बताउँछन् । ‘उर्बर अनाज फल्ने यी क्षेत्रको अवस्थासमेत अहिले सुक्खा क्षेत्रका रूपमा परिचित पलाताको जस्तै भएको छ,’ उनले भने ।

रास्कोट नगरपालिकाका पूर्वमेयर काशीचन्द्र बराल कर्णालीको भोकमरीमा पञ्चायतकालदेखि नै राजनीति हुने गरेको बताउँछन् । सरकारले भोकमरी निवारण गर्ने भन्दै अनुदानमा चामल दिने गरेको र स्थानीय राजनीतिज्ञले चामल लगेर चुनावमा भोट बढाउने गरेको उनको भनाइ छ । अनुदानको चामल र विश्व खाद्य कार्यक्रमको ‘कामका लागि खाद्यान्न’ कार्यक्रम आएपछि त कृषकले मन लगाएर खेतीपाती गर्न छाडेको उनको भनाइ छ । ‘अचेल त धेरैजसोले दिनको तीन पटक भात खान्छन्, दिउँसोको नास्ता पनि भातै हुन्छ,’ उनले भने, ‘फापर, चिनो, कागुनो, कोदो कता हरायो कता ।’

कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाउन गाउँ–गाउँमा कृषि विद्यालय सञ्चालन गर्नुपर्ने, निर्वाहमुखी खेती प्रणालीको साटो आवश्यक कृषि औजार, उन्नत बीउ, प्रांगारिक मल र सिँचाइको व्यवस्था गरी व्यावसायिक खेतीमा कृषकलाई जोड्नुपर्ने उनको भनाइ छ । कर्णालीको भूगोललाई विस्तृत अध्ययन गरेर पशुपालनको पकेट क्षेत्र, खाद्यान्नको पकेट क्षेत्र र फलफूलको पकेट क्षेत्रका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ ।

सडक पूर्वाधारका कारण कर्णालीका दुर्गम जिल्लामा सेतो चामल पुग्न थाले पनि सरकारी अनुदानको चामलको माग भने घटेको छैन । कोरोना कहरपछि ढुवानी अनुदानको चामलको माग बढेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको भनाइ छ । विगतमा माथिल्लो कर्णालीका सडक पुगेका जिल्लामा सरकारले ढुवानीमा अनुदान दिने गरेको चामल बिक्री नभएर मौज्दात हुन्थ्यो । गत वर्षदेखि बजारमूल्य बढेकाले सरकारी कोटाको चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतका प्रमुख माधव मिश्रका अनुसार यस वर्ष निर्धारित कोटाको चामल ७० प्रतिशत ढुवानी भएको छ । थप कोटा पनि माग भएको उनले बताए । ‘हामीले बिक्री गर्ने चामल बजारको भन्दा सस्तो र गुणस्तरीय हुने भएकाले माग बढेको छ,’ उनले भने ।

यस वर्ष कालीकोटको मान्म शाखाका लागि ४ हजार ५ सय क्विन्टलमध्ये ४ हजार क्विन्टल चामल ढुवानी भइसकेको छ । मिश्रका अनुसार जुम्लाका लागि २ हजार ५ सय कोटा तोकिएकामा १ हजार ७ सय क्विन्टल थपिएको छ । मुगुका लागि २ हजार ५ सय क्विन्टल स्वीकृत भएकामा १ हजार ७ सय क्विन्टल थपिएको छ । हुम्लामा २ हजार क्विन्टल हवाई मार्गबाट र १ हजार ५ सय क्विन्टल स्थलमार्गबाट ढुवानी गर्नुपर्नेमा ३ सय क्विन्टल ढुवानी गर्न मात्र बाँकी रहेको मिश्रले जानकारी दिए ।

सरकारले झन्डै ६० वर्षदेखि चामल ढुवानीमा अनुदान दिने गरेको छ । सुरुमा निःशुल्क दिएर जनतालाई चामल लिन बानी लगाएको सरकारले केही दशकयता ढुवानी अनुदानमा चामल बिक्री गर्दै आइरहेको छ । कर्णालीको चामल ढुवानीका नाममा स्थानीय उपभोक्ताभन्दा बढी लाभ ढुवानीकर्ताले लिने गरेको हुम्लाका नागरिक अगुवा जनक बुढाले बताए । सुक्खा क्षेत्र धेरै भएका र पशुपालनमा कमी हुँदै गएको कर्णालीमा २०२० सालमा राजा महेन्द्र जुम्ला हुँदै रारा भ्रमणमा आएपछि स्थानीयको खाद्य समस्या बुझेर २०२४ देखि जुम्लामा जहाजबाटै चामलका बोरा खसालेर सरकारले कर्णालीमा ढुवानी अनुदानको खाद्य दिन थालेको हो ।

जहाजबाट खसालिएको खाद्यान्नका बोरा फुटेर हारालुछ भएपछि व्यवस्थित गर्न जहाजमै प्यारासुट फिट गरेर खाद्यान्नका बोरा झार्न थालिएको जुम्लाका समाजसेवी रमानन्द आचार्यले बताए । उनका अनुसार प्यारासुटबाट खसालिएको खाद्यान्न पनि भरपर्दो नभएपछि राजा महेन्द्रकै पालामा २०२७ जेठमा जुम्लामा खाद्य संस्थान स्थापना भयो । जुम्लाबाट ढुवानी अनुदानको चामल पुर्‍याउन थालेको सरकारले २०३२ सालदेखि अन्य जिल्लामा पनि चामल ढुवानी गर्न थाल्यो । ‘कर्णालीको जुम्लामा सरकारले उसिना चामल, मकै र गहुँ जहाजबाट ल्याएर प्यारासुटको माध्यमबाट सदरमुकाममा खसाल्थ्यो,’ कालीकोटका तत्कालीन जिल्ला पञ्चायत सभापति दीपबहादुर शाहीले भने, ‘त्यहींबाट कर्णालीमा भात्या (भात खाने) बानी बस्यो ।’

अधिकारवादी संस्था मानवअधिकार, सुशासन तथा स्थानीय विकास केन्द्रले गत वर्ष कर्णालीका ७९ वटै पालिकामा गरेको अध्ययनअनुसार खाद्यको झन्डै २५ प्रतिशत चामल घरेलु मदिरा उत्पादनमा प्रयोग हुने गरेको तथ्यांक निकालेको थियो । सरकारी अधिकारीहरू भने स्थानीयले खानकै लागि मात्र प्रयोग गर्ने दाबी गर्छन् । ‘अभाव छ, खानकै लागि खरिद गर्छन्,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीकोट प्रमुख कमलराज पाण्डेले भने, ‘सडक आएपछि खाद्य संस्थानमा भीड लाग्न छाडेको थियो, अचेल महँगीले बजारको चामल अकासिएपछि पुनः खाद्यमा भीड सुरु भयो ।’

विश्व खाद्यलगायत संघसंस्थामार्फत पनि कर्णालीका खडेरीग्रस्त क्षेत्रमा त्यत्तिकै मात्रामा कामका लागि खाद्यान्न भनेर सहयोग गर्ने गरिएको छ तर खाद्यान्नको दीर्घकालीन समाधान खोज्नेतर्फ सरकारको ध्यान गएको देखिँदैन ।

प्रकाशित : वैशाख १८, २०८० ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?