२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

निरा हत्यामा प्रहरीको ब्रिफिङ- ‘विनोद आफैँले स्वीकारे निराको हत्या’

काठमाडौँ — काठमाडौंको कपन सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्ने ३२ वर्षीय निरा पाण्डे आचार्य (निरु) को हत्या आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्माले हत्या गरेको स्विकारेका छन् । शनिबार झापामा पक्राउ परेका विनोदलाई बिर्तामोडबाट काठमाडौं ल्याएर आइतबार अपरान्ह सार्वजनिक गरेको प्रहरीले विनोद आफैँले निराको हत्या आरोप स्वीकार गरिसकेको दाबी गरेको छ । 

निरा हत्यामा प्रहरीको ब्रिफिङ- ‘विनोद आफैँले स्वीकारे निराको हत्या’

निरु हत्या प्रकरणमा अनुसन्धान गर्न बनेको उच्चस्तरीय टोलीकी संयोजक एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले विनोद आफैँले निराको हत्या गरेको स्वीकार गरिसकेको दाबी गरिन् ।

‘हामीले शनिबार बेलुकामात्रै उसलाई पक्राउ गरेका हौँ । उसले आफैँले निराको हत्या गरेको कन्फेस गरिसकेको छ । उसले दिएको बयानकै आधारमा हामीले यो विवरण तपाईहरूमाझ ल्याएका हौँ, बाँकी कुराहरू थप अनुसन्धानबाट खुल्छ,’ एआईजी बज्राचार्यले भनिन् । प्रहरीले प्रारम्भिक अनुसन्धानमा आर्थिक संकटमा परेका विनोदले लुटपाट गर्ने उदेश्यबाट प्रेरित भएर नै निराको हत्या गरेको देखिएको दाबी गरेको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले विनोद चरम आर्थिक संकटमा परेको र खाना खान समेत नसक्ने अवस्था भएपछि लुटपाटमा अग्रसर भएको पाइएको बिफ्रिङ गरे । ‘अहिले तत्काल लुटपाट गर्नेबाहेक हत्याको अर्को उद्देश्य देखिएको छैन, थप अनुसन्धान भइरहेको छ । पछि नयाँ कुरा पनि आउन सक्छ,’ एसएसपी आचार्यले भने । प्रहरीका अनुसार झापाको धुलाबारीका विनोद त्यहीको एक क्यासिनोमा बाउन्सरको काम गर्थे । तर बाउन्सरको जागिर खाँदा खाँदै जुवा खेल्न थालेका उनलाई अन्दाजी तीन लाख रुपैयाँ ऋण लाग्यो । त्यसपछि उनी झापा छाडेर काठमाडौं आए ।

झापामा बाउन्सरको काम गरेका विनोद काठमाडौं आएपछि ठमेलको एक बारमा बाउन्सरको काम गर्न थाले । त्यसबेला उनी चाबहिल वरपर नै बसोबास गरेको र चाबहिल/कपन क्षेत्रको लोकेसनबारे जानकार रहेको पाइएको प्रहरीको दाबी छ । निरुको हत्या भएको दिन वैशाख ७ गते भने उनी लोकन्थलीस्थित साथीको डेराबाट कपन पुगेको देखिएको छ । प्रहरीका अनुसार करिब एक सातादेखि उनी साथीकै डेरामा बसिरहेका थिए । त्यो दिन बिहान ११ बजे बस चढेर चाबहिलको केएल टावर पुगेका उनी करिब २ बजे सरस्वतीनगरस्थित निरुको भाँडा पसल पुगे ।

प्रहरीका अनुसार केहीबेर भाँडा हेरेपछि निरुसँग एटीएमबाट पैसा निकालेर आउने भनेर पसलबाट बाहिरिएका उनी करिब १० मिनेटपछि फेरि निरुको भाँडा पसलमा पुगे । त्यसपछि भाँडा देखाउने क्रममा निरुलाई पछाडिबाट मुख थुनेर छुरा प्रहार गरेका उनले भुइँमा लडाएर विभत्स हत्या गरेको प्रहरीको भनाइ छ । ‘पसलमा जाँदा ऊसँग कुनै हतियार थिएन, उसले पसलमै भएको छुरालाई प्रयोग गरेको देखिन्छ । शरीरका विभिन्न भागमा छुरा प्रहार गरेर हत्या गरेपछि उसले निरुले लगाएको सुनको सिक्री झिकेको र काउन्टरमा भएको अन्दाजी ११/१२ सय रुपैयाँ लिएर भागेको देखिन्छ,’ एसएसपी आचार्यले भने ।

प्रहरीका अनुसार निरुले लगाएको सिक्री एक तोलाको थियो । विनोदले त्यो सिक्री बालाजुको पाथीभरा सुनचाँदी पसलमा लगेर ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको छ । त्यसपछि भोलिपल्ट उनी झापातर्फ गएका थिए । ‘उसको पुरानो कुनै आपराधिक रेकर्ड देखिएको छैन,’ एसएसपी आचार्यले भने, ‘समग्रमा कमजोर आर्थिक अवस्थाका कारण लुटपाट गर्नु र त्यसैका लागि हत्यासम्म पुगेको हुनसक्ने देखिएको छ । अहिले थप अनुसन्धान भइरहेकै छ, नयाँ कुरा पनि आउन सक्छ ।’

निरुको पसलमा सीसीटिभी भने जडान थिएन । तर प्रहरीले वरपर सीसीटीभी जडान भएको क्षेत्रबाट फुटेजहरू संकलन गरेको छ । त्यस समयमा विनोदले लगाएको लुगा, जुत्ता र झोला पनि लोकन्थलीस्थित उनको साथीको डेराबाट बरामद भएका छन् ।

‘ऊ पसलमा भाँडा किन्ने उद्देश्यले गएको देखिँदैन । त्यसबेला ऊसँग पैसा पनि नभएको देखिन्छ । पसलमा पहिले नै आधा घण्टा बसेको र बच्चाहरू आइसकेपछि बाहिर निस्किएको र अन्दाजी १० मिनेटपछि फेरि पसलमा फर्किएको देखिन्छ, त्यसपछि मात्रै उसले आक्रमण गरेको छ,’ एसएसपी आचार्यले भने । प्रहरीकाअनुसार निरा र विनोदबीच पहिल्यै कुनै चिनजान भए/नभएको प्रस्ट भएको छैन । तर, विनोद पहिले पनि त्यही ठाउँमा बसेको र त्यस वरपरको ठाउँबारे जानकार भएको प्रहरीको भनाइ छ ।

आफन्तका अनुसार अर्घाखाँची माइती भएकी नीराको बागलुङका योगेन्द्रसँग विवाह भएको थियो । उनीहरू व्यापार, व्यवसाय गर्दै काठमाडौंमा बस्दै आएका थिए । निराले भाडा पसल सम्हाल्थिन् भने अलि पर रहेको अर्को पसल श्रीमान् योगेन्द्रले हेर्थे । विवाह गर्नुअघि नीरा सुकेधारास्थित आफ्नै दाइ यमलालको पसलमा डेढ वर्षजति सहयोगी भएर काम गरेको आफन्तको भनाइ छ ।

७ वैशाखमा वीभत्स हत्या भएकी निरुको शव अहिले पनि परिवारले बुझेको छैन । हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएको परिवारले हत्यारा पत्ता लगाउन माग गर्दै एक सातादेखि प्रहरीलाई दबाब दिँदै आएका थिए ।

परिवारको दबाबपछि प्रहरीले १५ वैशाखमा प्रहरीले एआईजी बज्राचार्यको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं जिल्ला प्रहरी समेत सम्मिलित ८ सदस्यीय उच्चस्तरीय टोली बनाएको थियो । एआईजी बज्राचार्यले घटना भएको ९ दिनमै प्रहरीले रहस्यमय घटनामा दोषीलाई पक्राउ गर्न सफल भएको दाबी गरिन् । ‘घटनामा पछिका कारणहरू खुल्दै जान्छ, हामीले पनि लामो अनुसन्धान गर्न पाएका छैनौँ,’ उनले भनिन्, ‘हिजो बेलुका झापाबाट ल्याएर अहिले तपाईंहरूमाझ सार्वजनिक गरेका हौँ । तर, अभियुक्त आफैँले हत्याको स्वीकार गरिसकेको छ ।’

उनले थप अनुसन्धानपछि अन्य रहस्यहरू भए बाहिर आउने दाबी गरिन् । ‘समाजमा अपराध हुन्छ । अपराधमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिन सकिदैन, यसमा प्रहरीका तर्फबाट हामीले ९ दिनमै दोषीलाई पक्राउ गरेका छौँ,’ उनले भनिन्, ‘अपराध हुन्छ, तर दोषीले उन्मुक्ति पाउदैन, दोषीले छुटकारा पाउँदैन भन्ने सन्देशचाहिँ मुख्य कुरा हो ।’

प्रकाशित : वैशाख १७, २०८० १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?