२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

जोगियो उपेन्द्रको अस्तित्व

लामो समय संसदीय राजनीतिमा भिजेका यादव बारा–२ मा उपनिर्वाचन गराएर फेरि संसद् छिर्न सफल
अजित तिवारी

जनकपुर — जसपा अध्यक्ष उपेन्द्र यादवलाई गत मंसिरकै निर्वाचनमा पार्टीले बाराको क्षेत्र २ र ३ बाट उम्मेदवार सिफारिस गरेको थियो । तुलनात्मक रूपमा सुरक्षित बाराका दुवै क्षेत्र छाडेर उनी सप्तरी–२ बाट उठे । उनीसँग प्रतिस्पर्धामा थिए– पहिलो पटक आमचुनावमा होमिएको जनमत पार्टीका अध्यक्ष सीके (चन्द्रकान्त) राउत ।

जोगियो उपेन्द्रको अस्तित्व

०७४ को निर्वाचनमा सप्तरी–२ बाटै जितेका उपेन्द्रलाई राउतसँग प्रतिस्पर्धा नगर्न शुभचिन्तक र नजिकका धेरैले आग्रह गरेका थिए तर उनले मानेनन् । त्यसको मुख्य कारण थियो– कार्यकर्ताले दिएको भरोसा । कार्यकर्ताले उनलाई चुनाव जितिने विश्वास दिलाएका थिए । अर्कातिर आफूले सप्तरी छाड्दा राउतसित डराएको सन्देश जाने र अन्यत्रको परिणाममा असर पर्ने भय उनलाई थियो । मधेसमा जसपाको विकल्पमा उदाउन खोजिरहेका राउतलाई टक्कर दिन पनि आफैं अघि सर्नुपर्ने निचोडसहित उम्मेदवारी दर्ता गराएका थिए ।

पार्टी अध्यक्ष भए पनि आमनिर्वाचनको प्रचार अवधिभर यादव सप्तरी–२ बाहेक अन्यत्र गएनन् । राउतको बढ्दो ‘क्रेज’ का कारण दबाबमा परेका उनले अन्य क्षेत्रमा ध्यान दिनै पाएनन् । तर, समावेशी, संघीयता र समानुपातिक मुद्दामा थालिएको मधेस आन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदाएका उनी पृथकतावादी मुद्दा त्यागेर भर्खर मूलधारको राजनीतिमा आएका जनमत पार्टीका अध्यक्ष राउतसँग पराजित भए ।

लामो समय संसदीय राजनीतिमा भिजेका उनी चुनाव हारेसँगै यतिविघ्न छटपटाए कि जसरी पनि संसद् छिर्नका लागि विकल्प खोज्न थाले । पहिलो र सजिलो विकल्प मधेसका जिल्लामा उपनिर्वाचन गराउने नै थियो । त्यसका लागि उनले बारातिर आँखा लगाए र मधेसको मुख्यमन्त्रीका लागि अन्तिम समयसम्म भिडेका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतलाई पाखा लगाएर बाराबाट प्रदेशसभामा निर्वाचित सरोजकुमार यादवलाई अघि बढाए । ‘उपेन्द्रजीले अबको चुनाव बाराबाटै लड्ने मनस्थिति बनाइसक्नुभएको थियो,’ जसपाका मधेस प्रदेशस्तरीय एक नेताले भने, ‘सकेसम्म उपनिर्वाचन गराउने, नभए अर्को आमनिर्वाचनका लागि आधार तयार गर्ने उनको सोच थियो ।’

यसबीच धेरैले उनलाई राष्ट्रिय सभामा जान पनि सुझाए । तर, राउतसँग पराजित भएको तुष मेटेर प्रतिनिधिसभाकै यात्रा रोज्ने मनस्थिति उनले बनाए । मंसिरको निर्वाचनमा एमालेसँग तालमेल गरेका उनी चुनावपछि भने सत्ता गठबन्धनमै फर्किए । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा भाग लिन सके उपनिर्वाचनमार्फत संघीय संसद् फर्कन सकिने बुझाइमा रहेका उनी त्यसका लागि लबिइङमा लागे । उनकै योजनाअनुरूप सत्ता गठबन्धनको भागबन्डामा उपराष्ट्रपति जसपाको भागमा पर्‍यो । उपेन्द्रले बारा–२ बाट निर्वाचित आफ्ना विश्वासपात्र रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाए र जिताए ।

उपनिर्वाचनबाट संसद् फर्कन चाहेका उपेन्द्रलाई रोक्न जनमत पार्टीले उपराष्ट्रपति निर्वाचनमै गठबन्धनको म्यान्डेटविपरीत ममता झालाई उम्मेदवार बनायो । राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला हुनुपर्ने दाबी गर्दै रामसहायको उम्मेदवारी खारेजीका लागि उजुरीसमेत गर्‍यो । तर, उनको प्रयास सफल भएन । रामसहाय उपराष्ट्रपति बनेपछि उपेन्द्रले उपनिर्वाचनमा उम्मेदवार बन्न तयारी थाले भने बारामा पनि हराइदिने भन्दै जनमतले आक्रामक अभियान सुरु गर्‍यो ।

मंसिरको चुनावमा रामसहायसँग झिनो मतले पराजित माओवादीका शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश गराएर जनमत अध्यक्ष राउतले उम्मेदवार बनाए । कुशवाहसँग दिनहुँ राउत आफैं प्रचारमा खटिए । खेत–खलिहानमा पुगेर मतदातासँग हात जोड्दै मत मागे । अर्कोतर्फ मधेस सरकारका मुख्यमन्त्री यादव, मन्त्रीहरू र प्रमुख न्यायाधिवक्ता वीरेन्द्र ठाकुर ‘मन्त्रालय र अड्डा बंक गरेर’ बारामै बसी उपेन्द्रको प्रचारप्रसारमा लागे । मुख्यमन्त्री यादवलाई त निर्वाचन आयोगले स्पष्टीकरण नै सोध्यो ।

जसपा र जनमतबीच ‘फेक वार’ चल्यो । उपेन्द्रमाथि यादव समुदायलाई मात्र काखी च्यापेको आरोप लगाउँदै राउतका समर्थकले खेदो खने । जसपा समर्थकले पनि जनमत पार्टीका नेता अब्दुल खानको आपत्तिजनक भिडियो लिक गर्दै राउत झूटा वैज्ञानिक रहेको प्रचार गरे ।

बाराको उपनिर्वाचनमा एकअर्कालाई खुइल्याउनेबाहेक दुवै दलका खासै एजेन्डा थिएनन् । उपेन्द्रलाई ‘फिरिंगी’ उम्मेदवार भनेर जनमतले मतदातालाई आफूतिर तान्न खोज्यो । पहिलो संविधानसभा निर्वाचनमा मोरङ र सुनसरीबाट चुनाव जितेका यादव दोस्रो संविधानसभामा सुनसरीबाट निर्वाचित भए । ०७४ मा उनी सप्तरी आए । उपनिर्वाचनमार्फत उनी अब बारा पुगेका छन् । उपनिर्वाचनको दुई दिनअघि गठबन्धनको सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले एकै स्वरमा बारा–२ का मतदातालाई भने, ‘उपेन्द्रजी हामीलाई हाउस (संसद्) मा चाहिने व्यक्ति हो । मधेसका लागि उहाँ जहिल्यै हामीसँग झगडा गर्नुहुन्छ ।’

मधेश मुद्दालाई क्यास गर्न उपेन्द्रले ठूला दलका उपल्ला नेतामार्फत आफ्नो तारिफ गराएको लेखक तथा विश्लेषक रोशन जनकपुरीको बुझाइ छ । ‘बाराबाट चुनाव जितेर उपेन्द्रजीले आफ्नो राजनीतिक अस्तित्व जोगाउनुभएको छ,’ उनले भने, ‘सत्ताबाहिर रहँदा क्षेत्रीय दलले उत्पात मच्चाउने गरेको देखिन्छ । राजनीतिलाई सन्तुलन मिलाउन पनि उनलाई सबै दल मिलेर जिताएका हुन् । सत्ता गठबन्धनको बैठकमा पनि सांसद नहुँदा उपेन्द्रजीको उपस्थिति उदास हुने भएकाले उनलाई जिताउनु स्वाभाविक नै हो ।’

बारा–२ मा २८ हजार ४ सय १५ मत ल्याएर विजयी भएका उनले जनमतका उम्मेदवारलाई ५ हजारभन्दा बढी मतले पछि पारेका छन् । जनमतका शिवचन्द्र कुशवाहले २३ हजार ३ सय ३४ मत मात्रै पाए । यादवलाई सत्तारूढ दलहरू कांग्रेस, माओवादी, लोसपा र एकीकृत समाजवादीले सघाएका थिए ।

चुनाव जितेपछि मंगलबार राति सञ्चारकर्मीसँग कुरा गर्दै उपेन्द्रले बारावासीले आफूलाई ठूलो बोझ र जिम्मेवारी दिएकामा खुसी व्यक्त गरे । ‘उहाँहरूले दिएको अभिभारा पूरा गर्न सक्दो प्रयास गर्नु छु,’ उपेन्द्रले भने, ‘बारावासीको माग र एजेन्डालाई मूर्त रूप दिने र कार्यान्वयन गर्ने मेरो प्रयास रहन्छ । मेरो बुद्धि, बल र विवेकले भ्याएसम्म दत्तचित्त भएर लाग्छु ।’ उपेन्द्रले त्यहाँबाट चुनाव जित्नुमा यादव मतदाताको झुकाव र गठबन्धन दलको इमानदारिता नै देखिएको हो । बारा–२ मा सबैभन्दा बढी यादव मतदाता छन् ।

प्रकाशित : वैशाख १४, २०८० ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?