कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफ्नो नियत पुष्टि गर्न नसक्दा नियति पनि ठिक देखिँदैन : महासचिव भुसाल

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आफ्ना नियत पुष्टि गर्न नसक्दा नियति पनि ठिक नदेखिने बताएका छन् ।

आफ्नो नियत पुष्टि गर्न नसक्दा नियति पनि ठिक देखिँदैन : महासचिव भुसाल

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको तेस्रो कान्तिपुर इकोनोमिक समिट २०२३ को तेस्रो सत्रअर्न्तगत 'अर्थतन्त्रमा अवरोध : नियत कि नियति' शीर्षकमा बोल्दै महासचिव भुसालले नियत पुष्टि गर्न नसक्दा नियति पनि ठिक नदेखिने बताएका हुन् ।

'नियत र नियति सधैं सँगै जान्छ भन्ने हुँदैन । कहिलेकाँहिँ नियत राम्रो भए पनि नियति राम्रो हुँदैन । पञ्चायतको सुरुआती चरणको नियत नराम्रो थिएन तर पछि राजाको नियत राम्रो नभएपछि नियति फेरियो,' उनले भने, 'हरेक युगको एउटा प्रश्न हुन्छ, त्यो युगको प्रश्न त्यही युगले दिनुपर्छ भन्ने हामी मार्क्सवादीहरू भन्ने गर्छौं । नेकपा एमालेले पनि आफ्नो नवौं महाधिवेशनको समयमा दलाल पुँजीवाद समस्या हो भनेर लेख्न सकेनौं । अहिले घण्टीको घण्ट बजेको छ । उनीहरू पनि कसैलाई नचिढ्याइकन अगाडि बढ्नेछन् र तिनीहरू पनि हामी जहाँ छौं, त्यहीँ आइपुग्नेछन् । सिद्धा‍न्त नराम्रो भएर हामीले दुःख पाएका होइनौं । सिद्धान्तलाई गलत तरिकाले प्रयोग गरिएकाले हामीले दुःख पाएका हौं ।'

विदेशी सहायताले पैसा दिए पनि बृहत रुपमा रोजगारी नदिने भन्दै पैसाले पैसा किन्छ, नाफाले नाफा किन्छ भने त्यो दलाल पुँजीवाद नै भएको महासचिव भुसालले बताए । 'तत्कालीन सरकारले जे कारण दिएर सरकारी उद्योगहरूको निजीकरण गर्‍यो, त्यो त केही भएन,' उनले भने ।

लगानीले रोजगारी सिर्जना गर्नु महत्त्वपूर्ण भएको भन्दै उनले भने, 'लोकतन्त्रमा पार्टी र राष्ट्र भनेको फरक कुरा हो । तर, राष्ट्रको प्रतिनिधिन्त्व पार्टीले नै गर्छ । पार्टीले राष्ट्र विकासका लागि काम गर्नुपर्छ र त्यसका लागि रोजगारी सिर्जना पनि गर्नुपर्छ । पार्टीले आफ्ना कार्यकर्तालाई पनि रोजगारी दिएन, बरु फिरौती, घुस र सुपारीमात्रै दियो ।'

नेपालको अर्थतन्त्र गिरोहले ओगटेको बताउँदै उनले भने, 'राजनीतिकरण वा दलीयकरण भएको भए पनि राम्रो हुन्थ्यो तर यहाँ एउटा गुटले मात्रै अर्थतन्त्र नियन्त्रण गर्‍यो ।'

प्रकाशित : वैशाख १३, २०८० १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?