बारा-२ मा कुशवाहाभन्दा यादव झन्डै ३ हजार मतले अगाडि

लक्ष्मी साह

बारा — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत जारी मतगणनामा बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै रहेको छ ।

बारा-२ मा कुशवाहाभन्दा यादव झन्डै ३ हजार मतले अगाडि

महागढीमाई नगरपालिकामा उल्लेख्य मत ल्याई यादवसँगको मतान्तर घटाएका जनमत पार्टीका शिवचन्द्र कुशवाहा पुन: पछि पर्दै गएका छन् । अहिले पचरौता नगरपालिकाको मत गणना भइरहेको छ । मंगलबार दिउँसोसम्म ५ हजारभन्दा बढी मतले अघि रहेका यादव साँझपख करिब २ हजार ५ सय मतले मात्र अगाडि रहेका थिए ।

पछिल्लो मतपरिणामअनुसार यादव कुशवाहाभन्दा झन्डै ३ हजार मतले अगाडि रहेका छन् । यादवले २४ हजार ६ सय ७३ मत ल्याउँदा कुशवाहाले २१ हजार ५ सय ३७ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले ७ हजार ८ सय ४३ मत प्राप्त गरेका छन् ।

पूर्वडीआईजीसमेत रहेका रराष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने निकै पछि रहेका छन् । उनले २ हजार ७ सय ६३ मत मात्र प्राप्त गरेका छन् । उनीपछि रहेका आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ६ सय ६६ मत प्राप्त गरेका छन् । बारामा ६९ हजार १ सय ७ मत खसेको छ ।

बारा-२ मा मुख्य प्रतिस्पर्धामा रहेका ५ उम्मेदवारमध्ये ४ जना यसअघि मंसिर ४ मा पराजित उम्मेदवार हुन् । उपेन्द्र यादव सप्तरी-२, शिवचन्द्र प्रसाद कुशवाहा र अरुणकुमार ज्ञवाली बारा-२ बाट पराजित उम्मेदवार हुन् भने रमेश खरेल भने काठमाडौं-१ मा पराजित भएका थिए ।

कुशवाहा मंसिर ४ मा माओवादी केन्द्र र ज्ञवाली स्वतन्त्र उम्मेदवार बनेका थिए । खरेल भने नेपाल सुशासन पार्टीबाट उठेका थिए । उनी अहिले पनि उक्त पार्टीका अध्यक्ष हुन् ।

प्रकाशित : वैशाख १२, २०८० २३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?