२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

तनहुँ-१ : मंसिरमा कांग्रेसले पाएको भन्दा बढी मतसहित विजयी हुँदै वाग्ले

काठमाडौँ — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले यसअघि मंसिर ४ मा विजयी उम्मेदवारले भन्दा बढी मत ल्याउने भएका छन् ।

तनहुँ-१ : मंसिरमा कांग्रेसले पाएको भन्दा बढी मतसहित विजयी हुँदै वाग्ले

अन्तिम मतपरिणाम नआई आफ्नो जित सुनिश्चित गरेका वाग्लेले यसअघि निर्वाचित कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले ल्याएको मतभन्दा बढी मत ल्याइसकेका छन् । पछिल्लो मतपरिणामअनुसार वाग्लेले ३० हजार २ सय ४ मत प्राप्त गरिसकेका छन् ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ-१ मा उपनिर्वाचन भएको हो । पौडेल २५ हजार ३ सय ६१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत ल्याएका थिए ।

त्यस्तै तेस्रो स्थानमा रहेका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विकाश सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए । त्यस्तै राप्रपाका उम्मेदवार विनोदकुमार घर्तीले २ हजार ४ सय ८४ मत प्राप्त गरेका थिए ।

यस पटक गोविन्दराज जोशी समूहबाट कोही पनि उम्मेदवार नभएकाले पनि वाग्लेले बढी मत पाएका हुन् । गत मंसिरमा सम्पन्न चुनावमा भन्दा कम मत खसे पनि यसपालि विजयी हुने उम्मेदवारले भने बढी मत ल्याउने भएका हुन् । गत चुनावमा पाएको मत कांग्रेस र एमालेले जोगाउन नसक्ने भएका छन् । अहिलेसम्मको मतपरिणामअनुसार कांग्रेसका गोविन्द भट्टराईले १७ हजार ४ सय ४० मत ल्याउँदा एमालेका सर्वेन्द्र खनालले ७ हजार ९ सय ८८ मत मात्र ल्याएका छन् ।

त्यस्तै २ हजारभन्दा बढी मत ल्याएको राप्रपाले यसपटक ५ सय मत पनि नकटाउने देखिएको छ । वाग्लेले तुलनात्मक रूपमा कांग्रेसको भन्दा बढी एमालेबाट मत प्राप्त गरेका छन् ।

प्रकाशित : वैशाख १२, २०८० ०१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?