१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३
उपनिर्वाचन

बारामा ६५ प्रतिशत मतदान, राति नै गणना सुरु गरिने

लक्ष्मी साह

बारा — बारा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचन अन्तर्गत आइतबार ६५ प्रतिशत मतदान भएको छ । जिल्लका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

बारामा ६५ प्रतिशत मतदान, राति नै गणना सुरु गरिने

जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीका अनुसार यो उपनिर्वाचनमा गत मंसिरमा भएको निर्वाचनमा भन्दा बढीले मतदान गरे । मंसिरमा ६४.४४ प्रतिशत मत खसेको थियो भने । यसपटक ६५ प्रतिशत मतदान भएको छ ।

आइतबार साँझ नै मतदान सकिएपछि १ सय ३७ मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन हुँदैछ । कलैयाको शैक्षिक तालिम केन्द्रमा आइतबार रातिदेखि नै मतगणना हुने चौधरीले बताए ।

यस क्षेत्रमा कुल १ लाख ५ हजार २८ मतदाता रहेकोमा त्यसको ६५ प्रतिशत मतदान भएको हो । चौधरीका अनुसार आचारसंहिता उल्लंघन गरेकोमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई निर्वाचन आयोगले स्पस्टीकरण सोधेको छ । साथै ६ जनालाई नियन्त्रणमा लिइएको छ ।

चौधरीका अनुसार देवताल गाउँपालिका वडा न ७ पिरपातीजब्दीको सिँचाइ भवनको मतदान केन्द्रमा शान्तिपूर्ण मतदानलाई खल्बल्याउन खोजेको आरोपमा उनीहरुलाई नियन्त्रण लिइएको थियो ।

दुईवटा मतपत्र लिएर मतदान गर्न जाँदा सोही वडाका रामसागर यादवलाई नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेका अनुसार २ वटा मतपत्र लिएर भोट हाल्न खोज्ने जसपाका कार्यकर्ता ६२ वर्षीय रामसागर यादवलगायतलाई नियन्त्रणमा लिइएको थियो । मतदान समाप्त भएपछि उनीहरुलाई छोडिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

यसैबीच मंगलबारसम्म मतपरिणाम आइसक्ने प्रजिअ सापकोटाले जानकारी दिए । कुल १ लाख ५ हजार २ सय ४८ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ८२ मतदान स्थल र १ सय ३७ मतदान केन्द्र रहेका थिए । निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवसहित एमालेका पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेलसहित ३४ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

प्रकाशित : वैशाख १०, २०८० २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?