कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८
उपनिर्वाचन

उम्मेदवार जसले आफैंलाई भोट हाल्ने छैनन्

काठमाडौँ — चितवन–२, तनहुँ–१ र बारा–२ मा प्रतिनिधिसभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि मतदान जारी छ । आजको उपनिर्वाचनमा त्यहाँबाट उठेका केही दलका उम्मेदवारहरूको मतदाता नामावली अन्य स्थानमा रहेका उनीहरू मतदान प्रकियामा सहभागी हुन नपाउने भएका छन् । आफैंलाई मतदान गर्न नपाउने उम्मेदवारहरू मतदाता भेटघाट र मतदान केन्द्रको भ्रमणमा व्यस्त रहेका छन् ।

उम्मेदवार जसले आफैंलाई भोट हाल्ने छैनन्

चितवन– २ मा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले शक्तिखोरस्थित चतुर्मुखी उच्च माविको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । यहाँ रास्वपाका उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले आफैंले मतदान गर्न पाउने छैनन् । रविको मतदाता नामावली काठमाडौंमा र एमालेका न्यौपनेको चितवन निर्वाचन क्षेत्र नम्बर–३ मा रहेकाले उपनिर्वाचनमा मतदान गर्न नपाएका हुन् । यसअघि मंसिर ४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट लामिछाने निर्वाचित भएका थिए । तर नागरिकतासम्बन्धी मुद्दामा अदालतको फैसलाबाट उनी पदमुक्त भएपछि आयोगले रिक्त रहेको पदमा उपनिर्वाचनका लागि मतदान गराएको हो ।

चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाता छन् । कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकासहित चितवन–२ मा भरतपुर महानगरपालिकाका २९ मध्ये सदरमुकाम र नारायणगढ बजार क्षेत्र पर्ने १० वटा वडाहरू छन् । ४३ स्थानमा १३८ मतदान केन्द्रहरू रहेका छन् ।चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार साँझ ५ बजेसम्म मतदान केन्द्र छिरेका मतदाताले मतदान गर्न पाउने छन् । मतदान सकिएलगत्तै मतपेटिकाहरू संकलन गरेर भरतपुर ल्याइने छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले गणना सुरु भएको तेस्रो दिनभित्रै अन्तिम नतिजा घोषणा गर्ने योजना रहेको बताए ।

यस्तै, तनहुँ १ मा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको मतदाता नामावली काठमाडौंमा रहेकाले उनीहरूले यहाँको उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका हुन् । यहाँ नेपाली कांग्रेसबाट गोविन्द भट्टराईसहित ९ राजनीतिक दलका उम्मेदवार उपनिर्वाचनमा प्रतिस्पर्धामा रहेका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन गरिएको हो । तनहुँ–१ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र तोकिएको छ । मतदान गराउन ७ सय ६० कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् ।

बारा–२ मा रास्वपाका उम्मेदवार रमेश खरेल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र नेकपा एमालेका पुरुषोत्तम पौडेलले मतदान गर्न नपाउने भएका छन् । मतदाता नामावली अन्य स्थानमा रहेकाले उनीहरूले मतदान गर्न नपाएका हुन् । यादवको मतदाता नामावली सुनसरीमा रहेको छ । पौडेलको क्षेत्र नम्बर १ मा रहेको छ भने खरेलको मतदाता नामावली काठमाडौंमा रहेको छ । यो क्षेत्रमा जनमतबाट उम्मेदवार रहेका शिवचन्द्र कुशवाहले भने मतदान गरेका छन् ।यस क्षेत्रमा १ लाख ५ हजार ११ मतदाताका लागि ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र छन् । दलका ११ र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन् । जिल्ला निर्वाचन कार्यालय प्रमुख सराेजकुमार चाैधरीका अनुसार बारा-२ का सबै मतदान केन्द्रमा ७ बजेदेखि मतदान सुरू भएकाे छ । बारा -२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचनका लागि मतदान भएको हो ।

प्रकाशित : वैशाख १०, २०८० ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?