कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

उपनिर्वाचन आज

मतदातालाई टेन्ट, गणनास्थलमा तारबार र सीसी क्यामरा

चितवन, तनहुँ र बारा — बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य चयनका लागि आइतबार मतदान हुँदै छ । तीनवटै निर्वाचन क्षेत्रमा मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयहरूले जनाएका छन् । 

उपनिर्वाचन आज

गर्मी बढी भएका कारण चितवन–२ का अधिकांश मतदान केन्द्रमा मतदाताका लागि टेन्ट व्यवस्था गरिएको छ । ‘मतदातालाई राहत होस् भनेर टेन्ट राखिएको हो,’ मतदान अधिकृत विष्णुमाया विकले भनिन् । चितवन–२ मा ४३ मतदानस्थलमा १ सय ३८ मतदान केन्द्र छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवन–२ मा १ लाख २४ हजार ६ सय ९५ मतदाता छन् । यहाँ राजनीतिक दलका १२ र स्वतन्त्र १० उम्मेदवार छन् ।

तनहुँ–१ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र तोकिएको छ । मतदान गराउन ७ सय ६० कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । तनहुँमा राजनीतिक दलका ९ उम्मेदवार छन् । निर्वाचनलाई भयरहित, निष्पक्ष र मर्यादित बनाउन सुरक्षा प्रबन्ध मजबुत बनाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । ‘हावाहुरी र पानी परेको खण्डमा मतपत्र र मतपेटिका सुरक्षित राख्ने व्यवस्था पनि मिलाइएको छ,’ रिजालले भने ।

आइतबार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म निर्वाचन क्षेत्रमा पर्ने पृथ्वी राजमार्ग खण्ड र भित्री सडकमा सवारीसाधन पूर्ण रूपमा बन्द रहने भएको छ । ‘पृथ्वी राजमार्गको मुग्लिङ पुलदेखि व्यास नगरपालिकाको चापाघाट (मादी नदीको पुलको पश्चिम भाग) सम्म, डुम्रे–बेंसीसहर सडक खण्ड, आँबुखैरेनी गोरखा सडक खण्ड, दमौली दुईपिप्ले सडक खण्डलगायत सम्पूर्ण स्थानीय सडक बन्द रहनेछ,’ प्रजिअ रिजालले भने । तनहुँ भएर चल्ने रात्रि बसले पनि बिहान ४ बजेअगावै जिल्ला पार गरिसक्नुपर्ने छ ।

बारा–२ मा निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन भन्दै नेपाल–भारत ६५ किमि सीमानाका, जिल्लाभर प्रवेश गर्ने र बाहिरिने सम्पूर्ण नाका, मुख्य सडक, पूर्वपश्चिम राजमार्ग, सहायक राजमार्ग, पथलैया–वीरगन्ज सडकलगायतमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीरगन्ज राजमार्गमा द्रुतगति (लामो दूरी) का बाहेक अरू सवारीसाधन आइतबार बन्द गरिएको छ । बारा–२ मा १ लाख ५ हजार ११ मतदाताका लागि ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र छन् । दलका ११ र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन् ।

चितवन–२ को मतगणना भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा गर्ने तयारी छ, त्यहाँ तारजालीको छेकबार र सीसीटीभी क्यामरा व्यवस्था गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले गणना सुरु भएको तेस्रो दिनभित्रै अन्तिम नतिजा घोषणा गर्ने योजना रहेको बताए । तनहुँको मतगणनास्थल जिल्ला समन्वय समितिका कोठामा पनि तारजाली र सीसी क्यामरा जडान गरिएको छ । यस्तै, बाराको कलैयास्थित शैक्षिक तालिम केन्द्रमा गणना गर्न तारजालीसहितको व्यवस्था मिलाइएको छ ।

प्रकाशित : वैशाख १०, २०८० ०६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?