१६ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्‍चित

वैशाख १५ र ३१ गते ‘बृहत् खोज र खोप’ अभियान सञ्चालन हुँदै 
बुनु थारु

काठमाडौँ — नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको कार्यक्रम हो, राष्ट्रिय खोप कार्यक्रम । बाल मृत्युदर घटाउन तथा बालबालिकालाई विभिन्न रोगबाट जोगाउन यो कार्यक्रम वि.सं २०३४ सालबाट ३ वटा जिल्लाबाट सुरु गरिएको थियो । ४ प्रकारका रोगबाट सुरु गरिएको खोप कार्यक्रममा हाल सबै जिल्लामा १३ वटा रोगविरुद्धको खोप दिइन्छ । 

१६ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्‍चित

कोही पनि बालबालिका खोप पाउनबाट वञ्चित हुनुहुँदैन भन्ने सरकारको नीति नै छ । तर पनि विभिन्न कारणले सबै बालबालिकाहरु खोपको पहुँचमा आउन सकेका छैनन् । नेपालमा ९६ प्रतिशत बालबालिकाले खोप सुरु गर्नु सुखद देखिन्छ तर ४ प्रतिशत बालबालिका खोप पाउन सकेका छैनन् । नेपाल जनसांख्यिक सर्वेक्षणअनुसार १६ प्रतिशत बालबालिकाहरु पूर्ण खोपबाट वञ्चित छन् भने ४ प्रतिशत बच्चा शून्य डोज पनि लगाएका छैनन् । धेरैले ९ महिनासम्म खोप लगाए पनि पूर्ण मात्राको खोप लगाउने समयसम्म ड्रप आउट भएको तथ्यांकले देखाउँछन् ।

विश्व स्वास्थ्य संगठनले सन् २०२१ मा २ करोड ५० लाख बालबालिकाहरुले खोप नपाएको बताएको छ भने यो संख्या सन् २०१९ मा ६० लाख थियो । खोप लगाउनबाट वञ्चित सबैभन्दा धेरै भारत छन् । त्यहाँ २७ लाखभन्दा बढी बालबालिकाहरु खोपबाट वञ्चित छन् ।

परिवार कल्याण महाशाखाको नियमित खोप कभरेजको तथ्यांक हेर्ने हो भने खोप पिच्छे कभरेज फरक छ । सबैभन्दा बढी खोप कभरेज बि.सि.जि खोपको छ जुन जन्मिनेबित्तिकै लगाइन्छ । २०७८–७९ मा यसको कभरेज १०४ प्रतिशत रहेको छ भने अघिल्लो वर्ष कभरेज ९१ रहेको थियो । खोप कभरेज यस प्रकार देखिन्छ । हेर्नुस् तस्बिर

स्राेत: परिवार कल्याण महाशाखा

फाइभ इन वान (पेन्टाभ्यालेन्ट भ्याक्सिन) जसमा डिप्थेरिया, टिटानस, हुपिङ कफ, पोलियो र हेमोफिलस इनफ्लुएन्जा गरी ५ वटा रोगविरुद्ध लगाइन्छ । यो खोपको विगतको ४ वर्षको अवस्था हेर्दा भने कभरेज बढेको देखिन्छ । २०१९ मा ८६ प्रतिशत रहेकोमा हाल कभरेज ९८.८ प्रतिशत रहेको छ ।

अरु खोपमा सन्तोषजनक देखिए पनि दादुराको दोस्रो मात्राको खोप लगाउने भने सन्तोषजनक देखिएको छैन । तथ्यांक हेर्ने हो भने ९२.८ प्रतिशतले मात्र दोस्रो मात्राको खोप लगाएका छन् । हेर्नुस् तस्बिर

दादुरा निवारणका लागि ९५ प्रतिशतले दादुरा खोप लगाएको हुनुपर्छ । दादुरा–रुबेला रोगबाट पूर्णरुपमा बचाउन नियमित खोपमार्फत बालबालिकालाई ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा लगाउनै पर्दछ ।

सन् २०१९ सम्ममा दादुरा उन्मूलन गरिसक्ने बताएको नेपालले पछि २०२३ सम्ममा दादुरा उन्मूलन गर्ने प्रतिबद्धता जनाएको थियो । अब यो लक्ष्य २०२६ सम्म सारिएको छ । यो वर्ष नोभेम्बरदेखि अप्रिलसम्म १३ जिल्लामा दादुराको प्रकोप फैलिएको थियो । दादुराबाट ८२४ जना संक्रमित हुन पुगेका थिए भने एक जनाको मृत्यु भयो । प्रकोपको समयमा ५ जिल्लामा खोप अभियान सञ्चालन गरेको थियो जसमा २ लाख ५ हजार २९४ जनाले खोप लगाएका थिए ।

सबै तहमा सबै खोपको कभरेज ९५ प्रतिशतभन्दा माथि हुनुपर्ने भन्ने सरकारको लक्ष्य छ । त्यहीअनुसार हेर्ने हो भने केही जिल्लामा प्रतिशत यो भन्दा बढी छ भने केहीमा अझै बढाउनुपर्ने देखिन्छ । खोप शाखाका प्रमुख डा. अभियान गौतम खोप कभरेजमा ग्याप भइरहेको बताउँदै त्यसमा पहुँच बढाउनुपर्ने आवश्यकता रहेको औल्याउँछन् । ‘सबै तहमा ९५ प्रतिशत खोप कभरेज हुनुपर्ने हो तर सबै तहमा त्यो एकरुपता छैन । दुई मात्रा खोपको ९५ प्रतिशतभन्दा माथि राख्ने लक्ष्य हो । ६ हप्तामा लगाइने खोप पनि कुनै जिल्लामा कभरेज राम्रो भए पनि केहीमा अझै पहुँच बढाउनुपर्ने देखिन्छ,’ उनले भने । उनकाअनुसार पूर्ण खोप नपाएका बच्चाहरुलाई खोप लगाउने भनेर वैशाख महिनालाई फोकस गरिएको छ ।

खोप शाखाका पूर्वप्रमुख डा झलक गौतमले कुनै पनि बच्चा खोपबाट वञ्चित हुन दिनुहुन्न भन्ने धारणा राख्छन् । भन्छन् –‘खोप पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो । खोप खेर गए पनि कोही बच्चा खोप लगाउनबाट वञ्चित हुन हुँदैन । उनले खोप कार्यक्रम नियमित सञ्चालन गरिराख्नुपर्ने र सेवाग्राहीलाई सचेतना र जानकारी निरन्तर दिइराख्नुपर्छ ।

एकातिरको खोपको कभरेज बढाउने र अर्कोतिर खोप खेर जान नदिन सरकारको चुनौतीको विषय रहेको छ । ६० औँ महालेखा प्रतिवेदनले रोटातर्फ न्यूनतम ७.६ प्रतिशत र बीसीजी खोप ७९.३ प्रतिशतसम्म खेर गएको देखिएको बताएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड हेर्ने हो भने यो खोप ५० प्रतिशतसम्म खेर जान सक्छ । तर, नेपालमा भने खेर जाने प्रतिशत बढी देखिन्छ । त्यसैगरी रोटा भ्याक्सिन २५ प्रतिशतसम्म खेर जान सक्छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा प्रमुखमा डा विवेककुमार लाल खोप कभरेज र खेर जाने दर घटाउन चुनौती बनिरहेको बताउँछन् । उनी अरु खोपभन्दा बीसीजी खोप धेरै खेर जाने सम्भावना रहेको बताउँदै भन्छन्–‘हरेक स्थानीय तहले त्यहाँ रहेको बालबालिकाहरुको प्रोफाइल बनाएर खोप कार्यक्रम बनाउनुपर्छ । यो भए पनि पूर्ण रुपमा पालना हुन सकेको छैन ।’

कोभिड विरुद्धको खोप हेर्ने हो भने नेपालमा कुल जनसंख्याको ८२.८ प्रतिशतले पहिलो डोज र ८३.२९ प्रतिशतले दोस्रो मात्राको खोप लगाएका छन् । त्यसैगरी ५ देखि ११ वर्ष उमेर समूहकाले ९३.६ प्रतिशतले पहिलो मात्रा र ८३.५ प्रतिशतले खोप लगाइसकेका छन् ।

खोज र खोप अभियान

हरेक वर्ष अप्रिलको अन्तिम सातामा विश्व खोप सप्ताह मनाइन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही सेरोफेरोमा खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि बृह्त खोज र खोप अभियान कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

यही वैशाख १५ र ३१ गते (दुई दिन) देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट नियमित खोप छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाहरुलाई खोप दिइने परिवार कल्याण महाशाखाका खोप अधिकृत भरत भण्डारी बताउँछन् । भन्छन्–‘छुटेका बच्चाको पहिचान र खोप पूरा गराई नियमित खोपको सुदृढीकरण तथा पूर्ण खोपको सुनिश्चितता गर्न यो अभियान सञ्चालन गर्न लागिएको हो ।’

उनी ९ महिनासम्मको खोपको उच्च कभरेज भए पनि त्यसपछिको भने ड्रपआउट देखिएको बताउँछन् । ‘आमाहरुमा एउटा दादुराको खोप लगाइसक्यो अर्को किन लगाउने भन्ने अज्ञानता हुन सक्छ । बच्चा बिरामी भएर लगाउन छुटेका हुन सक्छन् । हाम्रो परामर्शको पनि कमी होला ,’ उनी थप्छन् । महाशाखाले नेपालका सबै विद्यालयमा अभियान सञ्चालन हुने दिन छुटेका बच्चाहरुलाई खोज्न विद्यार्थी तथा शिक्षकलाई सहयोगको अपिल गरेको जनाएको छ । साथै पकेट समुदायमा पनि बालबालिकालाई खोज्न बजेट पठाइनुकासाथै विद्यालय भर्ना हुन आउँदा विद्यार्थीको खोप कार्ड अनुगमन गर्न पत्राचार गरेको जनाएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा प्रमुख लाल नेपालमा अझै पनि सोचेजस्तै खोप कभरेज हुन नसकेको स्वीकार्छन् । उनी भन्छन् –‘४ प्रतिशतले खोप नपाएको अध्ययन भन्छ । त्यो भन्दा बढी पनि छन् । छुटेका बालबालिकालाई सम्बोधन गर्नुपर्ने भन्नेमा दादुराको प्रकोपले नै देखाएको छ । खोप बालबालिकामा छुट्दै जानु पक्कै राम्रो होइन ।’ खोप लगाउन कोही पनि बालबालिका छुटेका छन् भने उनीहरुले ५ वर्षसम्म लगाउन सक्ने उनले बताए ।

विद्यालय नजाने बालबालिकाहरुलाई पनि यो अभियानले सम्बोधन गर्ने उनको भनाइ छ । भन्छन्–‘इँटाभट्टामा काम गर्ने, गिट्टी कुट्ने, सुकुम्बासी बस्तीका बालबालिकाहरु छुट्न सक्छन् । उनीहरुलाई पनि पहिचान गरेर खोप लगाउँछौँ । कोही पनि बालबालिका छुट्नुभएन ।’

प्रकाशित : वैशाख ९, २०८० २२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?