२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भेरीमाथि निर्माणाधीन बेलिब्रिज भाँचियो

२ मजदुरको मृत्यु, हिमशिखर खड्का कृष्ण जेभीले गरिरहेको थियो पुल निर्माण
महेश केसी

रुकुम पश्चिम — जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत जाजरकोट र रुकुम जोड्न आठबीसकोट नगरपालिका–४ तल्लु बगरस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । 

भेरीमाथि निर्माणाधीन बेलिब्रिज भाँचियो

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार घटनामा ज्यान गुमाउनेहरू भारत बहराइचका ४० वर्षीय प्रसुतमकुमार गौतम र ४० वर्षीय धर्मेन्द्र गौतम छन् । बहराइचकै २५ वर्षीय सञ्जयकुमार गौतम, कुमार हरिजन चमार र बर्दिया गुलरियाका गोपाल हरिजन घाइते भएको जिल्ला प्रहरी प्रमुख डीसपी नमराज भट्टराईले बताए । सामान्य घाइते अन्य चार जनालाई जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि घर पठाइएको छ । १ सय २० मिटर लामो निर्माणाधीन बेलिब्रिजमाथि क्रेन तार्न खोज्दा दुर्घटना भएको हो । पुलको भारवहन क्षमताभन्दा भारी क्रेन तार्न खोज्दा भाँचिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

एक वर्षअघि सुरु भएको पुल निर्माणको जिम्मा हिमशिखर खड्का कृष्ण जेभीले लिएको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख आशुतोष कर्णले बताए । उनका अनुसार ३ करोड ८४ लाख लागतमा बेलिब्रिज निर्माणको जिम्मा दिइएको थियो ।

भेरी करिडोरअन्तर्गत सुर्खेतबाट जाजरकोट हुँदै डोल्पा जोड्ने सडकमध्ये जाजरकोट–डोल्पा सडक खण्डको काम यतिबेला धमाधम भइरहेको छ । अन्य पुलको काम सकिए पनि भेरी नदीमा यो पुल नबन्दा डोल्पा आवागमनमा असहज भइरहेको थियो । निर्माण व्यवसायी बुद्धिबहादुर खत्रीले चालु आर्थिक वर्षभित्र निर्माण सक्ने गरी काम गरिरहेको बताए । जाजरकोट–डोल्पा सडकअन्तर्गत अरू ३ स्थानमा पुल बनिसकेका छन् । यी सबै बेलिब्रिज हुन् ।

प्रकाशित : वैशाख ८, २०८० ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?