२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

रुइला र ङुइला नाका खुल्छ : प्रधानमन्त्री दाहाल

हरिराम उप्रेती

गोरखा — प्रधानमन्त्री पुष्पकमल दाहालले कोभिडपछि बन्द भएको चीनसँगको सीमा नाका खोल्ने बताएका छन् । बुधबार चुमनुव्री गाउँपालिका–७ छेकम्पारस्थित राजेन गुम्बामा चुम श्याग्या (अहिंसा) महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले नाका खुलाउने प्रक्रिया अघि बढेको बताएका हुन् । 

रुइला र ङुइला नाका खुल्छ : प्रधानमन्त्री दाहाल

श्याग्या महोत्सव उद्घाटनमा पुगेका दाहाललाई स्थानीयले चुमनुव्री गाउँपालिका–१ सामागाउँको रुइला र वडा नम्र ७ छेकम्पारको ङुइला नाका खुलाउनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

चुम उपत्यका अहिंसा क्षेत्र स्थापित भएको एक सय वर्ष पूरा हुनु आफैंमा इतिहास भएको भन्दै यसले सिंगो देश र दुनियाँलाई पनि शान्ति र अहिंसाको सन्देश दिएको प्रधानमन्त्री दाहालले बताए । ‘शान्ति र अहिंसाको लागि तपाईंहरुले गर्नुभएको मेहनत र तपस्यालाई सरकारको तर्फबाट उच्च सम्मान गर्न चाहन्छु,’ उनले भने ।

सरकार चुमनुव्री क्षेत्रको विकासप्रति संवेदनशील रहेको पनि दाहालले बताए । ‘मानिस धेरै र थोरैको कुरा होइन, भौगोलिक विकटताका कारण तपाईंहरुले जुन दुःख कष्टको समाना गर्नुभएको छ यस क्षेत्रको विकास निर्माण र आर्थिक क्रियाकलाप अघि बढाउन सरकार प्रतिवद्ध छ,’ उनले भने । सिदिवास–लोक्पा–छेकम्पार सडक निर्माणको योजना अघि बढाउन नीति तथा कार्यक्रममा समेट्ने पनि दाहालले आश्वासन दिए । मनास्लु क्षेत्रमा हेलिकप्टर उडान सहज बनाउने तथा मनास्लु क्षेत्रको पर्यटन पूर्वाधार निर्माण गरिने पनि प्रधानमन्त्री दाहालले बताए ।

अहिंसा क्षेत्र घोषणा भएको एक सय वर्ष पुगेको अवसरमा महोत्सवको आयोजना गरिएको हो । चुम उपत्यकालाई १९७७ सालको बुद्धजयन्ती(साका दावा)को अवसरमा अहिंसा क्षेत्र घोषणा गरिएको थियो ।

प्रकाशित : वैशाख ६, २०८० १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?