महाकाली नदी उत्खननमा ९ जनाविरुद्ध ५ करोड भ्रष्टाचारको मुद्दा

भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीको उत्खनन सम्बन्धी ठेक्कामा ५ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

महाकाली नदी उत्खननमा ९ जनाविरुद्ध ५ करोड भ्रष्टाचारको मुद्दा

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित लेखा अधिकृत, इन्जिनियर र ठेकेदार विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट, लेखा अधिकृत गोविन्द राज उपाधयाय, इन्जियिनर हिमालयसिंह ऐर, अधिकृत सुवास अधिकारी, नासु विष्णुदेव भट्ट र लेखापाल दिपेन्द्र चौधरी विरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खननका लागि भीमदत्त नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ को ठेक्कामा नगरपालिकालाई ५ करोड ४३ लाख हानी नोक्सानी भएको ठहर गरेको छ । उक्त ठेक्का भवानी कन्स्ट्रक्सनलाई परेको थियो । भवानी कन्स्ट्रक्सनलाई १ करोड ९५ लाख लाभ पुग्ने गरि नगरपालिकाको राजश्व चुहावट भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत भट्ट र लेखा अधिकृत गोविन्द राज उपाध्यायलाई सोही बाराबरको बिगो दाबी गरेको छ । यसैगरी भवानी कन्स्ट्रक्सनबाट बैंक जमानत नलिई सम्झौता गरेको भन्दै नगरपालिकालाई ३ कारोड ४७ लाख हानी नोक्सानी गरेको भन्दै सोही बराबरको विगो दाबी गरिएको छ ।

इन्जिनियर ऐर, अधिकृत अधिकारी, नासु भट्ट र लेखापाल चौधरीले १ करोड ९५ लाख बराबरको राजश्व चुहावट गरेको भन्दै सोही बराबरको विगो दाबी गरेको छ ।

यसैगरी भवानी कन्स्ट्रक्सनका सञ्चालक इश्वरी प्रसाद भट्ट, केशवराज भट्ट र प्रतिनिधि दिवाकर भट्टविरुद्ध समेत मुद्दा दर्ता भएको छ । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार सजाय र ५ कारेड ४३ लाख बराबरको विगो दाबी गरिएको छ । सञ्चालक इश्वरीको मृत्यु भइसकेकाले ५ करोड ४३ लाख विगो उनकी श्रीमति खगेश्वरी भट्टबाट असुल गर्न माग गरिएको छ ।

प्रकाशित : चैत्र २९, २०७९ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?