कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

भू-उपग्रहको प्रयोगशालामा विद्यार्थी

विज्ञानका विभिन्न विधामा रुचि भए पनि स्याटेलाइट निर्माण परियोजनामा सहभागी हुने अवसर भने ९ विद्यार्थीले परीक्षाको चरण पार गरेपछि मात्रै पाएका हुन् 
गोविन्द पोखरेल

काठमाडौँ — धुलिखेलको सञ्जीवनी मोडर्न सेकेन्डरी स्कुलमा १२ कक्षाकी छात्रा हुन्, श्रेया तामाङ । बायोलोजी विषय रोजेकी उनी १८ महिनादेखि धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय हाईस्कुल (केयूएचएस) धाइरहेकी छन् ।

भू-उपग्रहको प्रयोगशालामा विद्यार्थी

केयूएचएस परिसरमा रहेको स्पेस सिस्टम ल्याबोरेटरी (एसएसएल) मा उनका दिन बित्ने गरेको छ । एसएसएलमा उनीजस्तै १२ मा पढ्ने विभिन्न विद्यालयका ९ जना विद्यार्थीले स्याटेलाइट निर्माण गरिरहेका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट), केयूएचएस, अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा संयुक्त रूपमा ‘मुनाल’ नामक स्याटेलाइटको निर्माण भइरहेको छ । १यूको यो स्याटेलाइटले इन्जिनियरिङ मोडलको परीक्षण पूरा गरिसकेको छ । अगस्टसम्म फ्लाइट मोडल तयार गरेर दसैंअघिसम्म यो स्याटेलाइट अन्तरिक्षमा पुर्‍याउने योजना छ ।

एसएसएलमा रहेर तामाङले प्रिन्टेड सर्किट बोर्ड (पीसीबी) बनाउन सिकेकी छन् । सँगै स्याटेलाइटको क्यामेरा मिसन ह्यान्डल गर्दै छिन् । दुईवटा क्यामेरा जडित यो स्याटेलाइटले इन्फ्रारेड (आईआर) र अर्को आरजीबी इमेज लिएर वर्गीकरण गर्दै छ ।

केयूएचएस परिसरमा निर्माण गरिएको यो प्रयोगशाला एक किसिमको ‘मेकर्स स्पेस’ जस्तै छ । जहाँ नवप्रवर्तनसँग सम्बन्धित निर्माण कार्यहरू विद्यार्थीहरूले गर्न सक्छन् तर यहाँ स्याटेलाइट र यससँग सम्बन्धित काम मात्रै हुने गर्छ ।

१८ महिनाअघिबाट स्थापना गरिएको यो ल्याबमा यी ९ जना विद्यार्थीलाई इन्जिनियरहरू जनार्दन सिलवाल, सिरश सैंजू, अनुजा श्रेष्ठ, एलिजा सापकोटा, तृष्णा श्रेष्ठ र विकल्प ढुंगानाले सहजीकरण गरिरहेका छन् । उनीहरू यही प्रयोगशालामा खटिने गर्छन् । यी इन्जिनियरलाई अन्तरिक्ष प्रतिष्ठान नेपालले ‘डाँफे मिसन’ मा पनि संलग्न थिए ।

केयूएचएसका प्रिन्सिपल तेजेन्द्रप्रकाश राजभण्डारी ल्याबमा रातदिन खटिने टिम भएकाले स्याटेलाइट निर्माण समयमा नै सम्पन्न हुन सकेको बताए । ‘केयूएचएसका ६ र अन्य सामुदायिक विद्यालयका ३ जना गरेर ९ जना विद्यार्थीहरू अनवरत रूपमा खटिरहेका छन्,’ राजभण्डारीले भने, ‘केयूएचएसले नै उनीहरूलाई खानबस्न व्यवस्था गरिदिएको छ । सामान्य सामग्री र उपकरणहरू खरिद गर्नका लागि पनि सहजीकरण गरिदिएका छौं ।’ २०२१ को अक्टोबरमा निर्माण गरिएको यो ल्याबमा पहिलो पटक मिनी मुनाल स्याटेलाइट बनाइएको थियो । ‘सस्तो क्युबको मोडलमा आधार भएर मिनी मुनाल यो ल्याबमा बनाइएको थियो,’ अन्तरिक्ष प्रतिष्ठानका निर्देशक एवं नेपाली स्याट–१ का निर्माणकर्ता डा. आभास मास्केले भने, ‘०.५ यूको स्याटेलाइट बनाएपछि हामीले एसएसएलमै मुनाल तयार गर्‍यौं ।’ यही ल्याबमा विद्यार्थीहरूले विज्ञान प्रदर्शनीका लागि भनेर रोबोट निर्माण गरेको उनले सुनाए ।

स्याटेलाइट बनाउने ल्याब भनिए पनि यसमा त्यति धेरै उपकरणहरू पनि छैनन् । ‘मेकर्स स्पेसमा हुने अन्य टुल्सहरू नै छन् । स्याटेलाइट परियोजनाकै लागि भनेर नेपालमा अन्य ल्याब यसरी स्थापना गरिएको छैन,’ मास्केले भने । सुरुमा ६ लाख रुपैयाँ केही उपकरण र इलेक्ट्रोनिक्स सामानहरू खरिद गर्न खर्च भएको थियो । अन्य सामग्रीहरू केयूएचएसले नै गरिदिएको उनले जानकारी दिए । विद्यार्थीहरू दिउँसो २ देखि ५ बजेसम्म नियमित रूपमा यही ल्याबमा भेटिन्छन् । कोही कम्प्युटर हेरिरहेका, कोही सर्किट बोर्डमा काम गरिरहेको अवस्थामा भेटिन्छन् । बिहान ७ देखि २ बजेसम्म कक्षा लिएर उनीहरूले यो १८ महिनामा स्याटेलाइट निर्माणको काम पूरा गरेका हुन् ।

बनेपास्थित आजाद सेकेन्डरी स्कुलमा कक्षा १२ मा पढ्ने कान्छाराम स्याङतान स्याटेलाइटमा जडित बोर्डहरूबीच समन्वय हुने प्रणालीको काम गरिरहेका छन् । यसमा जडित ५ वटा बोर्डका एक अर्कालाई कनेक्ट गराउने जिम्मेवारी उनको छ । स्याटेलाइट बनाउँदा टेस्ट गर्दा भित्रको बोर्डलाई जोड्ने सिस्टम ईजीएसटी पनि उनले हेरिरहेका छन् । इन्टर सर्किट बोर्ड पनि उनी बनाउँछन् ।

मुनाल मिसनको मेकानिकल स्ट्रक्चर श्रिया प्रधान श्रेष्ठले हेर्दै छिन् । रकेट साइन्सअनुसार उनले यो स्याटेलाइटको बाहिरको बनावट र पीसीबी होल्ड गर्नेसम्बन्धी काम हेरिरहेकी छन् । सुशान्त ढकालले चाहिँ मेन कम्प्युटर सिस्टम हेरिरहेका छन् । उनी स्याटेलाइट निर्माण गर्न पाउँदा दंग छन् । भन्छन्, ‘यत्रो ठूलो मिसनमा म सहभागी छु भन्न पाउँदा छुट्टै अनुभव हुन्छ ।’

५ सय किलोमिटर माथि छाडिने यो स्याटेलाइटको ऊर्जा प्रणाली चाहिँ सुवेश गुरुङले हेरिरहेका छन् । स्याटेलाइटले कति घण्टासम्म निरन्तर रूपमा काम गर्न सक्छ भन्नेमा काम गरिरहेका छन् । हरेक ९० मिनेटमा उनले स्याटेलाइटको अवस्था अध्ययन गरिरहेका छन् । रजिन रञ्जितलाई सञ्चार प्रणालीको जिम्मेवारी छ । उनी स्याटेलाइटको ग्राउन्ड स्टेसनमा कसरी सञ्चार गर्ने भनेर काम गरिरहेका छन् । अर्का निर्माणकर्ता सिद्धार्थ कर्माचार्यले स्याटेलाइटको अन्तरिक्षमा हुँदा कसरी बसिरहेको छ भनेर हेर्ने काम गर्छन् ।

समृद्धि शर्माले एसपीडीएम प्रणाली हेर्दै छिन् । यो प्रणालीअन्तर्गत जमिनमा रहेको ग्राउन्ड सेन्सरले स्याटेलाइटलाई सन्देश पठाउने र उक्त तथ्यांक नास्टको ग्राउन्ड स्टेसनलाई पठाउने काम गर्छ । विशेष गरी यो पूर्वसूचना प्रणालीसँग सम्बन्धित विषय छ । स्याटेलाइटको एन्टिना सिस्टम प्रणाली संगीता मैनालीले हेर्दै छिन् । यो वायरलेस कम्युनिकेसन प्रणालीले ग्राउन्ड स्टेसनले पठाएको तथ्यांक लिने र दिने काम गर्छ । यो एन्टेना स्याटेलाइटको बाहिरी भागमा राखिएको छ ।

यी विद्यार्थीहरू ल्याबमा आफ्नो रहरले सजिलै आएका होइनन् । उनीहरूको शैक्षिक गुणस्तर, कामप्रतिको लगाब र त्यससम्बन्धी परीक्षा लिएर छनोट गरिएको थियो । मुनाल स्याटेलाइट निर्माण कार्यमा संलग्न संस्था र विद्यार्थीहरूको लोगोसमेत अंकित हुनेछ । केयूएचएसका प्रिन्सिपल राजभण्डारी भन्छन्, ‘अन्तरिक्षमा हुने वस्तुमा हाम्रो विद्यालय र विद्यार्थीहरूको पनि नाम हुने भएपछि धेरै नै खुसी छु ।’

प्रकाशित : चैत्र २०, २०७९ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×