२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कारबाही फुकुवाको निर्णयमा गोविन्दराज जोशीको आपत्ति

काठमाडौँ — नेपाली कांग्रेसले कारबाही फुकुवाको निर्णय गरेपछि तनहुँका नेता गोविन्दराज जोशीले आफूलाई त्यो निर्णय मान्य नहुने बताएका छन् । उनले चुनावको मुखमा भ्रम छर्ने उद्देश्यले कारबाही फुकुवाको बाहना बनाइएको भन्दै आपत्ति जनाएका छन् ।

कारबाही फुकुवाको निर्णयमा गोविन्दराज जोशीको आपत्ति

नेता जोशीले यसपटक उपनिर्वाचनमा आफू उम्मेदवार नबन्ने, तर कांग्रेसलाई पनि नसघाउने घोषणा गरेका छन् ।

'वर्षौँदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेर पार्टीको लागि आफ्नो सम्पूर्ण जीवन अर्पण गरेको सजाय म र मेरो परिवारले वर्षौँदेखि भोग्दै आएको छ। १० औँ हजार कार्यकर्ताको मतलाई बेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारबाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरिएको छ, यो सरासर गलत छ, यसप्रति मेरो घोर आपत्ति छ,' जोशीले सामाजिक सन्जालमार्फत भनेका छन् ।

उनले विगतमा पटक-पटक वार्ता टोली नै बनाएर संवादको पहल गर्दा पनि कांग्रेस नेतृत्वले बेवास्ता गरेको भन्दै अहिले आफूसँग कुनै सरसल्लाह नगरी केन्द्रबाट गरिएको निर्णय आफूलाई स्वीकार्य नहुने बताएका छन् ।

'नेपाली कांग्रेसले म र मसँग सम्बन्धित मान्छेसँग कुनै किसिमको सल्लाह नगरी एकलौटी रुपमा गरेको यस निर्णयलाई म हरहालतमा मान्न तयार छैन। चुनावको मुखमा मञ्चन गरिएको चुनावी रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाहबाट बिचलित नहुन म मेरा सम्पूर्ण जनतालाई आग्रह गर्दछु,' उनले लेखेका छन्, 'म र नेपाली कांग्रेस पार्टीलाई नै सक्काउने उद्देश्यले गरिएको निर्णयको खण्डन गर्दै सोकाप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।'

उनले पार्टीमा आफूहरुले लामो समयदेखि आन्दोलन गरिरहेको दाबी गरे । 'हामीले पदका लागि मात्रै दाबी गरेको होइन, नेपाली कांग्रेस सही बाटोमा आउनुपर्‍यो भन्ने हाम्रो आन्दोलन हो । त्यो कुरा अहिले देखिएको छैन । भोलि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ, आजसम्म मसँग कुनै कुराकानी भएको छैन,' उनले भनेका छन्, 'अहिले एक्कासी कारबाही फुकुवा भएको भनेर प्रचार गरिएको छ । यस्तो कुरा हामीलाई स्वीकार छैन, हाम्रो सहमति छैन ।'

कांग्रेसबाट पटक-पटक सांसद र मन्त्री भइसकेका जोशी ०७४ सालको निर्वाचनमा तनहुँ-१ बाट बागी उम्मेदवारी दिएपछि कांग्रेसबाट कारबाहीमा परेका थिए । उनी त्यसयता कांग्रेसमा छैनन् । तर तनहुँमा भने उनको प्रभाव बलियो नै मानिन्छ । यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उनले ६ हजार ८८६ मत पाएका थिए ।

यहाँबाट चुनाव जितेका कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो । कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । तर अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेससँगको आबद्धता छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने घोषणा गरेपछि तनहुँ-१ मा उपनिर्वाचन तातेको छ । यहाँ एमालेले पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तोमा कांग्रेसले जित निकाल्न सकस हुनसक्ने अन्दाज लगाउँदै तनहुँमा ०७९ को निर्वाचनभन्दा अगाडि गरिएका सबै कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो । जोशीमाथिको कारबाही फुकुवा भएपछि उनको सहयोग पाए कांग्रेस उम्मेदवार भट्टराईलाई जित निकाल्न सहज हुने कांग्रेस नेताहरुको दाबी छ ।

कांग्रेसले जोशीसँगै चितवनका पूर्वसभापति विकास कोइरालामाथिको कारबाहीसमेत फुकुवा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : चैत्र १९, २०७९ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x