दलितले छोएको भन्दै भतेर घोप्ट्याउने जनप्रतिनिधि पक्राउ

दीपक परियार

पोखरा — व्रतबन्धको भोजमा दलितले भान्सा छोएको भन्दै भतेर घोप्ट्याउने कास्कीका जनप्रतिनिधि आइतबार पक्राउ परेका छन् । माछापुच्छ्रे गाउँपालिका–५ रिभानका वडा सदस्य रामजी लामिछाने आइतबार पक्राउ परेका हुन् ।

रिभानका चार जनाविरुद्ध पोखराका नारायण परियारले जातीय विभेदको आरोपमा जाहेरी दर्ता गराएपछि लामिछाने फरार थिए ।

व्रतबन्धमा दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्साको व्यवस्था गरेर जातीय विभेद गरेको आरोपमा स्थानीय सन्तोष परियार र सुजन लामिछाने चैत १२ मा पक्राउ परेका थिए । फरार रहेका जनप्रतिनिधि रामजी लामिछाने र स्थानीय सरिता लामिछाने आइतबार प्रहरीको सम्पर्कमा आएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए । उनीहरुलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ ।

जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत कारवाही गरी क्षतिपूर्ति समेत भराउन नारायणले माग गरेका छन् । आफन्तको ब्रतबन्धमा भाग लिन पोखरा–२९ भण्डारढिकका उनी फागुन २५ मा पुर्ख्यौली गाउँ रिभान पुगेका थिए ।

सन्तोष परियारका दुई छोरा साहिल र समीरलाई दानदक्षिणा गरेर उनी भतेरतिर लम्किए । भान्सामा खटिएकी स्थानीय सरिता लामिछानेले थर सोधेपछि उनले आफू परियार भएको बताए । ‘दमाई’हरुका लागि छुट्टै भान्सा भएको भन्दै लामिछानेले उनलाई २० मिटर परै रोकिन् ।

नारायणले छुट्टाछुट्टै भान्सा हुनु गलत रहेको बताएर भतेरतिर अघि बढे । त्यतिबेलै वडासदस्य रामजी लामिछानेले दलितले छुँदा भान्सा जुठो भएको भन्दै दाल, भात, तरकारी भुइँमा घोप्टाइदिए । स्थानीय २७ वर्षीय सुजन लामिछाने ‘दमाईहरु बाहुनको भान्सामा आउने’ भन्दै बम्किएका थिए ।

प्रकाशित : चैत्र १९, २०७९ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?