डा. रुइतको टोलीले अफ्रिकी मुलुक घानामा गर्यो ५ सय ८० दृष्टिविहीनको सर्जरी

काठमाडौँ — तिलगंगा आँखा अस्पतालको टोलीले अफ्रिकी मुलुक घानाको कोफोरिडुवास्थित पूर्वी क्षेत्रीय अस्पतालमा आँखा शिविर सञ्चालन गरेर ५ सय ८० जना स्थानीय सर्वसाधारणको आँखाको मोतीविन्दु शल्यक्रिया गरेको छ ।

नेत्र चिकित्सक डा.सन्दुक रुइतको नेतृत्वमा अफ्रिका पुगेको टोलीमा विगत वर्षहरूमा घानाबाट तिलगंगामा आँखा उपचारको तालिम लिन आएका स्थानीय डाक्टरसमेतको सहभागिता थियो । अन्तर्राष्ट्रिय तहमा आँखा उपचारको अभियान चलाउन दुई वर्षअघि स्थापित 'तेज कोहली एन्ड रुइत फाउन्डेसन' र एचसीपी क्युवर ब्लाइन्डनेसको तर्फबाट नि:शुल्क रुपमा शिविर सञ्चालन गरिएको ,फाउन्डेसनका समन्वयकर्ता पंकज थापाले कान्तिपुरलाई बताए ।
घानापछि डा. रुइतको टोली अर्को पूर्वी अफ्रिकी मुलुक इथियोपियामा आँखा शिविर सञ्चालन गर्न शनिबार राजधानी आडिस अबाबामा पुगेको छ ।
(तस्बिर सौजन्य : माइकल एमेन्डोलिया र पंकज थापा/घाना )
प्रकाशित : चैत्र १९, २०७९ १५:०८