व्यवस्था कमजोर पार्ने गतिविधि हुन नदिन सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले अहिलेको व्यवस्था कमजोर पार्ने गरी कुनै पनि गतिविधि हुन नदिने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकार अहिलेको व्यवस्थाको रक्षा गर्दै शान्ति, समृद्धि र विकासको मार्गमा लम्किरहेको दाबी गरे ।

‘यो लोकतन्त्र नयाँ प्रकारको लोकतन्त्र हो । यो मौलिक बाटोबाट हामीले हासिल गरेका हौं । यसलाई हरहालतमा रक्षा गर्नु, यसलाई अझै सुदृढ गर्नु, यसको कार्यान्वयनको वातावरण बनाउनु हाम्रो लक्ष्य र कार्यभार हो,’ उनले भने, ‘यो उपलब्धि र राजनीतिक कार्यभारलाई कमजोर पार्ने गरी हुने कुनै पनि गतिविधिलाई रोक्न, यो व्यवस्थालाई कमजोर पार्ने कुनै पनि काम हुन नदिन सरकार दृढ र प्रतिबद्ध छ ।’

उनले सरकारले अब सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने कुरामा केन्द्रित भएर काम गर्ने बताए ।

प्रकाशित : चैत्र १९, २०७९ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य 

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि घटेर आएको छ । नेपाल आयल निगमका अनुसार यसअघिको तुलनामा पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा तथा डिजेल ६ रुपैयाँ ८२ पैसा घटेर आएको छ । यसअघि पनि पेट्रोल प्रतिलिटर ८६ पैसा र डिजेल प्रतिलिटर १ रुपैयाँ ५० पैसा घटेर आएको थियो ।

दुई पटकसम्म पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि नेपाल आयल निगमले भने उपभोक्तालाई पुरानै मूल्य कायम राखेको छ । भारतीय आयल कर्पोरेसनलाई बुझाउनुपर्ने पुरानो बक्यौतालाई देखाउँदै निगमले मूल्य घटेर आउँदा पनि पटक पटक समायोजनमा बेवास्ता गर्ने गरेको छ । हरेक १५–१५ दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउँछ । सो अनुरुप शनिबार पठाएको मूल्य घटेर आएको हो । आयल निगमले हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७८ तथा डिजेल १७५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।


प्रकाशित : चैत्र १९, २०७९ १३:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×