राहदानी मुद्दामा सौदाबाजी गरेको छैन : लामिछाने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो राहदानीको मुद्दामा आफूले सरकारी निकायसँग सौदाबाजी नगरेको बताएका छन् । पार्टीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा उनले पासपोर्ट मुद्दा मिलाउन सरकारसँग सौदाबाजी नगरेको दाबी गरेका हुन् ।

महान्यायाधिवक्ता दीनमणि पोखरेलले रास्वपा सभापति लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय चैत ६ गते गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र उच्च सरकारी वकिल कार्यालयको निर्णयमा टेक्दै अमेरिकी पासपोर्ट र नागरिकता बोकेर नेपाल आएको विषयलाई कसुर मान्न नमिल्ने भन्दै महान्यायाधीवक्ता पोखरेलले मुद्दा नचल्ने निर्णय गरेका थिए । उक्त निर्णय प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन गरिएको थियो । निर्णय गर्नुपहिला रास्वपाका संसदीय दलका नेता डीपी अर्यालले महान्यायाधीवक्ता कार्यालयमा गएर भेट गरेका थिए । दाहाललाई रास्वपाले विश्वासको मत दिएको थियो ।

सभापति लामिछानेले भने उक्त मुद्दामा सौदाबाजी नगरेको बताएका हुन् । 'कुनै पनि भिक्टिम नभएको केसमा प्रहरीले पुरै अनुसन्धान गरेको छ । सरकारी वकिलका जिल्ला, उच्च हुँदै महान्यायाधीवक्तासम्म गएको छ । मैले आफ्नो बयान दिएको छु । सबै प्रक्रिया पूरा गर्दा मान्छेले मुद्दा जित्छ या हार्छ भने स्वीकार गर्नु नै त हो,' उनले भने, 'सबै प्रक्रिया पूरा गर्दा मान्छेले मुद्दा जित्छ वा हार्छ भने त्यसलाई स्वीकार गर्नु नै त हो नि अरु के हुन्छ । मैले कुनै प्रक्रियामा बाधा अड्चन हालेको छैन । प्रक्रिया पूरा भएको छ । त्यसमा आएको फैसला मान्नुबाहेक मसँग अर्को उपाय छैन । त्यसमा मैले सौदाबाजी गरेको छैन र गर्नु पनि पर्दैन ।'

लामिछानेले अब 'मुद्दा बल्झिन नदिने' बताएका छन् । उनले पासपोर्ट मुद्दामा अधिकारप्राप्त निकायहरूले निर्णय गरेको बताए । अरु दलका नेताहरू विभिन्न मुद्दामा जेल परेर न्यायिक प्रक्रिया पूरा नभई निस्किने गरेको तर आफूले भने सबै न्यायिक प्रक्रिया पूरा गरेको बताए । 'म कैयौं दलका साथीहरू विभिन्न मुद्दामा परेको देख्छु । उहाँहरू त्यत्तिकै निस्किनुहुन्छ । म त न्यायिक प्रक्रियामा सहभागी हुने मान्छे हुँ,' उनले भने ।

प्रकाशित : चैत्र १८, २०७९ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्

महराको दाबी- 'प्रचण्ड, देउवा र ओली त पात्र हुन्, सत्ता अरुले नै चलाउँछ'

'हुन त हाम्रै अध्यक्षको नेतृत्वमा सरकार छ, तर पनि हाम्रो बिडम्वना, जो प्रधानमन्त्री भए पनि हुने यही हो'
नारायण शर्मा

पूर्वी नवलपरासी — सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्ण बहादुर महराले नेपालको सत्ता नेपालीले नभएर 'अरु कसैले' संचालन गरिरहेको दाबी गरेका छन् ।

सभामुख र गृहमन्त्रीसमेत भइसकेका महराले शनिबार प्रेस सेन्टर पूर्वी नवलपरासीको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । नेता महराले भनेका छन्, 'देश अरु कसैले चलाइरहेको छ । प्रचण्ड, ओली र देउवा त पात्र हुन् ।'

तर महराले सत्ता चलाउने त्यो अदृश्य शक्तिबारे खुलेर चर्चा गरेका थिएनन् । 'हुन त हाम्रै अध्यक्षको नेतृत्वमा सरकार छ, तर पनि हाम्रो बिडम्वना यही हो, जो प्रधानमन्त्री भए पनि हुने यही हो,' महराले भने ।

यस क्रममा महराले वर्तमान सरकारले शान्ति प्रक्रियाका महत्त्वपूर्ण मुद्दा टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए । उनले लोकतन्त्र र संविधानमाथि अझै खतरा कायम रहेकाले यसको संरक्षणमा लाग्नुपर्ने बताए । 'अझै पनि प्रतिगामीहरु टाउको उठाउन खोज्दैछन्, यसलाई निस्तेज गर्नुपर्छ,' महराले भने ।

प्रकाशित : चैत्र १८, २०७९ १७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×