रास्वपाबाट लामिछाने, वाग्ले र खरेल उपनिर्वाचन लड्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन लड्ने उम्मेदवारहरू सार्वजनिक गरेको छ । रास्वपाले शनिबार पार्टी कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्दै पार्टी सभापति रवि लामिछाने, अर्थशास्त्री स्वर्णिम वाग्ले र पूर्वडीआईजी रमेश खरेल २०८० वैशाख १० मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेको हो ।

रास्वपाका सभापति लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २, वाग्ले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र खरेल बारा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने भएका छन् । शनिबार पत्रकार सम्मेलनमा नै उम्मेदवारहरूलाई टिकट वितरण गरिएको थियो ।

२०७९ मंसिर ४ को निर्वाचनमा चितवन २ बाट निर्वाचित लामिछाने सर्वोच्च अदालतले नागरिकता खारेज गरिदिएपछि पद खारेज भएको थियो । कांग्रेसमा सक्रिय रहेका वाग्ले चैत १६ गते रास्वपामा जाने निर्णयमा पुगेका थिए । उनले कांग्रेस नेतृत्वलाई विभिन्न आरोप लगाउँदै पार्टी परित्याग गरेका थिए ।

खरेल भने गत मंसिरको चुनावमा आफ्नै नेतृत्वमा नेपाल सुशासन पार्टी गठन गरेर काठमाडौं १ मा उम्मेदवार बनेका थिए । काठमाडौं १ मा उनी पाँचौं भएका थिए ।

प्रकाशित : चैत्र १८, २०७९ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्

दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

कान्तिपुर संवाददाता

काठमाडौँ — तनहुँमा ट्र्याक्टर दुर्घटनामा परी बुबाको मृत्यु भएको छ । दुर्घटनामा अधिकारीका छोरासहित दुईजना घाइते भएका छन् । 

भानु नगरपालिका–२ भकुन्थोकस्थित डुम्रे बेंसीसहर सडकखण्ड जोड्ने भित्री सडकमा बा ०३–००१ त २२६ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४० वर्षीय ईश्वर अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । दुर्घटनामा मृतक अधिकारीका छोरा १७ वर्षीय समिर तथा ३९ वर्षीय दीपक नेपाली घाइते भएका छन् । दुवैको उपचार भइरहेको छ ।

प्रकाशित : चैत्र १८, २०७९ १६:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×