कोशी, वाग्मती र गण्डकी प्रदेशमा वर्षा

कान्तिपुर संवाददाता

काठमाडौँ — पश्चिमी र स्थानीय वायु सक्रिय हुँदा हाल देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले स्थानीय र पश्चिमी वायुको प्रभाव कोसी, वाग्मती र गण्डकी प्रदेशमा बढी छ ।

देशैभर यो प्रणाली सक्रिय रहेको उनले जानकारी दिइन् । साथै शनिबार रातिसम्म सक्रिय हुने र आइतबारदेखि विस्तारै हट्ने उनले जानकारी दिइन् ।

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने प्रक्षेपण गरिएको छ ।

महाशाखाका अनुसार आइतबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : चैत्र १८, २०७९ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्

एमालेद्वारा रावलसँग वार्ता गर्न उपाध्यक्ष पौडेलको नेतृत्वमा टोली गठन

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेले पूर्वउपाध्यक्ष तथा गत महाधिवेशनमा अध्यक्षका उम्मेदवार रहेका नेता भीम रावलसँग छलफल गर्नका लागि उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । 

पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार सचिवालयको शनिबार बसेको बैठकले रावलसँग छलफल गरेर आवश्यक टुंगोमा पुग्नका लागि वार्ता टोली गठन गरिएको हो । 'पूर्वउपाध्यक्ष, दसौं राष्ट्रिय महाधिवेशनपछि पार्टीमै रहनुभएको तर पार्टीको विधि, विधानअनुसार नचलिकन बसिरहनुभएको भीम रावलसँग कुरा गर्न र टुंगोमा पुग्नका लागि ग्रास रुट अभियानको सुदूरपश्चिम अनुगमन गर्ने उपाध्यक्ष विष्णु पौडेल, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा नेतृत्वको समिति गठन भएको छ,' उनले भने ।

रावल पछिल्लो समय एमालेसँग असन्तुष्ट छन् । पार्टीले जिम्मेवारी नदिएको भन्दै उनी असन्तुष्ट रहेका हुन् । २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उनलाई टिकट दिइएको थिएन भने पार्टीमा कुनै जिम्मेवारी पनि दिइएको थिएन ।

चितवनको सौराहामा भएको एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध रावलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

प्रकाशित : चैत्र १८, २०७९ १५:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×