मन्त्री छान्न नसकेका देउवाले बोलाए पार्टीको बैठक

काठमाडौँ — मन्त्रीका आकांक्षी धेरै भएपछि व्यवस्थापन गर्न नसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । कांग्रेससहितको गठबन्धन सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरे । तर कांग्रेसले मन्त्रीको नाम दिन नसकेका कारण अझै पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।

गठबन्धनमा कांग्रेसका भागमा ८ मन्त्रालय परेपनि शुक्रबार चार जनाले मात्रै जिम्मेवारी सम्हालेका छन् । कांग्रेसका भागमा परेका अन्य मन्त्रालय अझै पनि खाली छन् ।
पार्टीभित्र मन्त्रीका आकांक्षीको व्यवस्थापन गर्न नसक्दा र गुटगत रूपमा नेता शेखर कोइराला पक्षले सम्मानजनक ठाउँ नदिएको भन्दै नाम नदिएपछि सभापति देउवाले आफूनिकट चार नेतालाई मात्रै मन्त्री बनाएका हुन् ।
आइतबार बिहान १० बजेका लागि बोलाइएको बैठकमा मन्त्रिपरिषद् विस्तार, वैशाख १० मा हुने उपनिर्वाचन र सरकार सञ्चालनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार बिहान १० बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको जानकारी दिए । 'समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भनिएको छ । त्यसैका लागि बैठक बोलाइएको हो,' उनले भने । यसअघि गत बिहीबारमात्रै पनि कार्यसम्पादन समितिको बैठक बसेको थियो ।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु रमेश रिजाल र सीता गुरुङ मन्त्री बनेका छन् । खड्का रक्षासहित उपप्रधानमन्त्री बनेका छन् भने महत अर्थ, रिजाल उद्योग र गुरुङले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
देउवाले कांग्रेसले पाएका ८ मध्ये ६ मन्त्रालयमा आफूनिकटलाई पठाउने र २ वटा मन्त्रालयमात्रै कोइराला समूहलाई दिने तयारी गरेका थिए । तर कोइराला समूहले ३ मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नदिने भनेपछि मन्त्रिपरिषद् विस्तार प्रभावित भएको थियो ।
प्रकाशित : चैत्र १८, २०७९ १२:४०