१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मैले उपप्रधानमन्त्री बन्दिनँ भनेर कहिल्यै भनेको थिइनँ : खड्का

काठमाडौँ — कांग्रेसबाट नेतृत्व गर्दै सरकारमा गएका उपसभापति पूर्णबहादुर खड्काले आफूले कहिल्यै पनि 'उपप्रधान वा प्रधानमन्त्री बन्दिनँ' नभनेको बताएका छन् । शुक्रबार उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका खड्काले शनिबार बिहान बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रम पुगी सञ्चारकर्मीसँगको कुराकानीमा 'मन्त्री मात्र बन्दिनँ' भनेको स्पष्ट पारेका हुन् ।

मैले उपप्रधानमन्त्री बन्दिनँ भनेर कहिल्यै भनेको थिइनँ : खड्का

२०७२ सालमा अर्घाखाँचीको एउटा कार्यक्रममा खड्काले अब मन्त्री नबन्ने बताएका थिए । त्यसपछि पनि हालै सरकार गठनका क्रममा कांग्रेसभित्रबाट उनको नाम चर्चामा रहँदा उनले पुरानै कुरा दोहोर्‍याएका थिए ।

शनिबार त्यसैलाई स्पष्ट पार्दै खड्काले धेरै पटक मन्त्री भइसकेकाले त्यसभन्दा माथिल्लो जिम्मेवारी पाए मात्र लिने भनेर भनेको बताएका हुन् । उनले आफ्ना पुराना कुरा स्पष्ट पार्दै भने, 'विभिन्न कार्यक्रमहरूमा सहभागी हुने क्रममा मलाई मेरो चेतनाले मेरो दिलले निष्कर्षमा के पुर्‍यायो भने । म धेरैचोटि मुलुकको मन्त्री भइसकेँ । ०५५ सालदेखि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, युवा तथा खेलकुद मन्त्री, जनसंख्या तथा वातावरणमन्त्री, सञ्चारमन्त्री २-२ चोटि गृहमन्त्री । यत्रो धेरै मन्त्रालयको मन्त्री भइसकेँ । अब फेरि मैले मन्त्रीका रूपमा फर्कने, फेरि त्यसमा लालच देखाउनु उपयुक्त हुँदैन भन्ने लाग्यो । त्यसैले मैले घोषणा गरेँ - आजदेखि मेरो मन्त्री बन्ने अभियान बन्द भयो । आजदेखि मन्त्री बनाउने अभियानमा लाग्छु भनेर घोषणा गरेँ ।'

अहिले सामाजिक सञ्जालमा मन्त्री बन्दिनँ भनेर पनि बनेको भन्दै टीकाटिप्पणीबारे आफू जानकार रहेको उल्लेख गर्दै उनले भने, ' त्यसपछिको ७ वर्षको अन्तरालमा जुन अहिलेको घटनाक्रम आयो, त्यसपछि फेरि मलाई त्यही कुरा सोधियो, मैले त्यही भनेँ । अहिले सामाजिक सञ्जालमा आइरहेको छ -मन्त्री खान्नँ भन्नुहुन्थ्यो मन्त्री बन्दिनँ भन्नुभयो फेरि मन्त्री बन्नुभयो । मैले उपप्रधानमन्त्री बन्दिनँ कहिले भनेको थिएँ ? मैले मन्त्री बन्दिनँ भन्या हो । अहिले पनि उपप्रधानबिनाको प्लेन मन्त्री भएको भए म हुन्थिनँ । यो बीचमा मलाई पार्टीका नेताहरूले मन्त्री बन्न आग्रह गर्दा मैले त्यही कुरा भनेको थिएँ । अहिले म मन्त्री मात्र बनिरहेको छैन अहिले म मुलुकको उपप्रधानमन्त्री पनि छु भन्ने कुरा मेरा शुभचिन्तकहरू, सामाजिक सञ्जालमा मेराबारेमा टिप्पणी गर्नेहरू सबै मित्रहरूलाई प्रस्ट पार्न चाहन्छु; म मन्त्री मात्रै बन्थिनँ, नबनेको हुँ । तर अहिले उपप्रधान र रक्षामन्त्रीको जिम्मेवारी पार्टीको सभापतिले विश्वास गरेर दिनुभयो । त्यसैले मेरो वचनबाट म कहीँ दायाँबायाँ गर्‍या छैन ।'

खड्काले विगतमा गृह, सूचना तथा सञ्चार, युवा, खेलकुद तथा संस्कृति, वातावरण र उद्योग वाणिज्यमन्त्री भएर काम गरेका थिए । यसपटक रक्षा मन्त्रालयको जिम्मेवारी लिएर छैटौं पटक मन्त्री बनेका हुन् ।

कांग्रेसको तत्कालीन नेता खुमबहादुर खड्काको समूहबाट कांग्रेसको केन्द्रीय राजनीतिमा उदाएका उनी सहमहामन्त्री, महामन्त्री अहिले उपसभापति छन् । ०७४ मा खुमबहादुरको निधनपछि देउवाले उनलाई २१ वैशाख, ०७५ मा महामन्त्री मनोनीत गरेका थिए । अब पार्टीको उपसभापतिमा निर्वाचित भएपछि खड्का कांग्रेसमा झन् शक्तिशाली बनेका छन् ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई आदर्श मान्ने उनी अहिले पनि घरिघरि ललितपुरको बाडेगाउँस्थित किसुनजीको कुटीमा पुगेर पूजाआजा गर्दै आएका छन् ।

राजनीतिक आन्दोलनकै क्रममा पटकपटक गरेर ५ महिना हिरासतमा परेका खड्का बहुदल स्थापनापछि तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईको नजिक भएर काम गरे ।भट्टराईकै स्नेहमा उनी ०४५ सालमा सुर्खेत सभापति भए । ०४८ को आमनिर्वाचनमा उनी सुर्खेत क्षेत्र नं. १ बाट निर्वाचित भए । ०५१ को मध्यावधि चुनाव जितेका उनी राज्य व्यवस्था समितिको सभापति बने । त्यही बेला उनले पार्टीमा थप पकड बढ्यो ।

प्रकाशित : चैत्र १८, २०७९ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?