भक्कानिए मिटरब्याजपीडित

फिल्डमै गएर कारबाही गर्ने उच्चस्तरीय आयोग बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

'तपाईंहरूको पूरै माग पूरा हुन्छ । यो कुनै जालझेलको कुरा होइन, समस्या समाधान गर्ने कुरा सामन्तवादको अवशेषबाट नेपाललाई मुक्त गर्ने कुरा हो भन्ने बुझेको छु मैले । यो ठूलो मुद्दा हो । यो ब्याटल जित्नुपर्छ, तपाईंहरूले जित्न पर्छ, हामी सबैले जित्नुपर्छ ।' -प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजपीडितहरूको समस्या समाधानका लागि न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन गर्ने प्रतिबद्धता जनाएका छन् ।

फिल्डमै गएर कारबाही गर्ने उच्चस्तरीय आयोग बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मिटरब्याजपीडितहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री दाहालले मिटरब्याजपीडितहरूका समस्या दीर्घकालीन समाधानका लागि सरकारले ऐन निर्माणको काम थालिसकेको बताएका हुन् ।

मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न र उनीहरूमाथि मुद्दा चलाउन सक्नेगरी ऐन तयारीको अन्तिम चरणमा रहेको दाहालले बताए । ‘यसमा दीर्घकालीन समाधान गर्ने भनेको ऐनको नै व्यवस्था छैन । मिटरब्याज पीडितहरुलाई न्याय दिने र मिटरब्याजीहरुलाई कारबाही गर्ने ऐनको नै अभाव छ । मैले यसपटक आउने बित्तिकै ऐन ड्राफ्ट गर्न लगाएँ र अहिले त्यो ऐन अन्तिम चरणमा छ । मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न सकियोस्, उनीहरुमाथि मुद्दा चलाउन सकियोस् भनेर ऐन बनाउने प्रक्रिया अघि बढाइएको छ । मिटरब्याजीको समस्या अहिले समाधान भएन भने कहिल्यै पनि हुँदैन ,’ दाहालले भने ।

बालुवाटार पुगेका पीडितहरू आफ्ना दु:ख सुनाउँदा भक्कानिएका थिए । १० लाख ऋणको २७ लाख तिर्दा पनि साहुले शारीरिक यातनासहितका कष्ट दिएको सुनाउँदै गर्दा एक महिला भक्कानिएकी थिइन् ।

प्रधानमन्त्री दाहालले सुरुदेखि नै आफूले गृह मन्त्रालयलाई यो मुद्दालाई सम्बोधन गर्न निर्देशन दिएको बताए । उनले भने, 'मैले लगातार गृह मन्त्रालयलाई तपाईंहरूको माग गम्भीरताका साथ सुन्न निर्देशन दिँदै वार्ताका लागि पठाएको हुँ ।' त्यस्तै शुक्रबार मात्र गृहमन्त्रीको जिम्मेवारी सम्हालेका नारायणकाजी श्रेष्ठ पनि समस्या समाधानका लागि गम्भीर रहेको उनले सुनाए । 'गृहमन्त्रालय पनि हाम्रै साथीलाई दिइएको छ । उहाँले पनि मिटरब्याजी पीडितको समस्या समाधान गर्ने एजेन्डा पहिलो बनाउँछु भनेर बोलिसक्नु भएको छ । तपाईंहरूको समस्या समाधानका लागि सरकार गम्भीर छ,' प्रधानमन्त्री दाहालले भने ।

साहुकारहरूको विभिन्न सरकारी तह र राजनीतिक तहमा पनि साँठगाँठ भएकोमा आफू जानकार रहेको उल्लेख गर्दै उनले फिल्डमै गएर कारबाही गर्न सक्ने आयोग बनाइने बताए । 'साहुकारहरूको राज्यका विभिन्न निकायमा रहेका केही व्यक्तिसँग साँठगाँठ रहेकाले आफ्नाो पावर प्रयोग गरेर अत्याचार गरिरहेका छन् । तत्काल फिल्डमा गएर उच्चस्तरीय आयोग बनाएर कारबाही गर्न सक्ने आयोग बनाइन्छ । त्यसलाई र्‍यापिड एक्सन फोर्सजस्तो आयोग बनाइन्छ । त्यसले सिधै मान्छेलाई बोलाउने र पुर्जी काटेर कारबाही गर्ने काम हुन्छ । खालि फिल्डमा गएर रिपोर्ट बनाउने बुझाउने मात्र काममा हुनुहुँदैन,' उनले भने ।

मिटरब्याज समस्या सामन्तवादकै अवशेषका रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो ठूलो मुद्दा र लडाइँसमेत भएको बताए । उनले भने, 'तपाईंहरूको पूरै माग पूरा हुन्छ । यो कुनै जालझेलको कुरा होइन, समस्या समाधान गर्ने कुरा सामन्तवादको अवशेषबाट नेपाललाई मुक्त गर्ने कुरा हो भन्ने बुझेको छु मैले । यो ठूलो मुद्दा हो । यो ब्याटल जित्नुपर्छ, तपाईंहरूले जित्न पर्छ, हामी सबैले जित्नुपर्छ ।'

प्रकाशित : चैत्र १८, २०७९ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?